सुदनजी गत केही हप्तादेखि तपाईंको चर्चा यत्रतत्र छ । कस्तो अनुभव भइरहेको छ ?
म ठिक छु । आफैँलाई बुझ्ने प्रयास गरिरहेको छु ।

भन्नाले?
धेरै घटनाहरू भएका छन् । यसले मभित्र भावनात्मक उतार–चढाव ल्याइदिएको छ । सडकमा रक्तपात भएको छ । मलाई देश संवृद्ध भएको हेर्नुछ । तर जताततै जलेको देख्नु परेको छ । म अझै पनि त्यसको आघातबाट सम्हालिन खोज्दैछु । मलाई अझै समय लागिरहेको छ ।

तपाईं पर्दा पछाडि रहेर सक्रिय रूपमा काम गर्दै हुनुहुन्छ । प्रधानमन्त्री सुशीला कार्की तथा सेनाका अधिकारीहरूसँग छलफल गर्दै हुनुहुन्छ । छलफलहरू कस्तो हुँदैछ ?
मलाई युवाहरूले जनताहरूले दिएको जिम्मेवारी ठुलो छ । सिङ्गै राष्ट्रले नै जिम्मेवारी दिएको छ । त्यसैले मेरा हरेक कदम १० पटक भन्दा धेरै सोचेर चाल्नुपर्ने हुन्छ । मेरो सानो गल्तीले पनि मानिसले पीडित हुनुपर्ने हुन्छ । सबैकुरा ठिकठाक त चलेको छैन । तर केही राम्रो त हुँदैछ ।

हामी पहिलो पटक राष्ट्र निर्माणको काममा लागेका छौँ । त्यसैले पक्कै पनि धेरै नराम्रो हुँदै छैन । यसमा हामी अनुभवी छैनौँ । यद्यपि हामीलाई देशको माया छ । हामीले कसरी संवाद गर्ने, कसरी अगाडि बढाउने भन्ने कुराहरू सिक्दै र सुधार गर्दै जाने प्रयासमा छौँ ।

हामी आन्दोलनका बारे, अन्यायका बारे सरकारद्वारा गरिएको अपराध, स्कुल पोसाकमा रहेका मेरा भाइबहिनीहरूको हत्या गरेको बारेमा फरक ढङ्गले कुराकानी गरिरहेका छौँ । यो अपराधका जिम्मेवार मानिसलाई कारबाही गर्न खोजिरहेका छौँ । हामी उनीहरूलाई जबाफदेही बनाउन खोज्दैछौँ । न्याय पाउन खोजिरहेका छौँ । साथै हामीले चुनावका लागि पनि तयारी गर्नुछ ।

ठ्याक्कै भन्नुपर्दा अहिलेको अन्तरिम सरकारसँग तपाईंका मागहरू के–के हुन् ?
इमानदारितापूर्वक भन्नुपर्दा हाम्रा धेरै मागहरू छन् । हामी धेरै समस्याहरूबाट गुज्रिरहेका छौँ । यी धेरै समस्या र एजेन्डाहरू सम्बोधन गर्न आवश्यक छ । यो माग र एजेन्डाको सूची जनताबाट आउनु पर्छ । त्यसैले हामी हाम्रो देशका विभिन्न भागका विभिन्न व्यक्तिहरूबाट एजेन्डाहरू सङ्कलन गरिरहेका छौँ ।

हाल हामीसँग थोरै एजेन्डाहरू मात्र छन् । हामीले अझै पनि जनतासँग छलफल गर्नुपर्ने आवश्यकता छ । यो जनताको सरकार भएको हुँदा हामी नेपाली जनताको हरेक आवाजलाई सम्बोधन गरियोस् भन्ने चाहन्छौँ । हाम्रो सरकारले सुनुवाइ गरोस् भन्ने चाहन्छौँ ।

