काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँबराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका निम्ति आग्रह गरिएको छ । केन्द्रीय बैंकले यही भदौ ३० गतेभित्र निवेदन दिन आग्रह गरेको छ । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब चार करोड, ‘ख’ वर्गका विकास बैंकमा १९ करोड ५० लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा ६ करोड ५० लाखबराबरको रकम लगानी गर्नेछ ।

बैंकबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको र निष्क्रिय कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।आफूले लिन चाहेको रकम र ब्याजदर समेत प्रस्ताव गरी आवेदन दिन केन्द्रीय बैंकले सूचनामार्फत आग्रह गरेको छ ।