
काठमाडौं । निर्देशक ऋषि लामिछानेको चलचित्र ‘माग्ने राजा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । ८ वर्षपछि ठूलो पर्दामा चलचित्र देखाउने सपना बोकेर आएका निर्देशक लामिछानेले दर्शकको माया र साथले आफू र आफ्नो टिम उत्साहित भएको बताएका छन् ।
निर्देशक लामिछानेले दर्शकको माया, समर्थन र हाँसोले मनको डर पलभरमै हराएको अनुभव सुनाए । उनले ‘माग्ने राजा’ दर्शकहरूको प्यारो भएको महसुसले टिमका सम्पूर्ण सदस्यहरूको हृदयभरि अपार खुशी भरेको बताए ।
उनले यो चलचित्र आफ्नो मेहनतको नतिजा मात्र नभई दर्शकहरूको साथ र विश्वासको परिणाम भएको उल्लेख गरे । हलमा दर्शकले दिएको हाँसो, ताली र सिट्ठीको प्रतिक्रियाले आफूहरूलाई ठूलो ऊर्जा मिलेको उनको भनाइ छ । विदेशमा रहेका दर्शकहरूको मायाले पनि आफूहरूलाई गर्वित बनाएको उनले बताए ।
निर्देशक लामिछानेले स्वदेश तथा विदेशमा रहेका दर्शकहरूलाई ‘माग्ने राजा’ हेर्न आग्रह गर्दै चलचित्र हेरेर आफ्नो अनुभव, प्रतिक्रिया र सामाजिक भाव सामाजिक सञ्जालमा व्यक्त गर्न अनुरोध गरेका छन् । उनले आफ्नो टिमले दर्शकको प्रत्येक प्रतिक्रिया र मायाको सम्मान गर्ने बताए ।
‘हाँसो, सोच र चेतना सँगै बाँड्न पाउँदा हामी धन्य छौं,’ लामिछानेले भने, ‘मलाई विश्वास छ, अझै पनि तपाईँहरूले हाम्रो यो माग्ने राजा चलचित्रलाई माया, साथ र सपोर्ट गर्नुहुन्छ ।’







Facebook Comments