
काठमाण्डाैँ । विश्व स्वास्थ्य संगठनले (डब्ल्यूएचओ) दक्षिण-पूर्वी एसिया क्षेत्रीय प्रमुख साइम वाजेदमाथि ठगीको आरोप लागेपछि उनी 'बिदामा' रहेको घोषणा गरेको छ।
डब्ल्यूएचओले जेनेभामा रहेको मुख्यालयको एक वरिष्ठ अधिकारीलाई अन्तरिम प्रमुख नियुक्त गरेको छ।
वाजेद गत वर्ष भएको विद्रोहपछि भारत भागेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी हुन्।
सन् २०२३ मा भएको निर्वाचनमा नेपालका शम्भु प्रसाद आचार्यलाई हराएर उनी डब्ल्यूएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रीय प्रमुख बनेकी थिइन्।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले गत हप्ता कर्मचारीहरूलाई पठाएको इमेलमा क्षेत्रीय सदस्य राष्ट्रहरूलाई वाजेदको बिदाको बारेमा जानकारी गराएको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।
वाजेदले नयाँ दिल्लीमा रहेको दक्षिण-पूर्वी एसिया क्षेत्रीय कार्यालयको नेतृत्व गर्थिन्।
गत अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहबाट हसिना पदच्युत भएकी थिइन्। त्यसपछि मार्चमा बंगलादेशको भ्रष्टाचार विरोधी आयोगले वाजेदमाथि ठगी, जालसाजी र शक्तिको दुरूपयोग गरेको आरोप लगाएको थियो।
उनी भारतमा रहेको आफ्नो जागिरबाट फर्किएमा उनलाई गिरफ्तार गर्ने सम्भावना छ।
डब्ल्यूएचओले एक विज्ञप्ति निकाल्दै वाजेद हाल बिदामा रहेको र उनको स्थानमा जेनेभा मुख्यालयकी सहायक महानिर्देशक क्याथरिना बोहमे हाल कार्यकारी प्रमुखको रूपमा काम गरिरहेकी बताएको छ।
बंगलादेशको भ्रष्टाचार विरोधी आयोगले गत महिना डब्ल्यूएचओलाई पत्र लेख्दै वाजेदलाई बंगलादेशी अदालतमा उपस्थित गराउन र गम्भीर फौजदारी अपराधमा फरार व्यक्तिलाई जे गर्नुपर्ने हो, त्यसो गर्न अनुरोध गरेको थियो। त्यसपछि डब्ल्यूएचओले वाजेदलाई बिदामा राखेर बोहमेको नियुक्ति गरेको हो।







Facebook Comments