काठमाडौं । भृकुटीमण्डपमा मंगलबारदेखि जारी नाडा अटो शो २०२५ मा बैंकहरूले सस्तो ब्याजदरमा गाडी किन्न कर्जा दिने गरी नयाँ योजना सार्वजनिक गरेका छन् ।

शोलाई लक्षित गरेर वाणिज्य बैंकहरूबीच अटो कर्जाको ब्याजदर सस्तो बनाउन प्रतिस्पर्धा चलेको छ । बैंकिङ प्रणालीमा अधिक तरलताको समस्या बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाले गाडी कर्जा (अटो लोन) को ब्याजदरमा समेत प्रतिस्पर्धा गर्न थालेका हुन् । राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थासँग ६ खर्ब ५० अर्बभन्दा बढी अधिक तरलता छ ।

यही अधिक तरलताको अवस्था हुँदा बैंकहरूले अटो कर्जा सस्तो बनाएका हुन् । सवारीसाधनको बिक्री बढेमा अटो क्षेत्रमा उल्लेख्य कर्जा प्रवाह हुन सक्ने यसले देखाएको छ । २० मध्ये ७ वाणिज्य बैंकले स्थिर र परिवर्तनीय दुवै ब्याजदरमा आकर्षक अफर सार्वजनिक गरेका छन् । अटो कर्जाको ब्याजदर न्यूनतम ६.२३ प्रतिशतदेखि अधिकतम ८.२५ प्रतिशतसम्म रहेको छ । शोमा करिब आधा दर्जन वाणिज्य बैंकहरूले स्टल नै लगाएर बसेका छन् ।

शोमा अटो कर्जामा सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकले दिएको छ । कृषि कर्जामा ब्याजदर नघटाएर अटो कर्जामा ब्याजदर घटाएको भन्दै ग्राहकले बैंकको आलोचनासमेत गरेका छन् । कृषि विकास बैंकले ६.२३ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने घोषणा गरेको छ । बैंकको आधारदर ५.८७ प्रतिशतमा ०.३६ प्रतिशत प्रिमियम थपेर यो ब्याजदर तय गरेको हो । कर्जाको ०.७५ प्रतिशत प्रोसेसिङ शुल्कमा ३३ प्रतिशत छुट दिइएको समेत बैंकले जनाएको छ ।

नबिल बैंकले ७ वर्षसम्मका लागि ६.७४ प्रतिशत ब्याजदरमा परिवर्तनीय अटो कर्जा दिने घोषणा गरेको छ । स्थिर ब्याजदर रोज्ने ग्राहकका लागि भने ८.२५ प्रतिशत ब्याजदर कायम गरिएको छ । यसमा स्थिर कर्जामा ०.२५ प्रतिशत र परिवर्तनीय कर्जामा ०.५० प्रतिशत सेवा शुल्क लाग्ने बैंकले जनाएको छ ।

लक्ष्मी सन्राइज बैंकले ७ वर्ष अवधिका लागि स्थिर ७.९९ प्रतिशत ब्याजदरमा अटो कर्जा उपलब्ध गराउने योजना ल्याएको छ । ग्लोबल आइएमई बैंकले अटो कर्जाका लागि दुईखाले ब्याजदर ल्याएको छ । बैंकका अनुसार अटो कर्जामा परिवर्तनीय प्रकृतिमा ६.९९ प्रतिशत ब्याजदर लागु हुनेछ भने ५ वर्ष अवधिको स्थिर कर्जामा ८.२५ प्रतिशत ब्याजदर तोकिएको छ ।

एनएमबि बैंकले नाडा अटो शो अवधिभर विद्युतीय गाडी खरिद गर्ने ग्राहकका लागि ७.१३ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने घोषणा गरेको छ । यसैगरी हिमालयन बैंकले ८ वर्ष अवधिका लागि ७.५७ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने घोषणा गरेको छ । बैंकले आधार दरमा ०.८७ प्रतिशत प्रिमियम तोकेर अटो कर्जा दिनेछ ।

यस्तै, सानिमा बैंकले ५ वर्ष अवधिको लागि ७.९९ प्रतिशत स्थिर ब्याजदरमा र ७ वर्ष अवधिको लागि ८.१५ प्रतिशत ब्याजदरमा अटो कर्जा दिनेछ । यसमा ०.५० प्रतिशत प्रोसेसिङ शुल्क लाग्ने बैंकले जनाएको छ ।

गभर्नर विश्व पौडेलले चालु आवको मौद्रिक नीतिमार्फत अटो कर्जामा केही लचकता अपनाएपछि बैंकहरूलाई पनि सस्तोमा ऋण उपलब्ध गराउन सहज भएको हो । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई सवारीसाधन खरिद गर्न कर्जा प्रवाह गर्दा सवारीसाधनको ऋण मूल्यको अनुपात अधिकतम ६० प्रतिशतसम्म मात्र कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।

यो व्यवस्था सबै प्रयोजनका विद्युतीय सवारीसाधन र निजी प्रयोजनका व्यक्तिगत अन्य सवारीसाधनमा समेत लागु हुने व्यवस्था गरेको छ । बैंकहरूले कर्जा सीमा सवारीसाधनको मूल्यको ६० प्रतिशत तोकिएको छ । यद्यपि, बैंकहरूले अटो शोमा ब्याजदर र सेवा शुल्क घटाएर ग्राहक आकर्षित गर्न खोजेका छन् । एकातिर अधिक तरलताको अवस्थाका कारण बैंकहरू ब्याजदर घटाएरै भए पनि ऋण लगानी गर्नुपर्ने दबाबमा छन् । सोही अवस्थामा अफरसहित आएपछि गाडी किन्न आकर्षण बढ्ने गाडी व्यवसायीहरूको विश्वास छ ।