
सुरज घिमिरे
सामान्यतया बौद्ध–अर्थशास्त्र दुई शब्द मिलेर बनेको छ । पहिलो बौद्ध र अर्को अर्थशास्त्र । यस सन्दर्भमा आर्थिक गतिविधिहरूमा बौद्ध विचारहरूको प्रयोग नै बौद्ध अर्थशास्त्र हो । अझ स्पष्ट रूपमा भन्ने हो भने स्रोतसाधनको सीमितताका बाबजुद पनि भौतिक संसारमा व्यक्ति र समाज दुवैले कसरी शान्ति र सन्तोष प्राप्त गर्न सक्छन् भन्ने सन्दर्भका आर्थिक गतिविधिसँग सम्बन्धित विषय नै बौद्ध अर्थशास्त्र हो । सन् १९७३ मा इ. एफ. सुमाकरको पुस्तक ‘स्मल इज ब्युटिफुल’ प्रकाशनपछि बौद्ध अर्थशास्त्रको अवधारणा अगाडि आएको हो । यसमा अर्थशास्त्रलाई आध्यात्मिक एवम् दार्शनिक दृष्टिकोणबाट विश्लेषण गरिन्छ, यसले आर्थिक गतिविधिलाई मान्छेको मनोविज्ञानका साथै भावनाहरूबाट परीक्षण गर्ने कुराको वकालत गर्छ ।
हामीले पढ्दै आएको अर्थशास्त्रमा लोभ र इच्छाले काम गर्छ । यसले मानिसमा वस्तु तथा सेवा प्रात गर्ने संघर्षको जन्म हुन्छ, जसले माग बढाउँछ र योसँगै उत्पादन पनि बढ्दै जान्छ । यसरी परम्परागत अर्थशास्त्रले माग र पूर्तिले बजारलाई अगाडि बढाउँछ भन्ने मान्यता राख्छ । तर, यस सन्दर्भमा बौद्ध अर्थशास्त्रले भने फरक दृष्टिकोण राख्छ । यसमा मानिसका लोभ र इच्छा (तृष्णा) लाई नियन्त्रण गर्न उत्प्रेरित गरिन्छ, जसले गर्दा वस्तु तथा सेवा प्राप्तिको संघर्षलाई कम गर्न सहयोग गर्छ । अतः बौद्ध अर्थशास्त्रमा चाहनालाई भन्दा पनि आवश्यकतालाई बढी प्राथमिकता दिइन्छ । बौद्ध अर्थशास्त्रले उपभोग र उत्पादन दुवैमा संयमता अपनाउन सिकाउँछ ।
वास्तवमा उपयोगिता र खुसी दुवै फरक कुरा हुन् भन्ने कुरा बौद्ध अर्थशास्त्रले बताउँछ । परम्परागत अर्थशास्त्रले बढी उपभोगबाट बढी सन्तुष्टि प्राप्त गर्न सकिने मान्यता राख्छ, जसलाई बौद्ध अर्थशास्त्रले ठाडै अस्वीकार गर्छ । न्यून उपभोगबाट अधिक सन्तुष्टि प्राप्त गरी खुसी रहन सिकाउने नैतिक अर्थशास्त्र नै बौद्ध अर्थशास्त्र हो ।
सामान्यतया अर्थशास्त्र नाफा अधिकतम गर्ने, उत्पादनका साधनको कार्यक्षमता बढाउने र लागत घटाउन उद्यत हुन्छ । त्यसैले आर्थिक वृद्धि र नाफामा केन्द्रित हुँदा मानव कल्याणलाई समेत परम्परागत अर्थशास्त्रले बिर्सने गरेको आरोप बौद्ध अर्थशास्त्रीहरूको छ । परम्परागत अर्थशास्त्रको विचारविपरीत बौद्ध अर्थशास्त्रले चाहनामाथि नियन्त्रण गर्दै फजुल खर्च, अत्यधिक उपभोग र स्रोतको अति प्रयोगजस्ता कार्यहरूलाई हतोत्साहित गर्न प्रोत्साहन गर्छ । साथै, साधनहरूको संयम उपभोगमा ध्यान दिन सुझाउँछ । अतः बौद्ध अर्थशास्त्रले उपभोग र उत्पादनलाई नभई मानिस र मानिसको खुसीलाई प्राथमिकता दिन्छ ।
