काठमाडौँ । दसैँको फूलपातीको दिन रिलिज हुने चलचित्र ‘बलिदान’ले अन्तर्राष्ट्रिय बजारमा उच्च शो पाउने निर्माणपक्षले बताएको छ ।

सन्तोष सेनको निर्देशन तथा समीर भट्टको अभिनय रहेको चलचित्र अमेरिकाको सबैभन्दा ठूलो सिनेमा चेन एएमसीमा प्रदर्शनमा आउन लागेको छ । यो सँगै ‘बलिदान’ अमेरिकाभरका २०० भन्दा बढी हलहरूमा एक हजारभन्दा बढी शो सहित देखाइने अपेक्षा गरिएको निर्देशक सेनले बताए ।

यसअघि कुनै पनि नेपाली चलचित्र एएमसी चेनमा प्रदर्शन नभएको निर्देशक सेनले बताएका छन् । यो चेनमा ‘बलिदान’ रिलिज हुने भएको हो । एएमसीसँगै सिनेमार्क, मार्क्स र रेगलजस्ता अन्य अमेरिकी सिनेमा चेनहरूमा समेत ‘बलिदान’ प्रदर्शन हुनेछ ।‘बलिदान’मा समीरसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी, सन्तोष सेनलगायतको अभिनय छ ।

आशुसेन फिल्म्सको प्रस्तुतिमा पवन ब्राडफोर्ड विस्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्माता रहेको ‘बलिदान’लाई नेपाली चलचित्रको साहसी कदमको रूपमा लिइएको छ ।