काठमाडौं । ११० भन्दा धेरै देशसँग वैदेशिक व्यापार गरिरहँदा धेरैजसो मुलुकसँग नेपालले घाटा ब्यहोरेको छ।

भन्सार विभागकाअनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा छिमेकी मुलुक भारत, चीनसहित धेरै मुलुकसँग नेपालले नाफाको व्यापार गर्न सकेन्। ती मुलुकहरुसँग अबौँ व्यापार घाटा देखिएको छ।  

गत महिना साउनमा भारतसँग ८३ अर्ब ५३ करोड ९९ लाख बराबरको आयात र १९ अर्ब ४५ करोड २० लाख बराबरको निर्यात हुँदा मुलुकले ६४ अर्ब आठ करोड ७८ लाख घाटा ब्यहोरेको छ।

यस्तै, चीनसँग २७ अर्ब ९९ करोड ६० लाख बराबरको आयात र पाँच करोड ४८ लाखको निर्यात गर्दा २७ अर्ब ९४ करोड १२ लाख बराबर व्यापार घाटा भएको छ। 
युएईसँगको व्यापारमा समेत नेपालले ठूलो नोक्सानी बेहोर्दै आएको छ। युएइबाट नेपालले २० अर्ब ४० करोडको वस्तु आयात गर्दा २० करोड २६ लाख बराबरको वस्तु निर्यात गरेको देखिन्छ। जसबाट नेपालले १८ अर्ब ३८ करोड व्यापार नोक्सानी बेहोर्नुपरेको छ।

थाइल्याण्डसँग पनि नेपालको वैदेशिक व्यापार घाटामा देखिएको छ। भन्सार विभागको तथ्यांक अनुसार थाइल्याण्डबाट नेपालले ११ अर्ब २२ करोडको वस्तु आयात गरेकोमा १५ करोडको मात्रै वस्तु निर्यात गरेको छ। थाइल्याण्डसँग नेपालको वैदेशिक व्यापार ११ अर्ब २० करोड भन्दा बढि देखिएको छ।

अजेन्टिनासँग ९ अर्ब १२ करोड ९७ लाख बराबरको आयात र २४ लाखको मात्रै निर्यात गर्दा नेपालले ९ अर्ब १२ करोड बराबरकै व्यापार घाटा बेहोर्नुपरेको छ। त्यस्तै अष्ट्रेलियासँग नेपालले ६७ करोड २८ लाखको आयात र १६ करोड ३७ लाख बराबरको निर्यात गर्दा कुल व्यापार नोक्सानी ५० करोड भन्दा बढिको ब्यहोर्नुपरेको छ।

यस्तै, बंगलादेशसँग ५३ करोड ५८ लाख बराबरको आयात र सात करोड ५१ लाखको निर्यात गर्दा ४६ करोड ७  लाख बराबर व्यापार घाटा भएको छ। 
नेपालको वैदेशिक व्यापार बहराइनसँग समेत हुने गरेको छ। बहराइनबाट नेपालले १७ करोड ७७ लाख बराबरको वस्तु आयात गरेको छ भने निर्यात शुन्य रहँदा उक्त देशसँग व्यापार घाटामा देखिएको छ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको वैदेशिक व्यापार भएको छ। गत महिना साउनमा एक खर्ब ४३ अर्ब चार करोड बराबरको आयात र २३ अर्ब ९३ करोड २४ लाख बराबरको निर्यात भएको तथ्यांकले देखाउँछ। यो अवधिमा देशलाई एक खर्ब १९ अर्ब १० करोड बराबर व्यापार घाटा भएको छ।

गत आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापारको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात ११ दशमलव ४२ र निर्यात ९५ दशमलव ७५ प्रतिशतले बढेको छ।

जर्मनी, अफगानस्तान, संयुक्त राज्य अमेरिका, रूस, बेल्जियम, नर्वेलगायत मुलुकसँग समीक्षा अवधिमा व्यापार नाफा भएको छ।