काठमाडौं । विश्वभरका नेपाली प्रतिभाहरु सहभागीहरुको सबैभन्दा ठूलो नेपाली गायन रियालिटी शो 'मेरो भ्वाइस युनिभर्स- सिजन २'को प्रसारण सुरु भएको छ । नेपाल टेलिभिजनको राष्ट्रिय प्रशारणबाट सांझ ८ बजेपछि यो शो प्रसारण भएको हो ।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पनामा तयार गरिएको ूमेरो भ्वाइस युनिभर्सूमा विश्वका २३ देशका नेपाली गायक गायिकाहरुले फाइनल प्रतिष्पर्धा गर्दैछन् । नेपालसमेत विश्वका १३ मुलुकमा अडिसनहरु समापन गरी काठमाडौंको एए स्टुडियोमा फाइनल राउण्डका प्रतिष्पर्धाहरु गराइएको हो । फाइनल राउण्डका ३२ एपिसोडहरुमध्ये बिहीबार साँझ पहिलो एपिसोड प्रसारण भएको हो ।

फाउण्डेसनका अनुसार, अव 'मेरो भ्वाइस युनिभर्स' हरेक हप्ता विहीबार र शुक्रबार  नियमितरुपमा प्रसारण हुने छ । यो प्रतिष्पर्धामा भाग लिन विश्वभरबाट छनौट भई नेपाल आइपुगेका प्रतिभाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा निमन्त्रणा गरी शुभकामना दिंदै नेपाली संस्कृतिको दूतका रुपमा काम गर्न आग्रह गरेका थिए ।

संसारभरका नेपाली मूलका नेपालीहरुलाई नेपाली संस्कृतिको माध्यमबाट नेपालसंग जोड्ने अभियानका रुपमा इन्ट्रा फाउण्डेसनले मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स नामका दुई रियालिटी शोहरुको आयोजना गर्दै आएको छ ।

'मेरो भ्वाइस युनिभर्स'को निर्देशकमा विशाल अर्याल र विशाल भण्डारी रहेका छन् भने निर्णायकहरुमा बरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायक शिव परियार, गायिका अन्जु पन्त, गायिका लावनी चक्रवर्ती प्रसाईं र गायक एवं संगीतकार कर्मा ग्लाल्जेन रहेका छन् । यो शोमा प्रस्तोताका रुपमा रिमा विश्वकर्मा र राजा राजेन्द्र पोखरेल रहेका छन् ।