जनताले रोजेको खण्डमा म प्रधानमन्त्रीका लागि लड्न तयार छु । जनताले विश्वास गरेर जिम्मेवारी दिनुभयो भने उहाँहरूलाई ठिक लागेर तिमीले प्रधानमन्त्री चलाउन सक्छौ भन्नुभयो भने म पक्कै पनि त्यो जिम्मा लिनेछु ।

साझा आवाज तय गर्नका लागि आन्दोलनलाई अहिले कसरी सङ्गठित गर्दै हुनुहुन्छ ?
यो हाम्रा लागि नयाँ अनुभव हो । यस्तो हामीले यसअघि कहिल्यै गरेका थिएनौँ । अहिलेका लागि हामी ‘डिस्कर्ड’ वा सामाजिक सञ्जालका प्लेटफर्महरू प्रयोग गर्दैछौँ । हामी ‘इन्फ्लुएन्सर’हरू प्रयोग गर्दैछौँ । सकेसम्म धेरै भन्दा धेरै जनतालाई संवादमा जोड्ने प्रयासमा छौँ । शुरुमा त हामीले आन्दोलनमा संलग्न भएका सबै जेनजीलाई एकताबद्ध गर्नुछ । त्यसैले अहिले हामी सकेसम्म धेरै मानिसलाई समावेश गर्दै जेनजीहरुलाई एकतावद्ध गर्न लागेका छौँ । हामी सम्पूर्ण मुलुकलाई एकतावद्ध गर्न लागेका छौँ ।

पछिल्ला केही हप्तामा भएका घटनाहरुमा ‘डिस्कर्ड’ले ठुलो भूमिका खेलेको छ । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको छनोटका लागि पनि त्यसकै प्रयोग भयो । ‘डिस्कर्ड’लाई यसरी प्रयोग गर्ने निर्णयमा कसरी र किन पुग्नुभयो ?  
हामीले ‘डिस्कर्ड’ रोज्नुको कारण के हो भने जब हामी विरोध प्रदर्शन गर्दै थियौँ, विभिन्न आन्दोलनहरूलाई व्यवस्थित गराउँदै थियौँ । त्यसवेला सञ्चारको व्यवस्था साह्रै कमजोर थियो । त्यसको ख्याल गरेर हामीले ‘डिस्कर्ड’बाट मानिसलाई एकीकृत गर्न सकिन्छ कि भन्ने सोच्यौँ । त्यहाँबाट हामीले आन्दोलनका बारेमा सूचना जानकारी तथा अपडेट पठाउन सक्थ्यौँ । हङकङका आन्दोलनकारीहरूले सुरक्षा बललाई झुक्याउनका लागि ‘डिस्कर्ड’ तथा ‘सिग्नल’ जस्ता एप्लिकेसनको प्रयोग गरेको देखेर हामीले पनि यो तरिका थाहा पाएका थियौँ ।

म तपाईंहरुले प्रधानमन्त्री छनोटका लागि गर्नुभएको मतदानबारे केही आलोचनात्मक दृष्टि राख्दैछु । मैले बुझेसम्म त्यस प्रक्रियामा आठ हजार जति युवाहरूले भाग लिएका थिए । जसको आधा जतिले सुशीला कार्कीलाई रोजे । हामीले सामान्य गणित लगाएर हेर्दा पनि त्यो सङ्ख्या त नेपालको कुल जनसङ्ख्याको शून्य दशमलव एक प्रतिशत मात्रै हुन्छ । मानिसले यसलाई सहभागितामूलक वा लोकतान्त्रिक भएन भन्न सक्छन् । यसबारे के भन्नुहुन्छ ? 
हामीले सकेसम्म राम्रो गरेको हो । हामीसँग भएको त्यही थियो । धेरै मानिसलाई यस्तो निर्णयमा चित्त बुझेको छैन भन्ने हामीलाई थाहा छ । सबैको चित्त बुझाउन सम्भव पनि छैन । हाम्रो प्रधानमन्त्रीको पृष्ठभूमि हेर्नुस् उहाँ लामो समयदेखि  भ्रष्टाचारसँग लडेर आएको मान्छे हो । सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएको बेला उहाँलाई महाअभियोग लगाएर हटाइएको थियो । यी सबै हेर्दा हामीलाई उहाँ नै अहिले अन्तरिम प्रधानमन्त्रीका लागि सबैभन्दा उपयुक्त ठान्यौँ ।

