
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच यो वर्ष भेट हुने ‘उच्च सम्भावना’ रहेको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शुक्रबार दाबी गरेका छन्।
‘सम्भावना निकै उच्च छ,’ रुबियोले मलेसियाको क्वालालम्पुरमा भेला भएका पत्रकारहरूलाई भने, ‘मलाई लाग्छ, दुवै पक्ष यो भेट भएको हेर्न चाहन्छन्।’
रुबियोले सम्भावित बैठकको मिति उल्लेख गर्न नसकिने बताए। उनले ठोस उपलब्धि हासिल गर्न यस्तो बैठकअघि ‘सही वातावरण’ निर्माण गर्न आवश्यक रहेको बताए।
उनले शुक्रबार क्वालालम्पुरमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग पहिलो प्रत्यक्ष भेटवार्ता पनि गरे। यो भेटवार्ता अमेरिका र चीनले व्यापारिक तनावलाई किनारा लगाउँदै एसियामा प्रभावका लागि प्रतिस्पर्धा गरिरहेको बेला भएको हो । लगभग एक घण्टा चलेको उक्त बैठक ‘रचनात्मक’ र ‘सकारात्मक’ भएको रुबियोले जानकारी दिए।
‘हामी दुई ठूला र शक्तिशाली देश हौं, र सधैं केही मुद्दाहरूमा असहमति रहनेछ,’ रुबियोले भने, ‘तर मलाई लाग्छ, यो निकै रचनात्मक र सकारात्मक बैठक थियो। हाम्रा लागि धेरै काम गर्न बाँकी छ।’
रुबियो र वाङ दुवैले यो हप्ता मलेसियाको राजधानीमा क्षेत्रीय बैठकहरूमा भाग लिएका थिए। बैठकमा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) का विदेशमन्त्रीहरू रूस, जापान, दक्षिण कोरिया र अष्ट्रेलियालगायत क्षेत्रीय साझेदारहरूसँग भेला भएका थिए।
यो वर्षको सुरुदेखि नै ट्रम्प सत्तामा फर्किएपछि अमेरिका र चीनबिच व्यापार सम्बन्ध तनावपूर्ण रहेको छ। गत महिना लन्डनमा भएको वार्तामा दुवै पक्ष व्यापारिक ढाँचामा सहमत भएपछि तनाव केही कम भएको थियो। गत मेमा भएको ९० दिनको युद्धविराम आगामी अगस्टमा समाप्त हुने तय भएको छ।
चिनियाँ अधिकारीहरूले अमेरिकी करको निन्दा गरेका छन्। बेइजिङले यदि अमेरिकाले चिनियाँ हितविपरीत अन्य व्यापार साझेदारहरूसँग सम्झौता गरेमा प्रतिकार गर्ने धम्की पनि दिएको छ। तर, दुवै पक्षले वाङ र रुबियोबिच को बैठकलाई सकारात्मक र उत्पादक भएको बताएका छन्। यो भेटलाई तनाव बढाउनुको सट्टा सहयोग विस्तार गर्ने दिशामा एक कदमका रूपमा लिइएको छ।
शुक्रबार रुबियोले वाङसँगको भेटले दुवै पक्षलाई सँगै काम गर्न सकिने क्षेत्रहरू पहिचान गर्ने अवसर दिएको बताए। तर, उनले सम्भावित सहयोगका क्षेत्रहरूको विस्तृत विवरण भने दिएनन्। ‘हाम्रो सन्देश के हो भने, यहाँ रणनीतिक स्थिरता प्राप्त गर्ने र हामीले सहकार्य गर्न सक्ने क्षेत्रहरू पहिचान गर्ने अवसर छ। साथै, राम्रो सञ्चार र विश्वास निर्माण गर्ने काम गर्ने अवसर पनि छ,’ उनले भने।
रुबियोले मिडियासँग कुरा गरेपछि चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा शुक्रबारको बैठकलाई ‘सकारात्मक, व्यावहारिक र रचनात्मक’ भनिएको छ। दुवै पक्षले ‘सबै तह र क्षेत्रमा कूटनीतिक च्यानलहरू सुदृढ गर्ने र संवाद तथा सञ्चारलाई बलियो बनाउने’ सहमति जनाएको विज्ञप्तिमा उल्लेख छ। वाङले वासिङ्टनलाई चीनलाई ‘वस्तुनिष्ठ, तर्कसंगत र व्यावहारिक दृष्टिकोण’ले हेर्न र ‘समान तरिकाले’ व्यवहार गर्न आह्वान दोहोर्याएको पनि उल्लेख छ। एजेन्सी







Facebook Comments