
विश्वमणि पोखरेल
यसपालि जलवायु परिवर्तनमा केन्द्रित विद्यार्थीले पोकर हिमतालको तापक्रम र हिमनदीमा माइक्रो प्लास्टिकको मात्रा जाँचे, कालिन्चोक क्षेत्रका रूखबाट नमूना संकलन गरे।
काठमाडौं, बौद्धको तिब्बतियन होटल इन्टरन्याशनलको छैटौं तलामा गत साउन ३ को साँझ नेपाली–अमेरिकी विद्यार्थी र भूगर्भशास्त्रका केही प्राज्ञहरूबीच छोटो गोष्ठी थियो– ‘एसआईटी नेपाल : जिओसाइन्स इन द हिमालय, २०२५ सिम्पोसियम अफ स्टुडेन्ट’।
हिमाली क्षेत्रको भूविज्ञानमा केन्द्रित गोष्ठी चल्दै गर्दा संयोजक माइकेल मर्फी प्रसन्न मुद्रामा देखिन्थे। विद्यार्थीका प्रस्तुति सुनेपछि अमेरिकाको हस्टन विश्वविद्यालयका यी प्राज्ञले उनीहरूलाई डिनरका लागि आह्वान गरे। अनि नीलो लौरो टेक्दै माथिल्लो तलातिर लागे। केही बेरपछि हातमा बियरको गिलास च्यापेर छेवैको बौद्ध स्तूप नियालिरहेका देखिन्थे। एक समयका यी अनवरत अनुसन्धाता अहिले शारीरिक रूपमा अलि कमजोर भएका छन्। तर आफ्नो मानसिक ऊर्जा अलिकति पनि घट्न दिएका छैनन्। त्यसैले त हिमाली क्षेत्रबारे पढाउन अमेरिकाका विभिन्न विश्वविद्यालयका १० विद्यार्थी लिएर यस पटक पनि नेपाल आइपुगेका हुन्।
यस क्रममा दुई देशका विद्यार्थीले सात सातासम्म नेपालका मुस्ताङ, मनाङ, दोलखा पुगेर हिमाली क्षेत्रको भूगर्भ, बनोट, भूगोल, जीव, वनस्पति, वातावरण र जलवायु आदिको अध्ययन-अनुसन्धान गरे। त्यसैको अन्तिम प्रस्तुति थियो, त्यो गोष्ठी। तिब्बतदेखि नेपालसम्मका हिमाली क्षेत्रमा लामो समय रहेर भूगर्भ, भूकम्प, टेक्टोनिक लगायत विषयमा अध्ययन गरेका र ४० भन्दा बढी जर्नल लेख प्रकाशन गरेका मर्फी भन्दै थिए, “विद्यार्थी लिएर अर्को पटक पनि आउनेछु।” मर्फीलाई नेपालका हिमालको अध्ययनप्रति किन यस्तो मोह त? “हिमालय आफैंमा अलौकिक छ, विश्वको सर्वोच्च शिखर माउन्ट एभरेस्ट सर्वत्र परिचित छ, यसको आफ्नै आकर्षण छँदै छ,” उनी भन्छन्।
एसआईटी नेपाल : जिओसाइन्स इन द हिमालय कार्यक्रम अन्तर्गत दशकअघिदेखि अमेरिकी विद्यार्थी नेपालका हिमाली क्षेत्रको अध्ययन गर्दै छन्। कुनै वर्ष २५ जनासम्म पनि आएका छन्। उनीहरूसँगै भूगर्भशास्त्रमा स्नातक गरेका नेपाली विद्यार्थी पनि मिसिन्छन्। नेपाली विद्यार्थी भने यस कार्यक्रममा निःशुल्क सहभागी हुन पाउँछन्। भूगर्भशास्त्रका प्राध्यापक विशालनाथ उप्रेतीका अनुसार अमेरिकाको एसआईटी र त्रिभुवन विश्वविद्यालयबीचको सम्झौतामा वर्षौंदेखि विभिन्न कार्यक्रम चल्दै छन्। भूगर्भ सम्बन्धी कार्यक्रम चाहिं सन् २०१३ देखि शुरू भएको हो।