इमान्दरसाथ भन्नुपर्दा हाम्रा धेरै मागहरू छन् । हामी धेरै समस्याहरूबाट गुज्रिरहेका छौँ । यी धेरै समस्या र एजेन्डाहरू सम्बोधन गर्न आवश्यक छ । यो माग र एजेन्डाको सूची जनताबाट आउनुपर्छ ।

आउने फागुनमा निर्वाचन हुनेवाला छ । तपाईं त्यसमा भाग लिँदै हुनुहुन्छ ?
हामीलाई यस्तो गर्नु थिएन । हामी त केवल सुरक्षित नेपाल चाहन्थ्यौँ । भ्रष्टाचारमुक्त नेपाल चाहन्थ्यौँ । तर, आन्दोलनले सरकार ढालेपछि भने केही मानिस हामीमाथि विभिन्न शैलीमा आक्रमण गरिरहेका छन् । मेरो छवि धमिल्याउन खोजिरहेका छन् । हामीमा फाटो ल्याउन खोजिरहेका छन् । हामीलाई असफल बनाउन र राजनीतिमा तान्न बल गरिरहेका छन् ।  राजनीति यस्तै हो भने र उनीहरूले खोजेकै त्यही हो भने हामी पनि अर्को चुनावमा उम्मेदवार हुन्छौँ । हामी अब पछि हट्दैनौँ ।

यसलाई थप प्रस्ट पारौँ, तपाईं व्यक्तिगत रूपमा कुनै पदका लागि चुनाव लड्ने तयारीमा हुनुहुन्छ ?
हो, यो त आन्दोलन हो । मेरा सामु केही विकल्प छैनन् । मैले लड्नै पर्छ । किनभने मैले मेरो देश जोगाउनुछ । मलाई लाग्छ हामीले हाम्रो देश सामूहिक रूपमा चलाउनु पर्छ । व्यक्तिगत रूपमा होइन । म एउटा उम्मेदवारका रूपमा चुनावमा जान्छु । स्वतन्त्र उम्मेदवारका रूपमा । हामीलाई युवा शक्ति चाहिएको छ । हामीले मिलेर बलियो हुँदै लड्नु छ ।

तपाईं पार्टी बनाउँदै हुनुहुन्छ जस्तो बुझिन्छ । संविधानले प्रबन्ध गरेजस्तो निर्वाचनका लागि तपाईं पार्टी खोल्ने कामको पहिलो चरणमा हुनुहुन्छ भन्ने पनि देखिन्छ नि !
पक्कै पनि । म हामीले जित्नेमा पनि ढुक्क छु । सरकार जनताको हुनेछ । आउने चुनावमा नेपालीहरुले जित्नेछन् । जनताले जित्नेछन् । जनताले जित्नेमा विश्वस्त भएको पाएको छु ।

हाम्रो सार्वभौमसत्ताको सम्मान गरेको अवस्थामा हामी पनि हाम्रा छिमेकीको सार्वभौमसत्ताको सम्मान पक्कै गर्नेछौँ । तर, हाम्रो आन्तरिक मामलामा कुनै हस्तक्षेप भने हुनुहुँदैन ।

