गृहमन्त्री ओमप्रकाश अर्यालले भागेको भनेर आरोप लगाएका निवर्तमान ऊर्जामन्त्री दीपक खड्का सोमबार सार्वजनिक भएका छन् ।  जेनजी आन्दोलनका क्रममा जलाइएको बुढानीलकण्ठस्थित आफ्नो घरको भग्नावशेषबाट सार्वजनिक भएका उनले पत्रकार र शुभेच्छुकमाझ आफूमाथि लागेको आरोप र वर्तमान अवस्थाबारे धारणा राखे ।  सो क्रममा उनलाई सहभागीहरूले वर्तमान अवस्थाबारे प्रश्न समेत सोधे । जुन क्षणलाई फेसबुकमार्फत लाइभ समेत गरिएको थियो । प्रस्तुत छ, खड्कासँग गरिएको सवाल जवाफको सम्पादित अंश-

तपाईँ यहीँ देखिनुभयो, तर तपाईँलाई गृहमन्त्रीले भागेको आरोप लगाउनुभएको छ। यसको बारेमा के भन्नुहुन्छ? साथै, भदौ २३ गते जेनजीले भ्रष्टाचार र कुशासनविरुद्ध सुशासन कायम हुनुपर्छ भनेर जुन आन्दोलन गर्‍यो, त्यस विषयमा यहाँको भनाइ के छ?
प्रश्नका लागि साथीहरू सबैलाई धन्यवाद छ। सर्वप्रथम त शुभ दीपावलीको शुभ अवसरमा तमाम नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना ! सुख शान्ति, समृद्धि, अमनचयन कायम होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु।

जहाँसम्म २३ र २४ गतेको घटना र मुलुकमा देखिएको परिवर्तनका सन्दर्भमा यहाँहरूले राख्नुभएको समसामयिक विषय छ, हामी नेपालीहरूले धेरै खालका आन्दोलन र परिवर्तनहरू भोगिसकेका छौँ। पटक पटकको परिवर्तनमा नेपालीहरूको चाहना सुशासन कायम हुनुपर्छ, कानुनी राज्य स्थापित हुनुपर्छ र भ्रष्टाचार निर्मूल गर्नुपर्छ भन्ने देखिन्छ। यो नेपालीहरूको स्वाभाविक चाहना हो र आफ्नै देशमा खनीखुसी गरेर खान पाउने गरी समृद्ध हुने चाहना राख्नु स्वाभाविक कुरा हो। त्यसका लागि शासन सत्ता विरुद्ध बेला बखत आन्दोलन हुने र परिवर्तन हुने हामीले भोगी आएको विषय हो।

हिजो भन्दा आज पृथक् विषय के हो भने अहिले एकतन्त्रीय शासन व्यवस्थामा जस्तो लोकतन्त्रका निमित्त गरिएका आन्दोलन होइनन्। अहिले जेनजीहरूले सामाजिक सञ्जाल बन्द भएको र तमाम नागरिकहरू सामाजिक सञ्जाल मार्फत आफ्ना दैनिकी सञ्चालन गर्न थालेको अवस्थाले एउटा संयोगमा सडकमा आएका हुन् ।  त्यसरी सुरु गरिएको भन्ने बाहिर देखावटी रूपमा देखिन्छ। तमाम जेनजी भनेका पनि तपाईँ हाम्रै बच्चाहरू हुन्। तर अदृश्य रूपमा मुलुकको परिस्थिति फरक छ। नेपाल रहने कि नरहने स्थितिमा हामी छौँ।

हामीले लामो समय लगाएर संविधान निर्माण गर्‍यौँ। कानुनी राज्य स्थापित हुनुपर्छ, सुशासन कायम हुनुपर्छ र भ्रष्टाचार निर्मूल गराउनुपर्छ भनेर लाग्ने हाम्रो अभियान नै हो। त्यो हुनुपर्छ। तर यहाँ अदृश्य कुरा के छ भने नेपाल रहने कि नरहने? हामी नेपाली भएर बाँच्न पाउने कि नपाउने भन्ने अवस्थामा छौँ। त्यसकारणले यी घटेका घटनाहरूलाई एक ठाउँमा राखेर मुलुक हाम्रो सबैको हो र हामी नेपालीहरूले यसको संरक्षण गर्नुपर्छ, जगेर्ना गर्नुपर्छ भन्ने दायित्व बोध गर्दै सबै राजनीतिक दलहरूले एकै ठाउँ बसेर पहिले मुलुकको संरक्षण गर्ने आवश्यकता छ।