त्यसो त उपभोगलाई मानव जीवनको आधारस्तम्भ मानिन्छ । सामान्य बुझाइमा यसलाई इन्द्रिय सुख, भोग, सम्पत्ति र वस्तुगत सुविधाको आस्वादन गर्ने क्रिया मान्न सकिन्छ । तर, अर्थशास्त्रमा यसलाई आवश्यकता पूर्तिका निम्ति वस्तु तथा सेवामा रहेको उपयोगिताको गुण ग्रहण गर्ने कार्यका रूपमा व्याख्या गर्न सकिन्छ । आम मानिसको भाषामा भन्ने हो भने उपभोग जीवनको आधारभूत आवश्यकता पूरा गर्ने, समाजलाई प्रगतितिर उन्मुख गराउने र व्यक्तिगत सुखभोगको साधन हो । आधुनिक भोक्तावादी समाजमा उपभोगलाई जीवनको लक्ष्य नै बनाइएको छ, जहाँ अधिक सम्पत्ति र अधिक इन्द्रिय सुख नै सफलताको रूपमा अथ्र्याउने गरिन्छ ।
बौद्धदर्शनले उपभोगलाई यसरी सीमित र सतही रूपमा हेर्दैन । बरु उपभोगको विशिष्ट र दार्शनिक अर्थमा परिभाषित गरिन्छ । बौद्धदर्शनले व्यक्तिगत चाहना र तृष्णाका कारण उपभोग बढ्दै जान्छ भनी व्याख्या गर्छ । बौद्धदर्शनअनुसार असंयमित र अनियन्त्रित उपभोग नै मानिसको दुःख, असन्तोष र पुनर्जन्मको चक्रको मुख्य कारण हो । उपभोगलाई साध्यभन्दा पनि साधनको रूपमा हेर्नुपर्छ भन्ने मान्यता नै बौद्ध अर्थशास्त्रको निष्कर्ष हो । बौद्ध शिक्षाले उपभोगलाई सन्तुलित बनाउन सिकाउँछ भने यस्तो कार्यमा जागरुक र जिम्मेवार बनाउने तरिका बताउँछ । यसैबाट वास्तविक सन्तुष्टि र आन्तरिक शान्ति प्राप्त हुन्छ भन्ने बौद्ध मान्यता रहेको छ ।
बुद्धको जीवनलाई हेर्ने हो भने पनि उपभोगको दुवै चरमबाट अगाडि बढ्दै मध्यमार्गमा आएर अडिएको देखिन्छ । मध्यमार्गबाट उत्प्रेरित उपभोग नै बौद्ध उपभोग हो । राजकुमार सिद्धार्थको रूपमा रहँदा सिद्धार्थ गौतमलाई सबै प्रकारको भौतिक सुख, विलासिता र उपभोगको अनुभव थियो । उनको बाल्यकाल र युवावस्था रम्य, सुरम्य र शुभ गरी तीनवटा विलासी राजमहलमा बित्यो । यति मात्र होइन, सिद्धार्थको खुसीका लागि दरबारमा नर्तकीहरूको व्यवस्था गरिएको थियो । गीत सङ्गीतको पनि चाँजोपाँजो मिलाइएको थियो । राजकुमारको जीवन बिताउँदा सिद्धार्थले चरम भौतिक सुखको अनुभव गरे, तर यसले सिद्धार्थलाई आन्तरिक रूपमा सन्तुष्ट पार्न सकेन; अर्थात् सुख दिन सकेन ।
दुःख अन्त्यको ज्ञानका निम्ति सिद्धार्थले गृहत्याग गरे । भिक्षुको जीवन बिताउन थाले । उनले कुनै पनि किसिमको आहार ग्रहण गरेनन् । सिद्धार्थले दुष्करचर्या गरे । उनले आफूलाई अत्यधिक कष्ट दिए, जसले गर्दा उनी शारीरिक रूपमा कमजोर पनि भए । यसो गर्दासमेत उनले वास्तविक ज्ञान प्राप्त गर्न सकेनन् । वास्तवमा शारीरिक कष्टले मात्र आन्तरिक दुःखको समाधान हुँदैन, बरु यसले मनलाई अझ अशान्त बनाउँछ भन्ने निष्कर्षमा उनी पुगे । त्यसैले सिद्धार्थले सुजाताले दिएको खीर ग्रहण गरी बुद्धत्व प्राप्तिका निम्ति ध्यान गर्न थाले । नभन्दै उनले बोधी लाभ गर्न सफल भए । यसैबाट उनलाई मध्यमार्गको ज्ञान प्राप्त भयो ।
