
काठमाडौँ । चलचित्र ‘कन्यादान’ निर्माणको घोषणा गरिएको छ । चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गर्नेछन् ।
उनले यसअघि ‘रङ्गेली’ निर्देशन गरेका थिए । ‘सोल्टिनी’ प्रदर्शनको तयारीमा छ । यो चलचित्रले श्रीमान् गुमाएका महिलाको जीवन र समाजले दिने चुनौतीलाई उठान गर्नेछ ।
चलचित्रको सार ‘हरेक एकल महिलाले दोस्रो अवसर पाउनुपर्छ’ भन्ने रहेको निर्देशक सुवेदीले बताए । समाजको परम्परागत मान्यतालाई चुनौती दिँदै दोस्रो ‘कन्यादान’ प्राप्त गरी पुनः प्रेम र जीवन जिउने अधिकार दिने प्रसंग चलचित्रमा उठान गरिने बताए । यसअघि ‘कन्यादान’ शीर्षकमा चलचित्र बने पनि सुवेदीले निर्देशन गर्ने ‘कन्यादान’ भने नयाँ कथामा बन्नेछ ।
कुमार भट्टराई र अर्जुन सुवेदीले चलचित्रको कथा लेखेका छन् । चलचित्रको प्रस्तुतकर्तामा रेजिना विस्ट, कार्यकारी निर्मातामा मार्टिन ओली, छायांकन निर्देशनमा सुसन प्रजापति रहनेछन् ।







Facebook Comments