अलिकति फरक के मात्रै भन्न खोजेको हो भने मुलुक साँच्चै अप्ठ्यारो अवस्थामा छ। यस्तोबेलामा सबै राजनीतिक दलहरू एक ठाउँमा हुनुपर्छ र लोकतन्त्रको जगेर्ना गर्न सक्नुपर्छ। संविधानमा नमिलेका कुराहरू संशोधन गरेर लिएर जान सकिन्छ। आवधिक निर्वाचन हामीले परिकल्पना गरेर निर्माण गरेको विषय हो। यदि जनताको चाहना आवधिक निर्वाचनको समय अगावै हो भने पनि राजनीतिक दलहरू तयार भएकै देखिन्छ। तर वातावरण हो कि होइन ? कुन अवस्थामा छ? मुलुक कहाँ पुग्दैछ ? भन्ने कुराको गम्भीर चिन्ता, चिन्तन, छलफल हुन जरुरी छ।

जहाँसम्म व्यक्तिगत कुराहरू यहाँहरूले जोड्नुभएको छ, मलाई गृहमन्त्रीले भागेको आरोप लगाउनुभएको सन्दर्भमा माननीय गृहमन्त्रीज्यू कानूनको विद्यार्थी हुनुहुन्छ रे भन्ने मैले सुनेको छु। कानुनी राज्य विषयमा राम्रै जान्नुहुन्छ। म के कारणले भाग्नुपर्छ ? मैले गरेका निर्णयहरू, म पदमा हुँदा वा नहुँदा गरेका व्यवहारहरू र मेरो राजनीतिक पृष्ठभूमि हेर्नुभयो भने म त व्यवसाय गरेर आत्मनिर्भर भएर राजनीति सुरु गरेको मान्छे हुँ। सायद भ्रष्टाचार विरुद्धमा सबभन्दा बढी अभियानकै रूपमा लाग्ने मान्छे हुँ म। म अरूको त भन्न सक्दिनँ, तर मेरो पार्टीका मान्छे कोही भाग्दैनन्, भाग्नुपर्ने कुनै कारण छैन।

तपाईंको आफ्नै घर तोडफोड भयो, अहिले नागरिकको हैसियतमा हुनुहुन्छ। तपाईंका लागि सरकारको दायित्व के हो र २३/२४ गतेका घटनामा सरकारले के गर्नुपर्छ?
मेरो घरको अवस्था तपाईंहरूले देख्नुभएको छ। म त एउटा व्यक्ति न हुँ। दायित्वमा बस्दा आफ्नो भूमिका निर्वाह गर्ने सिलसिला एउटा होला। तर म एउटा नागरिक हुँ। नागरिकको अधिकार हाम्रो संविधानले व्यवस्था गर्‍या छ। कानुनी राज्यमा म एक नागरिक हुँ।

२३ गते युवा ग्रुपले गरेका आन्दोलनमा 'घुसपैठ भयो' भनेर २३ गते बेलुका नै मन्त्रिपरिषद्को मिटिङ बस्या छ र त्यसको छानबिनका लागि निर्णय गर्‍या छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा बसेको मन्त्रिपरिषद्को निर्णयमा नै घुसपैठ भएको भनेर भनिएको छ । 'हाम्रा पुलिसले यसरी आफ्ना बच्चाहरू छानी छानी टाउकोमा सात वटा आठ वटा गोली हान्ने क्षमता राख्दैनन्' भन्ने छलफल भएको छ। त्यसको छानबिन हुनुपर्छ।

दोस्रो, हजारौँको सङ्ख्यामा हातहतियार सहित जेलबाट मान्छे भागेका छन्, पुलिसको हतियार लुटिएको छ। कसरी मारिए ? त्यसको छानबिन हुनुपर्ला, राज्यले गर्ने कुरा हो यो। २४ गते २३ गतेको एउटा शृङ्खला हो। सो दिन एकैचोटी देशभरि तीन घण्टाभित्र यो मुलुक समाप्त पार्ने गरी अभियान चलाइयो। यो के कारणले सिर्जित भयो होला? कसरी सम्भव रह्यो होला? यसका विषयमा तमाम नागरिकहरूले चासो राख्नु, तपाईँहरू जस्ता पत्रकारले खोजी गर्ने र सरकारमा जो भए पनि कार्यान्वयन गर्ने होला नि त ! त्यसका विषयमा के भा'छ मेरो प्रश्न छ।

