काठमाण्डाैँ । 
निर्माण घोषणादेखि नै चर्चामा रहेको फिल्म 'माग्ने राजा' ले प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकको साथ पाएको निर्माणपक्षले जनाएको छ।

शुक्रबार बिहानी शोमा औसत दर्शक पाए पनि मध्यान्हदेखिका शोमा हाउसफुल दर्शकको साथ पाएको जनाइएको छ। फिल्मले शनिबार भने दर्शकको उत्साहजनक साथ पाएको छ।

शनिबार फिल्म हेर्न दर्शक ओर्लिएपछि निर्देशक ऋषि लामिछाने 'माग्ने राजा' का मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र वर्षा सिवाकोटीलाई लिएर काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए। फिल्म निर्माण टिम हल पुग्दा ‘माग्ने राजा’ हेरेका अधिकांश दर्शकले फिल्मले दिएको सन्देश निकै मन परेको प्रतिक्रिया दिएका छन्।

अभिनेता केदार घिमिरे (माग्ने बुढा)लाई दर्शकले जुरूक्कै बोकेर 'माग्ने राजा' भन्दै नाराबाजी समेत गरेका थिए।

अभिनेता केदारले आफू भुइँमान्छेलाई दर्शकको यस्तो मायाले उत्साहित बनाएको बताउँछन्। त्यससँगै आगामी दिनमा अझै राम्रो फिल्ममा काम गर्नुपर्ने चुनौती थपिएको उनको बुझाइ छ।

बक्स अफिसमा कुनै फिल्मको सफलताको वास्तविक मापन भने आइतबार, अर्थात् हप्ताको पहिलो काम गर्ने दिनबाट सुरू हुन्छ भन्ने मान्यता स्थापित छ। आइतबारको कमाइले फिल्मको व्यापार अबको साता कस्तो रहनेछ भन्ने प्रारम्भिक अनुमान गर्न मद्दत गर्छ।

'माग्ने राजा' वितरक रोहित कट्टेलले फिल्मले आगामी दिनमा अझ राम्रो व्यापार गर्ने विश्वास व्यक्त गर्छन्।

उनका अनुसार नेपाली फिल्मको सन्दर्भमा 'ऊनको स्वीटर' पछि 'माग्ने राजा' ले नै सुरूका दिनदेखि यति धेरै दर्शक पाएको हो।
उनले यो फिल्मले सधैं दर्शक पाउने पहिलो श्रेणीका हलमा मात्र नभई चाडबाडमा मात्र व्यापार गर्ने हलमा पनि हाउसफुलको व्यापार गरेको बताएका छन्। उनले तीजको मुख्य बिदा बाँकी नै रहेकाले फिल्मले आकर्षक कमाइ गर्ने अपेक्षा व्यक्त गरे।

'यो फिल्मले मंगलबारपछि अझ आक्रामक कमाइ गर्ने मेरो अनुमान छ,' कट्टेलले भने। मंगलबार तीजको बिदा रहेको र महिला दर्शक त्यसपछि फुर्सद हुने हुनाले यसको फाइदा फिल्मलाई पुग्ने उनको तर्क छ।

निर्देशक ऋषि लामिछाने पनि तीजपछि फिल्मका दर्शक थप बढ्ने विश्वासमा छन्। अहिले हलमा महिला दर्शकको उपस्थिति पातलो रहेको र तीजपछि यसमा बढोत्तरी हुने बताउँछन्।

उनले भने, 'मुखैमा तीज रहेकाले महिला दर्शक अझै हलमा आउन भ्याउनु भएको छैन भन्ने लागिरहेको छ। परिवार नै बसेर हेर्न मिल्ने फिल्म रहेकाले तीजपछि हलमा पारिवारिक माहोल अझ बढ्ने विश्वास छ।'

मुनाल घिमिरेको निर्माण रहेको फिल्मको कथा सामिप्यराज तिमिल्सिनाले लेखेका हुन्।

फिल्ममा केदार र वर्षासहित विल्सनविक्रम राई, शारदा गिरी, शिशिर वाङदेललगायत कलाकारहरूको अभिनय छ।