
काठमाण्डाैँ । टाइगर श्राफ र सञ्जय दत्त अभिनीत एक्सन फिल्म 'बागी ४' शुक्रबारदेखि प्रदर्शनमा छ।
बागी फ्रेन्चाइजको चौथो शृङ्खला भएकाले यसबाट ठूलो अपेक्षा गरिएको भए पनि फिल्मले दर्शक तथा समीक्षकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ। फलस्वरूप प्रदर्शनको दोस्रो दिन नै फिल्मको कमाईमा उल्लेख्य गिरावट आएको भारतीय संचारमाध्यमहरूले जनाएका छन्।
स्याक्निल्क डट कमको प्रारम्भिक अनुमान अनुसार, 'बागी ४' ले दोस्रो दिन शनिबार ९ करोड भारू मात्रै संकलन गरेको छ। फिल्मले पहिलो दिन १२ करोड भारू कलेक्सन गरेको थियो। जसको तुलनामा दोस्रो दिनको कमाइ ३३ प्रतिशतले कम हो। दुई दिनको कुल कमाई २१ करोड भारू पुगेको छ।
विकेन्डमा फिल्मको कमाई बढ्ने अपेक्षा गरिएको भए पनि दोस्रो दिन नै यस्तो गिरावट आउनु 'बागी ४' को लागि चिन्ताको विषय बनेको छ। आगामी दिनहरूमा फिल्मले गति लिन सक्छ वा सक्दैन, त्यसले फिल्मको बक्स अफिसको भविष्य निर्धारण हुनेछ।
'बागी ४' सन् २०१६ मा टाइगर श्राफ र श्रद्धा कपुर अभिनीत 'बागी' बाट सुरु भएको फ्रेन्चाइजीको चौथो भाग हो।
सिक्वेलमा टाइगरले दिशा पटानी र मनोज बाजपेयीसँग आफ्नो भूमिका दोहोर्याएका थिए। ‘बागी ३’ मा श्रद्धा कपुर र रितेश देशमुख फर्किएका थिए।
'बागी ४' मा टाइगर श्राफ, हरनाज सन्धु, सोनम बाजवा, सञ्जय दत्त लगायतको अभिनय छ। फिल्मको निर्देशन ए. हर्षाले गरेका छन् भने निर्माण साजिद नाडियाडवालाले गरेका हुन्।
'बागी ४' नेपालका सिनेमा हलहरुमा समेत प्रदर्शन भइरहेको छ।







Facebook Comments