तपाईँमाथि व्यक्तिगत रूपमा भदौ २४ गते तपाईंको घरमा डलरै डलर भेटियो, पैसै पैसा भेटियो भन्ने पनि आरोप छ। यसमा के भन्नुहुन्छ?
मेरो घरमा कति पैसा थियो, कति चाहिँ विदेशी पैसा थियो भनेर मैले पुलिसलाई दर्ता गराइसकेको छु। मेरो त्यो पनि खोजी गरोस् साथीहरूले भन्छु म। जहाँसम्म यहाँ उडाएर फोटो खिच्या थ्यो नि, त्यो मैले दसैँका लागि लिएर राखेको पैसा थियो। केही नयाँ नोटहरू २० का ५० का थिए। त्यही नोट फुर्र उडाएर सँगसँगै फोटो खिचिराख्या थियो, यो प्लानमा थियो। चरित्र हत्या गर्नलाई प्लान गरियो।

दीपक खड्कासँग दुई चार लाख पैसा नहुन सक्छ भनेर तपाईँहरू विश्वास गर्नुहुन्छ ? मेरो पृष्ठभूमि हेर्नुभएको छ, मेरो ब्याकग्राउण्ड तपाईँहरूलाई थाहा छ। म त्यो पृष्ठभूमिबाट आएको मान्छे छु र मेरो जे संरचना छ, व्यावसायिक संरचना हो। मन्त्री हुनु, राजनीति गर्नु भन्दा पहिले तयार गरेको संरचना हो।

यो तोडफोडको घटना व्यवस्थामाथिको आक्रमण थियो कि देशमाथिको आक्रमण?
यो देशमाथिको आक्रमण हो। व्यवस्थामाथि होइन। मैले यसलाई सुरुमै भन्या छु, देश रहने कि नरहने अवस्थामा छौँ अहिले पनि। त्यो जोगाउनुपर्छ। त्यो जोगाउनका लागि राष्ट्रिय एकता हो। सबै पार्टीहरू, राजनीतिक दलहरू, बुद्धिजीवीहरू एक ठाउँ पुगिएन भने देश नरहने स्थितिमा पुग्छ।

जहाँसम्म तोडफोड, आगजनी, अपराधका कुराहरू छन्, राज्यसँग कानुन छ, त्यसलाई नियन्त्रण गरोस्। त्यो राज्यको दायित्व हो। यो कसले गरायो भन्ने कुरा छानबिनले पत्ता लगाउनुपर्छ। त्यस्ता उत्तेजित कार्य गर्ने ग्रुपलाई राज्यले नियन्त्रण गर्नुपर्छ । जहाँसम्म हामीसँगको कुरा जोडिएको छ- छानबिन गरे हुन्छ नि। अहिले सरकारमा बस्नेको पनि गरौँ, हिजो बस्नेका पनि गरौँ । अझ अघिल्लो चोटि गर्ने जन भ्रष्टाचारका कुरा त यो दिनको हुँदैन भन्ने छैन नि त, हुनुहुँदैन नि। त्यसो भएको कारणले त्यस्ता कुराहरू राज्यले गर्न सक्छ, हामी राज्यलाई सहकार्य गर्छौँ।

तपाईंलगायत अन्य नेताहरूको पनि सम्पत्ति छानबिन सुरु गरेको भनिएको छ, यसमा के भन्नुहुन्छ?
मलाई यस विषयमा केही पनि जानकारी छैन। तर गरोस्, हाम्रो सहयोग रहन्छ। कुन ढङ्गले गर्छ, गरिसकेपछि नै थाहा हुन्छ— निष्पक्ष छ कि छैन ? त्यहाँ भित्र केही घुसपैठ छ कि फेरि? त्यो त तपाईँहरूले देखिहाल्नुहुन्छ नि। मैले मात्रै बोल्नुपर्छ भन्ने के छ र ? समाज बोल्छ, तपाईँहरू बोल्नुहुन्छ।

म ग्राउण्डबाट आएको मान्छे। म तपाईँहरूलाई भन्दिऊँ, म चार कक्षा पढ्दादेखि आफ्नो खर्चमै आफैँ पढ्ने गरेर आएको। मेरो बुबा आमा जिउँदै हुनुहुन्छ, सोधे हुन्छ। उहाँहरूले १ रुपैयाँ दिनुपरेको छैन, मैले अंशका नाममा १ रुपैयाँ ल्याएको छैन। 

