
काठमाडौँ । गत आर्थिक वर्ष ०८१/८२ मा रेमिट्यान्स १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा रेमिट्यान्स १९.२ प्रतिशतले बढेको हो । आर्थिक वर्ष ०८०/८१ मा रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले बढेको थियो ।
अघिल्ला महिनामा जस्तै गत असारमा पनि रेमिट्यान्सले नयाँ रेकर्ड बनाएको छ । राष्ट्र बैंकका अनुसार गत असारमा मात्र १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह १ खर्ब १७ अर्ब ७८ करोड रहेको थियो ।
गत असार मसान्तसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो । गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा वृद्धि भएसँगै रेमिट्यान्स आप्रवाहमा पनि सकारात्मक प्रभाव परेको हो ।
जसअनुसार गत वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५ लाख ५ हजार ९ सय ५७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ३३ हजार ३ सय ९ रहेको छ । अघिल्लो वर्ष यस्तो संख्या क्रमशः ४ लाख ६० हजार १ सय २ र २ लाख ८१ हजार १ सय ९५ रहेको थियो ।







Facebook Comments