
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै नयाँ परमाणु संयन्त्र बनाउने प्रयास नगर्न इरानलाई चेतावनी दिएका छन् । त्यस्तो प्रयास गरिए अमेरिकाले बमबारी गरी ध्वस्त बनाइदिने उनले बताएका छन् ।
ट्रम्पले अमेरिकी सैन्य आक्रमणबाट इरानका तीन परमाणुस्थल पूर्ण रूपमा नष्ट गरिएको पनि दोहोर्याए । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले इरानका तीनवटै परमाणुस्थल पूर्ण रूपमा नष्ट भएको भन्दै तिनलाई पुनः सञ्चालन गर्न वर्षौं लाग्ने जिकिर गरे ।
उनले इरानले नयाँ परमाणु संयन्त्र बनाउने खोजे अमेरिकाले तिनलाई पनि नष्ट गर्ने स्पष्ट पारे । गएको जुन २१ मा अमेरिकाले इरानमा ‘मिडनाइट ह्यामर अपरेसन’अन्तर्गत आक्रमण गरेको थियो । त्यसक्रममा फोर्डो परमाणुस्थल अधिकांश नष्ट भएको बताइएको थियो । तर, अरू दुई परमाणुस्थल नतान्ज र इस्फहान नष्ट नभएको सूचना ‘लिक’ भएको थियो ।
यसैबीच, इरानका राष्ट्रपति मसूद पेजेशकियनले शान्तिपूर्ण उद्देश्यका निम्ति परमाणु ऊर्जा प्रयोग गर्ने आफ्नो देशको वैध अधिकारलाई दोहोर्याएका छन् । उनले इरानीलाई आफ्नो कानुनी अधिकारबाट वञ्चित गर्नु पूर्ण रूपमा अस्वीकार्य भएकामा जोड दिए ।
इरानको सरकारी मिडिया इर्नाका अनुसार, शनिबार दिउँसो आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिनयानसँग टेलिफोन वार्तामा पेजेशकियनले इरान अन्तर्राष्ट्रिय कानुनप्रति प्रतिबद्ध भएको र आफ्ना परमाणु गतिविधिको पारदर्शितामा विश्वस्त रहेकामा जोड दिए ।







Facebook Comments