अब कानुन छ, त्यसले कार्यान्वयन गर्ला । उमेर छ फेरि कमाउँला। राजनीति गर्दा बिपीहरूले जनतालाई रैतीबाट नागरिक बनाउने अभियानमा लाग्दा पूरा जीवन जेलमा बिताउनु पर्‍यो। त्यो पढेरै आएको छु । 

अहिलेको सरकारमा तपाईंले कारबाही गरेको व्यक्ति उर्जामन्त्री हुनुहुन्छ । प्रतिशोधको आशंका गर्नुभएको हो ?
म यस्तो भ्रमित कुरा गर्न चाहन्नँ। सरकारले के गरेको छ, के गरेको छैन उसको गतिविधिले थाहा हुँदै जाने कुरा हो । आज केही गरेकै छैन भने मैले उहाँहरूलाई कसरी दोष लगाऊँ ? कपोलकल्पित कुरा मैले गर्नु हुँदैन। म पहिला व्यवहार हेर्छु । अहिले सरकारले निर्वाचन घोषणा गरेको छ, मुलुक सम्हाल्ने दायित्वमा छ। यो एउटा परिस्थितिजन्य सिर्जित सरकार हो। यसका निश्चित म्यान्डेटहरू छन्।

ओली नेतृत्वको सरकारमा थुप्रै मन्त्रीहरू हुनुहुन्थ्यो, तर तपाईं बढी निशानामा पर्नुभयो नि ?
यसलाई राम्रो पक्ष भन्ने कि नराम्रो पक्ष भन्ने? म संसारभरि घुमिराख्या मान्छे हो। राज्यले तिमीले यो गल्ती गर्‍यौ, तिमी यहाँभन्दा कहीँ जान पाउँदैनौँ भनेर नभनेसम्म त म जहाँ पनि जान सक्छु नि। अमेरिकाको हल्ला चलाइयो। अमेरिका त म २०औँ चोटीभन्दा बढी गइसकेँ। कतै गएकै छैन त। इन्डिया गएँ। म पनि त मान्छे हुँ, मेरो पनि परिवार छ, सानो ५ वर्षको बच्चा छ। मानवीय कुरा पनि त हेर्नुपर्छ नि।

यो आन्दोलन पछाडि आजसम्म करिब डेढ महिनाको बिचमा तपाईं कहाँ कहाँ हुनुहुन्थ्यो? 
२३ गते बेलुकाबाट आर्मी क्याम्पमा बसियो। त्यहाँ सात आठ दिन जति बसियो होला। त्यस पछाडि आएर चार पाँच दिन यहीँ बसेको तपाईँहरूले देख्नुभएको थियो। त्यस पछाडि तराईतिर दुई चार दिन बस्यौँ। त्यस पछाडि अलि ज्वरो आउने भएपछि म इन्डिया लागें। त्यसपछि पूरै हस्पिटलमा छु। इन्डियामा बस्ने क्रममा त्यो रिपोर्ट नआउन्जेल एक दिन एउटा मन्दिर गएँ।

त्यहाँ बस्दाखेरि पोलिटिकल भेटघाट त हुने नै भो । केही मन्त्रीहरूसँग सम्बन्ध छ। त्यस पछाडि मिडियामा धेरै कुरा देखिसकेपछि साथीहरू धेरै आत्तिनुभयो कि क्या हो भनेर म फर्केँ।

अहिले तपाईँ कुन मनोदशाबाट गुज्रिरहनुभएको छ? तपाईंलाई अहिले के लागिरहेको छ?
केही पनि छैन। म एउटा अति सामान्य परिवारबाट उठेको मान्छे हो। म सेल्फ मेड मान्छे हुँ। म यस्ता धेरै दुःख, धेरै चुनौतीहरू र धेरै पटक मरेर पनि बाँचेको मान्छे हो। मैले यो सब कुराहरू व्यक्तिगत जीवनमा भोगेको छु। त्यसकारणले मलाई यस्ता कुरा सामान्य लाग्छ।  

तपाईं सङ्खुवासभाबाट राजनीतिक यात्रा सुरु गर्नुभयो। जिल्लावासी मतदाताहरूलाई के भन्नुहुन्छ?
हामी नेपालीहरूको जति दुःख भए नि चाडबाडलाई चाहिँ विशेष प्राथमिकता दिन्छौँ। त्यसैले सङ्खुवासभावासी मात्रै होइन, तमाम नेपालीहरूलाई मैले शुभकामना व्यक्त गर्छु। मप्रति उहाँहरूको विश्वास अटल छ भन्ने मेरो विश्वास छ। भोलि पनि म उहाँहरूसँगै रहने हो।