काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १५.६४ अंकले घटेर २७२६.३३ विन्दुमा अडिएको छ। कारोबार रकम ४ अर्बमा खुम्चिएको छ। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक १९ अंकले घटेको थियो।

यसदिन ३२६ स्क्रिप्सको  १ करोड १३ लाख ४५ हजार  ९९४ कित्ता सेयर ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार  ९६० रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ३९ वटा स्टक्सको मूल्य बढ्दा २१३ वटाको घट्यो।

यसदिन हिम स्टार उर्जाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। उक्त कम्पनीको सेयर ९.९९ प्रतिशतले बढ्दा युनियन हाइड्रुोपावरको सेयर ७.०३ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा  युनियन हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३३ करोड ८० मूल्य बराबरको सेयर खरिदबिक्री भयो। लिबर्ट्री इनर्जीले २७ करोडको सेयर कारोबार गर्दा हिमालयन रिइन्स्योरेन्सले २४ करोड र पञ्चकन्या माइ हाइड्रोपावरको १३ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

दुई समूहबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्। म्युचुअल फण्ड र ट्रेडिङ समूहको उपसूचक बढ्दा अन्यको घटेको हो।