के तपाईं प्रधानमन्त्री बन्न चाहनुहुन्छ ? 
म अझै पनि जिम्मेवार तथा सक्षम व्यक्ति नेपालको प्रधानमन्त्री बनोस् भन्ने चाहन्छु । म अहिले आफैँलाई त्यसका लागि सही व्यक्ति हो भन्दिनँ । म भन्दा राम्रा उम्मेदवारहरू हुनुहुन्छ । त्यही भएरै हामीले फरक खालका मन्त्रीहरू छान्यौँ । उनीहरू योग्य छन् । समस्यालाई सम्हाल्न सक्छन् । समाधान खोज्न सक्छन् । हामीलाई रचनात्मक समाधान दिन सक्छन् ।

म प्रधानमन्त्री बन्छु भनेर अहिले भन्न सक्दिनँ । तर, जनताले मलाई रोजेको खण्डमा म प्रधानमन्त्रीका लागि पनि लड्न तयार छु । जनताले विश्वास गरेर जिम्मेवारी दिनुभयो भने उहाँहरूलाई ठिक लागेर तिमीले प्रधानमन्त्री चलाउन सक्छौ भन्नुभयो भने म पक्कै पनि त्यो जिम्मा लिनेछु । तर, त्यो पद होइन जनताले दिएको जिम्मेवारी हुनेछ । छान्ने जिम्मा जनताको हो ।

पुराना दलहरू चुनावमा भाग लिन्छन् कि लिँदैनन् ? तपाईंलाई के लाग्छ ? 
हामी उनीहरू चुनावमा भाग नलिउन भन्ने चाहन्छौँ । उनीहरूले भाग नलिने सुनिश्चितता गर्छौँ । उनीहरूले गरेको अपराधको अनुसन्धान प्रक्रिया तीव्र गतिमा अघि बढाउँछौँ । दोषी देखिएकाहरू चुनावमा भाग लिन पाउँदैनन् । त्यसैले अनुसन्धान समयमै राम्रोसँग होस् भन्ने चाहेका छौँ । त्यसो हुँदा उनीहरू आउने चुनावमा भाग लिने हिम्मत पनि राख्ने छैनन् भन्ने लाग्छ ।

कस्तो अनुसन्धान ? तपाईंले हिंसासँग जोडेर भन्दै हुनुहुन्छ कि ?
पुराना नेताहरू जे पनि गर्न सक्छन् । तिनीहरू त घटिया चोरजस्ता छन् । आफ्नो शक्ति फर्काउन उनीहरू जुनसुकै हदसम्म गिर्न सक्छन् । त्यसैले उनीहरू निर्वाचन जितेर आए भनेपनि हामी उनीहरूलाई स्विकार्दैनौँ । हामी मान्दैनौँ । कुनै हालतमा मान्दैनौँ ।

उनीहरूले गरेको हिंसा वर्षौँदेखिको भ्रष्टाचारको अनुसन्धान भनेको हो । उनीहरूले गरेको हत्या, रक्तपात लगायत हरेक अपराधको अनुसन्धान भनेको हो ।

भनेपछि तपाईं खासमा यी पार्टीहरू प्रतिबन्धित हुनुपर्छ भन्ने चाहनुहुन्छ ? मुख्य नेताहरू जेलमा राखिनुपर्छ भन्ने हो ? अहिलेको अन्तरिमकालमा तपाईंहरुको लक्ष्य यही हो ? 
हो । त्यसो गर्दा नेपालीको आत्मविश्वास बढ्छ । अहिले सबै जनता पुरानै नेता फर्कन्छन् भन्ने त्रासमा छन् । त्यसो हुनुभन्दा अघि नै हामीले तीव्र रफ्तारमा अनुसन्धान अघि बढाउनुपर्छ । अपराधीहरू को थिए भन्ने जनतालाई स्पष्ट पार्नुपर्छ ।

उनीहरूले हाम्रा कलिला भाइबहिनीमाथि गोली चलाउने आदेश दिएका थिए । उनीहरूले अपराध गरिसकेका छन् । त्यसैले उनीहरू जेलमा पुग्नेमा म विश्वस्त छु । त्यसो हुँदा उनीहरू आउने निर्वाचनमा भाग लिन असक्षम हुनेछन् । यो हुनेवाला नै छ ।

