काठमाडौँ । भारत सरकारले नेपालका दुई जलविद्युत् आयोजनाबाट उत्पादित थप ८० मेगावाट विद्युत् खरिदका निम्ति सहमति प्रदान गरेको छ । बिहीबार (भदौ ५) भारतले मेवाखोलाको ४८.५ र करुवासेती हाइड्रोपावरको ३१.०४ मेगावाट बिजुलीका निम्ति अनुमति प्रदान गरेको नेपाल विद्युत् प्राधिकरणले जानकारी गराएको छ ।

“वाइल्याटरल सम्झौताअन्तर्गत मध्यम अवधिका लागि प्राप्त अनुमति २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्मको लागि हो,” प्राधिकरणले भनेको छ । भारतले यसअघि नै एक हजार १०.९ मेगावाट विद्युत् खरिदका निम्ति सहमति प्रदान गरिसकेको छ । थपिएको ८० सहित भारतमा कुल बिजुली निर्यात क्षमता एक हजार ९०.९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ ।

नेपालले बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ । यी सबै गरेर कुल निर्यात स्वीकृत ११ सय ३०.९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ । गएको साउन २६ गते भारतले २०० मेगावाट बिजुलीका निम्ति अनुमति प्रदान गरेको थियो ।