
काठमाडौं । गायिका ‘झुमा लिम्बू एन्ड दि रैथाने व्यान्ड’ले असोज ३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जारी–२’को सहकार्यमा ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ आयोजना गर्ने भएको छ ।
भदौ २१ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबबाट कन्सर्ट सुरु हुनेछ । एलओडीमा ‘जारी–२’को टिमले च्याब्रुङ नाच समेत प्रस्तुत गर्नेछ ।
रैथाने घुमफिरमा झुमाले नेपालका विभिन्न १० सहरमा प्रस्तुति दिने छिन् । जसमा उनको व्यान्डको शोलो प्रस्तुति रहनेछ ।
यो सांगीतिक यात्रामार्फत सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्य लिइएको छ । विभिन्न सहर र गाउँमा पुगेर स्थानीय लोकसंगीत हाक्पारे पालाम, च्याब्रुङ, घाँटु, सोरठी, देउडा, मारुनीलगायत संगीत र नृत्यलाई केन्द्रमा राखेर सांगीतिक प्रस्तुति दिइने प्रेस नोटमा उल्लेख छ ।
लोकसंगीत मनोरञ्जनको माध्यम मात्र नभई नेपालको मौलिक सांस्कृतिक जीवनशैली, इतिहास र सामुदायिक एकताको प्रतिविम्ब भएको गायिका लिम्बूले बताइन् । “यो यात्राले संस्कृति र संगीतलाई नयाँ पुस्तामा पुर्याउने आशा लिएका छौँ । रैथाने घुमफिरले गाउँ र सहरको संगीत र संस्कृतिलाई जोड्न एउटा पुलको काम गर्नेछ,” उनले भनिन् ।
रैथाने घुमफिरलाई अर्को वर्ष विदेशमा समेत लैजाने योजना रहेको गायिका लिम्बूले बताइन् ।







Facebook Comments