मर्फी भन्छन्, “यहाँ विद्यार्थीहरू हिमालयको बनोट, तिनको भौगर्भिक हलचल, अवस्थिति, चट्टान, माटो, खनिज अनुसन्धानको सीप विकास गर्दै भूगर्भको इतिहाससम्म पुग्न सक्छन्।” उनका अनुसार उत्तर अमेरिकाको इस्टकोस्टमा नेपालकै जस्ता चट्टान रहे पनि ती नेपालका हिमाली भेगको जस्तो चलायमान छैनन्। यहाँको हिमालय २० मिलियन अर्थात् दुई करोड वर्षअघिदेखि सक्रिय छ।
हिमालयको अर्को विशेषता भनेको यसको भूगर्भको सम्बन्ध यहाँको जनजीवन, खेतीपाती, व्यापार-व्यवसायसँग पनि जोडिएको छ। करीब २५ सय मिटर उचाइमा पुगेपछि अर्थात् मध्यपहाडी भूभागको उत्तरतिर जमीनको भिरालोपन बढ्दै जान्छ। बाहिरी सतह यति भिरालो हुनुको कारण हिमालको भित्री संरचना निकै गहिराइसम्म धकेलिएकाले हो। यसरी भिरालोपन बढेको अवस्थितिलाई भूगर्भशास्त्रमा पीटी२ भनिन्छ। फिजियोग्राफिक ट्रान्जिशन भनिने यस्तो भौगर्भिक बनोट पहिरोले जोखिमयुक्त मानिन्छ। त्यतैतिर पानीका छाँगा पनि खसिरहेका हुन्छन्। मर्फी भन्छन्, “भिरालोपनमै धेरै नेपालीको जीवनयापन छ, यसैबाट खेतीपाती र व्यापार-व्यवसाय चलेको भेटिन्छ।”
एसआईटी कार्यक्रममा नेपालबाट भूगर्भशास्त्रका प्राध्यापक विशालनाथ उप्रेती र अनन्त गजुरेल जोडिएका छन्। उप्रेतीका अनुसार काठमाडौंमा विद्यार्थीहरूलाई प्रशिक्षण, जानकारी दिलाउँदै मुस्ताङको कागबेनी लगिन्छ। त्यसअघि इसिमोडका विज्ञहरू मार्फत जलवायु परिवर्तन, हिमताल, मनसुनी प्रवृत्ति, पहिरो, भूकम्प लगायत बारे जानकारी दिइन्छ। “काठमाडौंबाट धादिङ, मलेखु हुँदै पोखरासम्म पुग्दा विद्यार्थीलाई हिमालयका चट्टानहरूबारे सिकाइन्छ। हामी बाटामा चट्टानहरूमा कोरिएका हिमालयको कथा पढाउँदै पोखरा पुर्याउँछौं,” उप्रेती भन्छन्, “पोखरामा, त्यहींको भूगर्भबारे जानकारी दिंदै मुस्ताङको कागबेनी पुग्दा तेथिस सागरका चट्टानहरू भेटिन्छन्। विद्यार्थीलाई यिनका बारेमा मसिनो गरी बुझाएर फर्काउने गरिएको छ।”
फिल्ड भिजिटपछि विद्यार्थीहरूले आफ्नो रुचिमा शोधहरू गर्छन्। यसका लागि तीन साताको समय हुन्छ। अध्ययनको प्रारम्भिक रिपोर्ट उनीहरूले काठमाडौंमै र विस्तृत प्रतिवेदन चाहिं आआफ्ना कलेजमा प्रस्तुत गर्छन्। जून महीनाको पहिलो साता नेपाल आएका यी विद्यार्थी यसपालि खासगरी जलवायु परिवर्तन, हिमताल आदिमा केन्द्रित भए। चार हजार मिटर उचाइमा रहेको मनाङको पाेंकर हिमतालको तापक्रम कसरी बदलिएको छ, माथिल्लो मनाङको हिमनदीमा माइक्रो प्लास्टिकको मात्रा कति छ भन्ने अध्ययन गरे। यससँगै दोलखाको कालिन्चोक क्षेत्रका रूखबाट विगतको जलवायुको अवस्था बुझ्न सकिने गरी नमूना पनि संकलन गरेका छन्।