बुद्धत्व प्राप्त गरिसकेपछिको पहिलो उपदेश अर्थात् धम्मचक्कप्पवत्तन सुत्तमा बुद्धले दुःख निवारणका लागि मध्यम मार्ग (मज्जिमापटिपदा) अपनाउन आग्रह गरेका छन् । बुद्धले दुई अति अर्थात् कामसुखल्लिकानुयोग र अत्तकिलमथानुयोग दुवैलाई अस्वीकार गर्दै मध्यम मार्ग अपनाउन आग्रह गरेका हुन् । वास्तवमा काम अर्थात् इन्द्रिय विषयहरू (आँखा, कान, नाक, जिब्रो, छाला) मार्फत प्राप्त हुने भौतिक सुख क्षणिक हुन्छ । इन्द्रिय सुखमा रमाउने, विलासिता र भोग–विलासमै जीवन बिताउने अभ्यासले दीर्घकालीन सुख दिन सक्दैन । यदि दिन्थ्यो भने वास्तविक सुख प्राप्तिका निम्ति सिद्धार्थले किन गृहत्याग गर्नुपथ्र्याे र ?
यसैगरी अत्तकिलमथानुयोगले शरीर वा चित्तलाई कष्ट दिने अभ्यासलाई बुझाउँछ । यसले पनि उनलाई मुक्ति दिन नसक्ने बुझेपछि बुद्धले यो मार्ग पनि परित्याग गरे । बुद्धले यी अतिहरू दुवैलाई अस्वीकार गर्दै मज्जिमापटिपदा अर्थात् मध्यमार्गको अभ्यास गर्न प्रेरणा दिए । वास्तवमा उपभोगका सन्दर्भमा मध्यम मार्ग विवेकपूर्ण, सन्तुलित, नैतिक र आवश्यकतामा आधारित हुन्छ । मध्यम मार्ग बीचको मार्ग हो, जसले सबै प्रकारको लोभ, घृणा र भ्रमलाई नाश गर्छ । यसबाट ज्ञान र स्वतन्त्रताको अवस्था अर्थात् निर्वाण लाभसम्म पुर्याउन सक्छ । बुद्धको शिक्षाअनुसार, उपभोगप्रतिको आसक्ति अर्थात् तृष्णा नै दुःखको मूल कारण हो । उपभोग गर्नुपर्छ तर त्यसमा आसक्त हुनु हुँदैन । जागरुकतापूर्वक, सन्तुलनपूर्वक र आत्मनिरीक्षणसहित उपभोग गर्नुपर्छ ।
अंगुत्तर निकायको अट्टहसुख सुत्त (अ.नि.८.५४) मा बुद्धले गृहस्थहरूले अनुभव गर्न सक्ने आठ प्रकारका सुख (अट्ठ सुख) को वर्णन गरेका छन् । अत्थि–सुख (सम्पत्तिको सुख), भोग–सुख (उपभोगको सुख), अनञ्ञ–अदत्त–आदाय–सुख (दोषरहित आम्दानीको सुख), अनवज्ज–सुख (निर्दोष आचरणको सुख), सप्पय–सुख (अनुकूलताको सुख), सद्दा–सुख (श्रद्धाको सुख), शील–सुख (नैतिकताको सुख) र चाग–सुख (उदारताको सुख) । यी आठ सुख बौद्ध दृष्टिमा केवल भौतिक समृद्धिको संकेत होइनन् । यिनीहरू आर्थिक इमानदारी, नैतिकता, आत्म–शुद्धि र सामाजिक उत्तरदायित्वसँग पनि सम्बन्ध राख्छन् । विशेषतः अत्थि–सुख र भोग–सुख उपभोगसँग प्रत्यक्ष सम्बन्धित छन् तर बौद्ध दृष्टिमा उपभोग तबमात्र सकारात्मक हुन्छ, जब उपभोगमा विवेक, नैतिकता र सन्तोषसँग जोडिन्छ । वास्तवमा आजको उपभोक्तावादी समाजमा बुद्धका यी शिक्षाहरू अझै सान्दर्भिक छन्, जहाँ साँचो सुख बाहिरी विलासितामा नभई आन्तरिक सन्तुलन, नैतिकता, करुणा र विवेकशीलतामा निहित हुन्छ ।