मानौँ नेपाली जनताले फागुनमा हुने निर्वाचनबाट पुरानै नेतालाई शक्तिमा फर्काइदिए भने के गर्नुहुन्छ ? तपाईंहरु त्यसलाई स्वीकार गर्नुहुन्छ वा थप विरोध प्रदर्शनमा लाग्नुहुन्छ ?
हामी विरोधमा जान्छौँ । मैले भने नि कुनै नेपालीले पनि उनीहरू फर्केको हेर्न चाहँदैनन् । यदि तपाईँले कुनै सच्चा देशभक्त नेपालीलाई सोध्नुभयो भने आफ्नो देश संवृद्ध भएको हेर्न चाहने नेपालीलाई सोध्नुभयो भने उनीहरू कसैले पनि पुराना नेता फर्केको हेर्न चाहँदैनन् । त्यसैले हामी पनि उनीहरू फर्केको हेर्न चाहँदैनौँ ।

उनीहरूको राजनीतिक शैली र रणनीतिले फर्किहालेछन् भने नेपाली जनताले सहने छैनन् । त्यस्तो अवस्थामा हामी पक्कै पनि विरोध गर्नेछौँ । हामी उनीहरूलाई कतै पनि देख्न चाहँदैनौँ ।

अर्थात् तपाईंहरु जनताको मतलाई स्विकार्न समेत तयार हुनुहुन्न जस्तो पो देखियो !
होइन । यो जनताको मतको कुरा होइन । पुराना नेताहरू जे पनि गर्न सक्छन् । तिनीहरू त घटिया चोर जस्ता छन् । यिनीहरूलाई सुहाउने शब्द यही हुन सक्छ । आफ्नो शक्ति फर्काउन उनीहरू जुनसुकै हदसम्म पनि गिर्न सक्छन् । त्यसैले हामी अहिले उनीहरूलाई स्विकार्न सक्दैनौँ । उनीहरूले जनताको मत खरिद गर्न खोजेको, जनतालाई गुमराहमा राखेको सुन्दै र भोग्दै आएका छौँ ।

उनीहरूले त्यसैगरि निर्वाचन प्रभावित गर्ने प्रयास गर्नेछन् । त्यसैले उनीहरू जितेर आए पनि हामी उनीहरूलाई स्विकार्दैनौँ । हामी मान्दैनौँ । कुनै हालतमा मान्दैनौँ । यी राजनीतिक दलहरूले आफ्ना नेता फेरेर आएको अवस्थामा राम्रो मनसाय भएका युवाहरू विगतको गल्ती स्वीकार गर्दै आफ्नो एजेन्डा बोकेर आएको खण्डमा तथा उनीहरू फेरिएकै हुन भन्ने प्रमाणित भएको अवस्थामा भने स्विकार्न सकिन्छ ।

तर, त्यो पनि मुलुकको हितमा हुनुपर्छ । कुनै व्यक्ति वा दलको नभएर नेपाली जनताको हितमा हुनुपर्छ । यदि उनीहरू पुरै सुध्रिएर नेपाललाई राम्रो गर्ने नयाँ राजनीतिक विचारधारासहित आउँछन् भने हामी स्विकार्न सक्छौँ ।  

तपाईंहरु राजावादीहरूसँग सहकार्य गर्ने मामलामा के सोच्नुहुन्छ ?
राजा वा राजावादीहरूसँग सहकार्य गर्ने हाम्रो कुनै योजना छैन । कुनै एउटा झन्डा बोक्ने भन्दा पनि नेपाली जनताको रूपमा छलफलमा आउन उनीहरूलाई आह्वान गर्छौँ । हाम्रो देशको झन्डाले पुरै देशलाई एकीकृत गर्न सक्छ । बाँकी सबै झन्डाले नेपालीलाई विभिन्न विचारधाराको नाममा बाँडेका छन् । त्यसले देश ध्वस्त बनाएको छ । त्यही कारण हामीले लड्नुपरेको हो ।

