काठमाडौँ । कुनै बेला लगातार १८ वर्षसम्म विश्वकै सबैभन्दा धनी व्यक्ति रहेका बिल गेट्सको सम्पत्ती पछिल्ला केही दिनमै ५१ अर्ब डलरले घटेको छ । माइक्रोसफ्टका सह-संस्थापक गेट्सले परोपकारी कार्यहरूलाई बढावा दिएपछि उनको सम्पत्तिमा भारी गिरावट आएको हो ।

ब्लुमबर्गको अर्बपति सूचीअनुसार उनको सम्पत्ति ५१ अर्ब डलरले घटेर १२४ अर्ब डलरमा झरेको छ । माइक्रोसफ्टको सह-संस्थापकका रूपमा जुलाई ३ सम्म उनको सम्पत्ति १७५ अर्ब डलर थियो । भारी गिरावटसँगै उनी अहिले अर्बपतिको १२ औँ स्थानमा आइपुगेका छन् ।

ब्लुमबर्गका अनुसार मंगलबारसम्म गेट्सको सम्पत्ति थप घटेर ११७ अर्ब डलरमा झरेको छ । एक समय विश्वका सबैभन्दा धनी व्यक्ति बिल गेट्सलाई अहिले माइक्रोसफ्टकै उनका पूर्वसहकर्मी स्टिभ बालमरले समेत पछि पारेका छन् । लस एन्जलस क्लिपर्सका मालिक बालमर अहिले १७३ अर्ब डलरसहित विश्वका पाँचौँ धनी व्यक्ति बनेका छन् । सूचीको शीर्ष स्थानमा टेस्ला एवं स्पेसएक्सका संस्थापक इलन मस्क छन् । उनको कुन सम्पत्ती ३६० अर्ब डलर छ ।

गेट्सले आगामी दुई दशकमा आफ्नो ९९ प्रतिशत सम्पत्ती दान गर्ने घोषणा गरेपछि उनको सम्पत्ति घट्न थालेको हो । उनले ‘धनी भएर नमर्ने’ प्रतिबद्धता दोहोर्‍याउँदै आएका छन् । सन् २०४५ को डिसेम्बर ३१ सम्ममा उनले पूर्वपत्नी मेलिन्डासँग मिलेर स्थापना गरेको गेट्स फाउन्डेसन बन्द गर्नुअघि आफ्नो ९९ प्रतिशत सम्पत्ति दान गर्ने घोषणा गरेका छन् । उनले मे ८ को एक ब्लग पोस्टमा लेखेका थिए, ‘मानिसहरूले म मरेपछि मेरोबारे धेरै कुरा भन्नेछन्, तर उनी धनी भएर मरे भन्ने कुरा नभनुन् भन्ने चाहन्छु ।’

गेट्सले आफ्नो फाउन्डेसनमार्फत विकासोन्मुख देशहरूमा झाडापखाला र निमोनियाजस्ता सजिलै उपचार गर्न सकिने रोगहरूका लागि खोप वितरण गर्दा त्यसले पारेको प्रभाव देखेर आफ्नो सम्पत्ति दान गर्ने निर्णयमा पुगेको बताएका छन् । युक्रेन र इजरायलमा जारी द्वन्द्वका कारण अमेरिका र युरोपेली देशहरूले अन्य क्षेत्रमा दिने सहायता कटौति गर्दा विश्वव्यापी रूपमा भइरहेको परोपकारी र मानवीय कार्यको प्रगतिमा बाधा पुगेको बिल गेट्सको भनाइ छ । यस्तो अवस्थामा आफूले स्रोतसाधन नथुपारी समाजसेवामा लगाउने निर्णय गरेको उनले बताएका छन् ।

गेट्स र उनकी पूर्वपत्नी मेलिन्डाले सन् २००० मा आफ्नो फाउन्डेसन स्थापना गरेका थिए । आफूहरूको मृत्युपछि पनि परोपकारी कार्य जारी राख्ने उदेश्यले फाउन्डेेसन स्थापना गरेको उनीहरूको भनाइ थियो । विश्वका ठूला परोपकारी संस्थाहरूमध्ये एक, यस फाउन्डेसनले स्थापनाकालदेखि अहिलेसम्म १०० अर्ब डलरभन्दा बढी दान गरिसकेको जनाएको छ । (एजेन्सीकाे सहयाेगमा)