बौद्धदर्शनको अनित्य र अनात्मको सिद्धान्तले हरेक कुरा अनित्य हुने भएकाले यस्ता वस्तु तथा सेवाप्रति लालसा राख्नु उचित नहुने भएकाले उपभोग केवल अति महत्वपूर्ण आवश्यकता पूर्ति गर्नका निम्ति निहित हुनुपर्छ भन्ने तर्क राख्छ । त्यसैगरी बुद्धको प्रतीत्यसमुत्पादको सिद्धान्तले मानिसहरू आपसमा अन्तरनिर्भर रहने र मानिस र पर्यावरणबीच पनि तारतम्य रहने भएकाले उपभोग गर्दा अरूको र पर्यावरणको समेत हानि हुनु हुँदैन भन्ने शिक्षा दिएको छ । आधुनिक अर्थशास्त्रले व्यक्तिको आम्दानी बढ्दै गर्दा उपभोग पनि बढ्दै जान्छ भन्ने मान्यता राखेकोमा बौद्ध अर्थशास्त्रले उपभोगले आम्दानीमात्र होइन, नैतिकता, विवेक र करुणाको भाव पनि राख्नुपर्छ; वास्तवमा अधिक उपभोगबाट अधिक सन्तुष्टि होइन कि न्यूनतम उपभोगबाट अधिकतम सन्तुष्टि प्राप्त गर्न उत्प्रेरित गर्नमा बौद्ध अर्थशास्त्र उद्यत छ । यसले पर्यावरण संरक्षणसहित दिगो विकासमा समेत ध्यान दिएको देखिन्छ ।
पछिल्लो समय नेपालमा उपभोगवाद एक गम्भीर सामाजिक–आर्थिक समस्या बन्दै गएको छ । देशमा धेरै आम्दानी अल्पसंख्यक वर्गसमा केन्द्रित छ, जबकि ठूलो जनसंख्या गरिबीको रेखामुनि बाँचिरहेको छ । यसले गर्दा समाजका धनी व्यक्तिहरू विलासितापूर्ण जीवनशैली बाँचिरहँदा गरिब वर्ग आफ्नो आधारभूत आवश्यकता पूरा गर्न अझै संघर्षरत देखिन्छन् । यस्तो असमानताले समाजमा असन्तुष्टि, ईष्र्या र अस्थिरताको सिर्जना गराउँछ । अर्कातिर विश्वव्यापी विज्ञापन र सामाजिक सञ्जालको प्रभावले नेपालीहरू अनावश्यक वस्तु खरिद गर्न उत्प्रेरित छन् । यसले उनीहरूलाई क्रेडिट कार्डको पासो र अन्य ऋणहरूमा डुबाउँदै गएको देखिन्छ ।
पछिल्लो समय स्वदेशमा आफ्नो उत्पादन नगन्य हुने र विप्रेषण आय बढ्दो देखिएकाले नेपालको आयात झनै बढ्दै गएको छ । चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक व्यापार १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख ९९ हजार रुपैयाँको पुगेकोमा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख ८६ हजार रुपैयाँबराबरको वस्तु आयात भएको छ । यसैगरी यस अवधिमा नेपालबाट केवल २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख १३ हजार रुपैयाँबराबरको वस्तु विभिन्न देशमा निर्यात भएको देखिन्छ । यस हिसाबले ११ महिनामा नेपालको व्यापारघाटा झन्डै १४ खर्ब पुगेको छ ।