दलको झन्डा बोक्नेहरू शक्तिका लागि हामीलाई विभाजन गर्दै थिए । आफ्नो फाइदाका लागि हामीलाई जुधाउँथे । हाम्रो दिमागमा गलत चेतना भरेर हामीलाई ‘ब्रेनवास’ गर्थे । अब त्यस्तो हुनेवाला छैन ।

राजावादीहरू पनि देशको राम्रो गर्नका लागि एउटै झन्डामुनि आउन चाहन्छन् भने अन्य राजनीतिक दलहरुसँग जस्तै हामी उनीहरूसँग पनि सहकार्य गर्न तयार छौँ । हामी सबैखाले जनतासँग सहकार्य गर्छौँ । तर, सबैले देशको झन्डा बोकेको हुनैपर्छ । हाम्रो देशको झन्डा भन्दामाथि कुनै दलको झन्डा देख्न चाहँदैनौँ ।  

तपाईंहरुले बनाउने भनेको नयाँ नेपालमा भारत र चीनजस्ता मुलुकहरूसँगको सम्बन्ध कस्तो हुन्छ ?
हामी हाम्रा छिमेकी फेर्न सक्दैनौँ । हाम्रा छिमेकीसँग सहकार्य गर्नै पर्छ । हामी सार्वभौम मुलुक हौँ । हाम्रो सार्वभौमसत्ताको सम्मान गरेको अवस्थामा हामी पनि हाम्रा छिमेकीको सार्वभौमसत्ताको सम्मान पक्कै गर्नेछौँ । तर, हाम्रो आन्तरिक मामलामा कुनै हस्तक्षेप भने हुनुहुँदैन । हामी हाम्रा छिमेकीहरूसँग राम्रो सम्बन्ध चाहन्छौँ ।

मैले ठट्टा गरेको होइन । मलाई केही डर छैन । मसँग कुनै विकल्प पनि त छैन । म त लड्छु । ३०–४० जना आए भने पनि लड्छु । मैले मेरो देश जोगाउनुछ । यो काम गर्न अहिले सकिएन भने कहिल्यै सकिन्न ।
मलाई लाग्छ विगतको सराकारले विदेश नीतिको क्षेत्रमा धेरै खराब काम गरेको छ । हाम्रा दुवै छिमेकी मुलुकबाट हाम्रोमा धेरै पर्यटकहरू आउनुहुन्छ । हामी उहाँहरूलाई नेपालमा सुरक्षित हुनुहुन्छ भन्न चाहन्छौँ । नीतिहरू बारे हामी छलफल गर्न सक्छौँ । त्यसलाई अझै राम्रो बनाउन सक्छौँ । हामीले यो चुनाव जितेपछि उहाँहरूलाई भेट्नुपर्छ ।

आन्दोलनका क्रममा दर्जनौँ युवाहरू मारिएका छन् । धेरैजसो त कलिला किशोरहरू थिए । आन्दोलनमा सहभागी केही मानिसले हिंसात्मक गतिविधि पनि गरेका छन् । नेताहरूलाई आक्रमण गरेका छन्, सरकारी भवनमा आगो लगाएका छन् । यस्तो हिंसाबारे तपाईं के भन्नुहुन्छ ?
हामीले हिंसा गर्न खोजेको होइन । त्यो हाम्रो चाहनै होइन । पहिलो गोली सरकारकै पक्षबाटै चलेको हो । हातमा ढुंगा बोकेका सर्वसाधारणलाई निशाना बनाइएको छ । हामीले हिंसा गर्न खोजेकै हैन । उनीहरूले हामीलाई मारेको हो । हाम्रो सरकारले भ्रष्टाचारको विरुद्ध आवाज उठाउँदा हाम्रो भविष्य जोगाउन लाग्नुको साटो हामीलाई मार्न लागेको हो । यो उनीहरूको रोजाई हो । उनीहरूले हिंसा रोजे ।  हामीले होइन ।

