
हैदाबाद । कंगना रनौतसँग चन्द्रमुखी–२ र अजित कुमारसँग वेदलम जस्ता उत्कृष्ट फिल्महरूमा अभिनय गरेकी दक्षिण अभिनेत्री लक्ष्मी मेननविरुद्ध प्रहरीमा उजुरी दर्ता गरिएको छ। कोच्चीका एक आईटी कर्मचारीले अभिनेत्री र उनका साथीहरूलाई अपहरण, आक्रमण र धम्की दिएको आरोप लगाएका हुन्।
अभिनेत्रीका दुवै साथीहरूलाई पक्राउ गरिएको छ, जसपछि अभिनेत्री फरार छिन्। मनोरमा अनलाइनको रिपोर्ट अनुसार, अलुवा निवासी अलियार शाह सलीमले अभिनेत्री लक्ष्मी मेनन, उनका साथीहरू अनिश, मिथुन र सोनामोलेविरुद्ध एर्नाकुलम उत्तरी प्रहरी चौकीमा उजुरी दर्ता गरेका छन्।
उजुरीकर्ताका अनुसार आइतबार उनी आफ्ना साथीहरूसँग क्लब गएका थिए, जहाँ उनको समूहको अभिनेत्रीको समूहसँग झगडा भएको थियो । झगडा बढ्दै गएपछि अलियार आफ्ना साथीहरूसँग क्लबबाट निस्किए। उनीहरू निस्कने बित्तिकै अभिनेत्री र उनका साथीहरूको कारले उनीहरूलाई पछ्याउन थाल्यो।
राति करिब ११ः४५ बजे, उत्तरी रेलवे पुल नजिकै, अभिनेत्रीका साथीहरूले उनको कारलाई ओभरटेक गरे र जबरजस्ती कारबाट बाहिर निकालेर आफ्नो कारमा बसाए, जहाँ उनलाई नराम्रोसँग कुटपिट गरियो।
लामो समयसम्म कुटपिट गरेपछि, उजुरीकर्तालाई अलुवा(परावारा जंक्शन नजिकै कारबाट बाहिर फ्याँकिएको थियो। उजुरीपछि, सीसीटीभी फुटेजको मद्दतले कार नम्बर पत्ता लगाइएको थियो ।
यसको मद्दतले अभिनेत्रीका तीन साथी मिथुन, अनीश र सोनामोलेलाई पक्राउ गरिएको थियो। यस घटनामा प्रहरीले अभिनेत्री लक्ष्मी मेननलाई सोधपुछ गर्न खोजिरहेको छ । रिपोर्टका अनुसार, आफ्ना साथीहरूलाई पक्राउ गरेपछि उनी फरार छिन्।
लक्ष्मी मेननले २०११ मा रिलिज भएको फिल्म राघविन्ते स्वान्थम रजियाबाट मलयालम सिनेमामा डेब्यू गरेकी थिइन्। यसपछि, उनले सन् २०१२ मा सुन्दरपदियनबाट तमिल सिनेमामा डेब्यू गरिन्, जसको लागि उनले साउथ फिल्मफेयर बेस्ट डेब्यू अवार्ड प्राप्त गरिन्। यस फिल्ममा उनीसँगै विजय सेतुपति पनि महत्त्वपूर्ण भूमिकामा थिए।







Facebook Comments