यस्तो व्यापारघाटाको एक कारण उपभागवादी संस्कृति पनि हो । यसलाई कम गर्न बौद्ध सिद्धान्तमा आधारित उपभोग संस्कृतिलाई बढावा दिनु आवश्यक छ । यसका लागि नेपालमा बौद्धदर्शनलाई विद्यालय र कलेजहरूको शिक्षा पाठ्यक्रममा समावेश गर्नु आवश्यक छ । विशेष गरेर युवालाई जीवनको अर्थ, सन्तुष्टिको स्रोत र उपभोगप्रतिको सन्तुलित दृष्टिकोण बुझाउन यस्तो शिक्षा केन्द्रित हुनु जरुरी छ । यसैगरी स्थानीय स्तरमा बौद्ध गुम्बा, सामुदायिक केन्द्र र स्वयंसेवी संस्थाहरूले सम्यक् उपभोगका सन्दर्भमा प्रवचनका कार्यक्रमहरू सञ्चालन गर्न सक्छन् ।
यसैगरी सरकारले पनि नीतिगत रूपमा बौद्ध अर्थशास्त्रको उपभोगलाई ध्यान दिँदै बजेट तयार गर्न सक्छ । यसका लागि अत्यधिक विलासिताको प्रचारप्रसार गर्ने विज्ञापनहरूमा कर लगाउने, मदिरा तथा धूम्रपान, मध्यपानजस्ता उत्पादनले स्वास्थ्यमा असर पार्ने भएकाले यस्ता उत्पादनलाई बढी कर लगाउने र आम मानिसले उपभोग गर्ने वस्तुमा छुट तथा सहुलियत प्रदान गर्ने नीति लिनुपर्छ । त्यसैगरी आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा पनि जोड दिनु जरुरी देखिन्छ । खास गरी आयात गरिने विलासिताका वस्तुहरूमा करको दर बढाएर उपभोगलाई संयमित बनाउन सके व्यापारघाटा कम गर्न सकिन्छ ।
सन् २००८ जुलाईमा लागू भएको भुटानको संविधानमा भुटान सरकारको लक्ष्यका रूपमा ‘कुल राष्ट्रिय खुसी’ (जिएनएच) उल्लेख गरियो, जसले उत्पादनले मात्र जनताको खुसी मापन गर्न नसक्ने निष्कर्षसहित बौद्ध अर्थशास्त्रका दृष्टिकोणलाई व्यवहारमा लागू गरेको थियो । यही जिएनएचकै अवधारणाका आधारमा सन् २००५ मा मेड जोन्सले ‘कुल राष्ट्रिय कल्याण’ (जिएनडब्लू) भनेर विश्वव्यापी रूपमा सर्वेक्षण गरे । उक्त अध्ययनको आधारमा युएनडिपीले सन् २०११ मा खुसीलाई पनि हरेक मुलुकको विकास–प्रगति मापनको आधारका रूपमा ग्रहण गराउन थाल्यो । भुटानजस्तै थाइल्यान्डले पनि करिब करिब यस्तै आर्थिक ढाँचा विकास गरेको पाइन्छ । जसलाई सफिसियन्ट इकोनोमीको संज्ञा दिइएको छ । सफिसियन्ट इकोनोमीको सुरुवात गर्ने थाई राजा भूमिबोल हुन् । सफिसियन्ट इकोनोमीको अवधारणा मध्यमार्गी सिद्धान्तमा आधारित छ । यस सन्दर्भमा नेपालमा पनि बौद्ध अर्थशास्त्रलाई देशको अर्थव्यवस्थासँग सामञ्जस्य गराउँदै व्यवहारमा लागू गर्ने सन्दर्भमा छलफल हुनु आवश्यक देखिन्छ । (साभार नागरिक दैनिक)







Facebook Comments