उनीहरूले हाम्रा कलिला भाइबहिनी मार्न थालेपछि हामीले त्यसको प्रतिरोध गरेका हौँ । यस्तो पिडा कुनै नेपालीले पनि सहेर बस्न सक्दैन । त्यस्तो निर्मम हत्या, लामो समयदेखिको दमनलाई नेपाली जनताले प्रतिवाद गरेको हो ।

आउने केही महिनाहरु थप राजनीतिक हिंसा हुनसक्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?
हुनसक्छ । किनभने उनीहरूले आफ्नो शक्ति जोगाउन धेरै खर्च गरेका छन् । तर, केही घण्टा वा केही दिनमै उनीहरूको सबैथोक सकिएको छ । उनीहरू क्रुद्ध छन् भन्ने मलाई थाहा छ । उनीहरू बदला लिन चाहन्छ भन्ने पनि थाहा छ । उनीहरूले हामीलाई दबाउने प्रयास गर्नेछन् तर उनीहरू फेरी उठ्न नसकुन् भनेरै त्यसअघि नै हामीले सम्पूर्ण नेपालीलाई एकताबद्ध गर्नुछ । उनीहरू नयाँ नेपाल बनाउनेमा लाग्दैनन् भन्नेमा त म शत प्रतिशत विश्वस्त छु । उनीहरूले सक्दैनन् ।

उनीहरू क्रुद्ध छन् भन्ने मलाई थाहा छ । उनीहरू बदला लिन चाहन्छन् भन्ने पनि थाहा छ । उनीहरूले हामीलाई दबाउने प्रयास गर्नेछन् तर उनीहरू फेरी उठ्न नसकुन् भनेरै त्यसअघि नै हामीले सम्पूर्ण नेपालीलाई एकताबद्ध गर्नुछ ।

उनीहरू वा तिनीहरू भन्दा तपाईं अघिल्लो सरकारलाई भन्दै हुनुहुन्छ कि कसलाई ? 
अघिल्लो सरकार, राजनीतिक नेताहरू, स्वार्थी राजनीतिज्ञहरू, मेरो देश बेच्नेहरू सबैलाई भन्दैछु ।

तपाईंले सामाजिक सञ्जालमा केही मानिसले तपाईंलाई पछ्याइरहेको लेख्नुभएको थियो । आफ्नो व्यक्तिगत सुरक्षाबारे कत्तिको चिन्तित हुनुहुन्छ ?
छैन । म डराएको छैन । यो आन्दोलनको अगुवाइ गर्ने तथा त्यसको जिम्मेवारी लिने म मात्रै छैन । म जस्ता धेरै मानिस छन् । मलाई मात्रै मारेर केही फरक पर्दैन । उनीहरू मलाई धम्काउन खोज्दैछन् । कसरी यस्तो हिम्मत गर्दैछन् भन्ने पनि बुझेको छैन । यस्तो आत्मविश्वास कहाँबाट आयो होला ? जे सुकै गर्न तयार मान्छेसँग जुध्दैछन् भन्ने उनीहरूलाई थाहा छैन होला ।

साँच्चै म मेरो देशका लागि जे पनि गर्न तयार छु । म देशका लागी मर्न पनि तयार छु । मैले ठट्टा गरेको होइन । मलाई केही डर छैन । मलाई मेरा भाइबहिनीहरू, नेपाली जनताहरुले जिम्मेवारी दिएका हुन । म उनीहरूका लागि आशा हुँ । मसँग कुनै विकल्प पनि त छैन । म त लड्छु । ३०–४० जना आए भने पनि लड्छु । हार मान्दिनँ । मैले मेरो देश जोगाउनुछ । यो काम गर्न अहिले सकिएन भने कहिल्यै सकिँदैन ।
अलजजिराबाट अनुवाद