काठमाण्डाैँ । वीरगन्जबाट लाखौँ रकमसहित दुई जना हुण्डी कारोबारी पक्राउ परेका छन् ।  

वीरगन्ज महानगरपालिका–२ घुसुकपुर ईदगाह चोकबाट १४ लाख १३ हजार पाँच सय श्रोत खुल्न नसकेको रकम सहित वीरगन्ज महानगर २ घुसुकपुरका ३९ वर्षीय संजय साह र बारा महागढीमाई नगरपालिका–४ बगडमपुरका ४१ वर्षीय शनि कुमार ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज बजार क्षेत्रमा लामो समयदेखि हुण्डी कारोबारको ठुलो सञ्जाल सक्रिय रहेको प्रहरीले सूचना पाएको थियो । बिहीबार विशेष सूचनाका आधारमा पर्सा प्रहरीले छुटै टोली परिचालन गरी बीरगंजको इदगाह चौकबाट दुईवटा मोटरसाइकल चेकजाँच गर्दा साहले चलाएको मोटरसाइकलबाट १० लाख र ठाकुरले चलाएको मोटरसाइकलबाट ४ लाख १३ हजार ५ सय श्रोत खुल्न नसकेको रकम बरामद गरी दुवै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्राले बताए ।

वीरगन्जमा हुण्डी कारोबारको सञ्जाल बढ्न थालेपछि त्यसको जालो भत्काउन पर्सा प्रहरीले अभियान नै  चलाएका छन् । गत महिना २८ लाख रुपैयाँ सहित तीन जना कारोबारीलाई पक्राउ गरेको थियो । प्रहरीले पर्सा पकाहामैनपुर्का अनिल कुमार बर्णवाल, वीरगन्ज आदर्शटोलका बिनित कुमार श्रीवास्तव र बारा परवानीपुरका दिपक कुमार सोनारलाई २८ लाख २८ हजार नगद सहित नियन्त्रणमा लिएका थियो ।

हुण्डी कारोबारमा पक्राउ परेका दुवै जना हुण्डी कारोबारी भएकोले प्रहरीले जिल्ला अदालत पर्सामा म्याद थप गरी आवश्यक अनुसन्धान अगाडी बढाइएको पर्सा प्रहरी प्रमुख एसपी मिश्रले बताए । यो दुवै घटनाले वीरगन्ज क्षेत्रमा हुण्डी कारोबारको सञ्जाल निकै सक्रिय रहेको देखिन्छ ।