मर्फीले देखाएको बाटो
हस्टन विश्वविद्यालयका जिओलोजी, स्ट्रक्चर र टेक्टोनिक विषयका प्राध्यापक मर्फी सन् २०२४ देखि एसआईटी नेपाल : जिओसाइन्स इन द हिमालयका निर्देशक छन्। कुनै वेला उनी आफैं हिमाली गर्भ, चट्टानका पत्र, भूकम्पका चिह्नबारे अनुसन्धान गर्न खटिन्थे। सोही क्रममा जिओलोजिकल ह्याम्मर, ब्रन्टन कम्पास आदि उपकरण बोकेर करीब १५ वर्ष तिब्बत र पश्चिम नेपालका हिमाल, पहाड, खोच र कुनाकन्दरा चहारे। त्यो यात्रामा उनीसँग समवयी अरू साथी पनि थिए। मर्फीको विचारमा भूगर्भविज्ञान ‘फरेन्सिक’ विज्ञान जस्तो हो। “यो भौतिक, रसायनशास्त्र जस्तो होइन, जीव वा प्राणीविज्ञान पनि होइन,” उनी भन्छन्, “यो त फरेन्सिक साइन्स जस्तो हो, किनकि भूगर्भविज्ञानमा सबै विज्ञानलाई मसिनोसँग केलाउनुपर्छ।”
भौगर्भिक खोज-अनुसन्धानमा मर्फीको यात्रा सन् १९९५ बाट शुरू भएको थियो, २३ वर्ष जतिको उमेरमा। तिब्बतबाट अध्ययन गर्दागर्दै कैलास पर्वत आसपास, नेपालको हिल्सा र सिमिकोटबीच निकटतम भौगर्भिक नाता रहेको भेटिएपछि उनी सन् २००५ तिर नेपाल आएका थिए। हिल्सा र कैलास आसपास भेटिएको चट्टानका दरार हुम्ला सदरमुकाम सिमिकोटमा पनि फेला परेपछि आफ्नो अध्ययन नेपालतिर पनि जोडिएको उनी बताउँछन्। मर्फीले विद्यावारिधि ‘टेक्टोनिक्स अफ साउथवेस्ट तिब्बत’ शीर्षकमा गरेका हुन्।
अध्ययनका क्रममा उनको टोलीले कैलासदेखि नेपालको पाल्पा, राम्दीघाट, मालुङसम्म बडीगाड खोलैखोला बगेको एउटा ठूलो चिरा फेला पार्यो। यसलाई ‘वेस्ट नेपाल फल्ट सिस्टम’ नामले चिनिन्छ, भूगर्भशास्त्रमा। टोलीले त्यहाँ करीब ९०० वर्षअघि सन् १५०५ मा सोही फल्ट भएर ठूलो भूकम्प गएको पत्ता लगायो। मर्फीका अनुसार त्यो भूकम्प ८ दशमलव २ म्याग्निच्यूडको थियो जुन सन् २०१५ मा गोरखा केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ म्याग्निच्यूडको भन्दा निकै शक्तिशाली हो। म्याग्निच्यूड स्केलमा एक अंकको फरकमा निस्कने शक्ति नै ३२ गुणा बढी हुन्छ। ८ म्याग्निच्यूडभन्दा माथिकोलाई महाभूकम्प भन्ने गरिन्छ जसमा इपिसेन्टर नजीकका संरचना सारसौंदो रहने सम्भावना बिरलै हुन्छ। म्याग्निच्यूड पद्धतिमा चट्टान कति धसियो, कति क्षेत्रफलसम्म फुट्यो, भूकम्प कस्तो चट्टानबाट प्रारम्भ भयो आदि कुराका आधारमा मापन गरिन्छ। भूतहमा ठूलो क्षति हुन्छ।
