काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका र च्यांग्राको अग्रिम बुकिङ खुला गरेको छ । कम्पनीले दसैँका लागि मंगलबारदेखि खसीबोका र च्यांग्राको बुकिङ खुला गरेको हो । ग्राहकले अनलाइनमार्फत आफूलाई आवश्यक पर्ने खसीबोका र च्यांग्रा बुकिङ गरेर असोज १४ गतेसम्म लिन सक्नेछन् ।

अग्रिम बुकिङका लागि खसीका लागि चार हजार र च्यांग्राका लागि पाँच हजार रुपैयाँ बुझाउनुपर्नेछ । यो अग्रिम शूल्क इसेवा र खल्तीबाट भुक्तानी गर्नुपर्नेछ । यसरी बुझाएको रकम फिर्ता नहुने कम्पनीले जनाएको छ ।

बुकिङ गर्दा प्राप्त कोड लिएर खसीबोका लिन जानुपर्नेछ । खसीबोका र च्यांग्राको मूल्य भने तोकिएको छैन । खाद्यले यो वर्ष १५ सय खसीबोका र ५०० च्याग्रा ल्याउने तयारी गरेको छ ।

अनलाइन बुकिङ बढ्दै गए त्यहीअनुसार खसीबोका र च्यांग्रा खरिद बढाइने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका खरिद विभाग प्रमुख अनन्तराज पौडेलले बताए ।