२०७२ सालको गोरखा भूकम्प महाभूकम्पकै हाराहारीमा पर्छ। भूगर्भशास्त्रीहरूका अनुसार यसको कम्पन ठूलो क्षेत्रमा विस्तार भएकामा जमीनको ठूलो भूखण्ड पूर्व-दक्षिणतिर सरेको थियो। त्यस्तै, केन्द्रबिन्दु रहेको करीब १५ किमी गहिराइदेखिको भूखण्ड करीब ६ मिटर पूर्व-दक्षिण सरेको थियो। काठमाडौं आसपास भने १ दशमलव ६ मिटर जमीन पश्चिम-दक्षिणतिर सरेको र करीब आधा मिटर उचालिएको भूगर्भविद् अनन्त गजुरेल बताउँछन्। यस भूकम्पको असर पश्चिमतर्फको भूखण्डमा भने देखिएन। सोही कारण वैज्ञानिकहरू त्यहाँदेखि भारतको देहरादूनसम्मको क्षेत्रलाई भूकम्पीय दृष्टिले ‘सेस्मिक ग्याप’ भन्छन्। मतलब, यस भूक्षेत्रमा लामो समयदेखि शक्ति सञ्चय भएर बसिरहेको छ र जुनसुकै वेला जुनसुकै रूपमा प्रकट हुन सक्छ।
भारतीय र तिब्बती प्लेटबीच घर्षण भइरहेको र भारतीय प्लेट तिब्बती प्लेटमुनि घुस्रिरहेको अहिलेको स्थिति निम्तिनुमा करोडौं वर्षदेखिका भूकम्पहरूको योगदान छ। मर्फी भन्छन्, “यहाँको भूगर्भ चलायमान रहेकाले धेरै शक्ति रहेको बुझिन्छ। पश्चिमी क्षेत्रमा सन् १५०५ पछि ठूलो भूकम्प नआएकाले जुनसुकै वेला आउन सक्छ।”
पहिलेका भूगर्भविद्हरूले सामान्य रूपमा चर्चा गरेको यो ‘वेस्टर्न नेपाल फल्ट सिस्टम’ को नामकरण र नक्शांकन मर्फीकै टोलीले गरेको हो। त्यस बाहेक तिब्बतमा ‘गर्ला मन्धाता डिट्याचमेन्ट’ को अध्ययनमा पनि उनको काम विशेष मानिन्छ। मर्फीका बारेमा भूगर्भविद् उप्रेती भन्छन्, “मर्फीले पश्चिम नेपाल र तिब्बतमा धेरै काम गरेका छन्। उनलाई यस क्षेत्रका लागि नाम चलेका प्रोफेशनल भन्दा फरक पर्दैन।”
मर्फीको उमेर जम्मा ५३ वर्ष हो, तर बिमारले नराम्ररी थल्यायो। सन् २००८ मा उनलाई ब्रेन ट्यूमर भएको पत्ता लाग्यो। शल्यक्रियापछि चिकित्सकले पाँच वर्षको आयु तोकिदिए। “धेरै बाँच्दैनस्, अब आराम गर् भनेका थिए,” उनी भन्छन्, “मानेको भए म अहिलेसम्मै ओछ्यानमा कुँजो परिरहेको हुने रहेछु।” उनी अहिले आफू नयाँ जीवन बाँचिरहेको ठान्छन्। समथर ठाउँमा लट्ठी टेकेर आफैं हिंड्न सक्छन्। उकालो-ओह्रालो गर्दा चाहिं अरूले भर दिनुपर्छ। “म मानसिक रूपमा युवा नै छु। अपरेशनका कारण शरीर केही बूढो देखिएको मात्र हो,” मर्फी भन्छन्। हिमाल खबर






.jpg)
Facebook Comments