
विष्णु रिजाल
मधेस प्रदेशका आठै जिल्ला पुगेर फर्किएँ। फिल्डमै पुगेर हेर्दा मधेसमा प्रशस्त परिवर्तन अनुभूति गर्न सकिन्छ। विगतको तुलनामा मधेसमा धेरै काम भइरहेको छ। हेर्दा लाग्छ– विगतमा अधिकारका लागि आन्दोलित मधेस अहिले आफूलाई निर्माण गर्न लागिरहेको छ। केन्द्र, प्रदेश र स्थानी सरकारका कुनै न कुनै योजना नभएको टोल छैन।
पूर्व–पश्चिम राजमार्गको विस्तार चलिरहेको छ। राजा महेन्द्रले परिकल्पना गरेर सन् १९६१ मा निर्माण सुरु भएको १ हजार २८ किलोमिटर लामो यस राजमार्गलाई चार लेनमा विस्तार गर्ने निर्णय अनुरुप विभिन्न खण्डमा काम भइरहेको छ। मधेस प्रदेशमा पर्ने सर्लाही, सिराहा र सप्तरी खण्डमा काम चलिरहेको छ। नारायणगढ–बुटवल खण्डमा पनि काम तीब्र गतिमा चलिहेको छ।
पूर्व–पश्चिम राजमार्ग ठीकै भए पनि केही समयअघिसम्म त्यहाँबाट दक्षिणतिर रहेका जिल्ला सदरमुकाम जोड्ने सडकहरु जीर्ण थिए। आज ती सडकहरु चिल्ला बनेका छन्। चन्द्रनिगाहपुरबाट गौर जोड्ने सडक होस् वा लाहानबाट मलंगवा– सबै सडक स्तरीय छन्। जिल्ला सदरमुकाम पुग्नै अप्ठ्यारो बाटोका कारण हुने सास्ती बन्द भएको छ र जताबाट पनि सदरमुकाम पुग्न सहज भएको छ।
हुलाकी राजमार्गले मधेसका नागरिकको दैनिकी नै बदलेको छ। यस राजमार्गको निर्माणमा भारत सरकारले सुरुदेखि नै सहयोग गरेकोमा पछिल्लो समय ढिलासुस्ती आएको थियो। त्यसलाई ध्यानमा राखेर नेपाल सरकारले आफ्नै कोषबाट निर्माण सम्पन्न गर्ने निर्णय गरेबमोजिम मधेस खण्डको काम सकिएको छ।
मधेसका जिल्ला सदरमुकामहरु पनि पहिलेभन्दा सफा र व्यवस्थित देखिएका छन्। सदरमुकाममा सरसफाइ, ढल निकास, बाटो विस्तार जस्ता काम भएका छन्। रिक्सा, बसपार्कहरु बनाउने कामहरु भएका छन्।
यी काम गर्नका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेलाका निर्णयहरुले मुख्य भूमिका खेलेका छन्। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले पहिलो पटक प्रस्तुत गरेको बजेट (२०७२÷०७३) बाट पूर्व–पश्चिम राजमार्गबाट सदरमुकाम जोड्ने सडकको स्तरोन्नतिको बजेट व्यवस्था, सदरमुकामको सौन्दर्यकरणका लागि प्रति जिल्ला एकमुष्ठ ५० करोडको व्यवस्था, हुलाकी राजमार्गको बाँकी काम नेपाल सरकारको कोषबाट गर्ने व्यवस्था भएको थियो। यही कारण नै आज मधेसको कायापलट भएको छ भन्दा अत्युक्ति हुँदैन।
पक्कै पनि मधेसमा विकृति छन्, सरकारी रकम राम्ररी उपयोग हुन सकेको छैन। गरिबी, कुरीति, विभेद र पछौटेपन छ। तर, भौतिक विकाससँगै चेतनाको विकासलाई पनि ध्यान दिइएको देख्दा गर्वका साथ भन्न सकिन्छ– अब मधेस पहिले जस्तो छैन। छोरी पढाउने क्रम बढेको छ, दाइजो नपाएको निहुँमा गरिने ज्यादति घटेको छ, सरकारी सेवमा उपस्थिति उल्लेखनीय रुपमा बढेको छ, मानिसहरुमाथि गर्ने विभेद केही मात्रामा भए पनि घटेको छ। तथापि, गर्नुपर्ने कामको सूची लामै भए पनि जे जस्ता सुधार भएका छन्, यसबाट दुःखी हुनुपर्ने अवस्था छैन।
नेकपा (एमाले) ले मधेसमा भोगेको पीडा र विभेदको बदला विकास र आकर्षणबाट लिइरहेको छ। ‘एमालेमुक्त मधेस‘ देखि ‘मधेसमा एमालेलाई प्रवेश निषेध‘, अध्यक्ष केपी ओलीको पुत्लादहन जस्ता उत्तेजक कामबाट मधेसमा एमाले पीडित भएको घटना धेरै पुरानो भएको छैन। २०७३ मा शान्तिपूर्ण कार्यक्रम गर्दा राजविराजमा आक्रमण गरी हिंसात्मक बनाएर एमालेलाई रक्षात्मक बनाउने काम कुनै आकस्मिक घटना थिएन, लामो योजनाको एउटा अंग थियो। मधेसका कुनै पनि जिल्लामा एमालेका कार्यालयहरु सुरक्षित रहेनन्, या जलाइए या त ढुंगामुढाका शिकार भए। एमालेका नेता–कार्यकर्तालाई बहिस्कार गर्ने जस्ता कामहरु भए।
मधेसका जनताले निर्वाचनका माध्यमबाट तिनलाई मुखभरीको जवाफ दिएका छन्। मधेस प्रदेशसभामा एमाले २३ जना सभासद्सहित एक नम्बर पार्टीका रुपमा छ भने भने ०७४ मा माओवादीसँग गठबन्धन गर्दा प्रतिनिधिसभामा जम्मा २ सिट जितेको एमालेले ०७९ मा आइपुग्दा ९ सिट जितेको छ, एक सिट स्वतन्त्र पनि थपिएको छ। अझ प्रभु साहले षड्यन्त्रमुलक रुपमा टिकट कब्जामा राखेर रौतहटमा उम्मेद्वारविहीन नबनाइदिएको भए एक सिट थपिने निश्चित थियो भने प्रदेशसभाको मतपेटिकामा भेटिएका प्रतिनिधिसभाका मतलाई अन्यत्रझैँ सदर गरेको भए (धनुुषा २) अर्को सिट थपिने थियो। आजको दिनमा मधेसमा एमाले एक नम्बर पार्टीका रुपमा स्थापित छ।
मधेसको पार्टीमा समस्या छन्। कमरेडली भावनाको कमी छ, नेता–कार्यकर्तामा सैद्धान्तिक स्तर कमजोर छ। तर, जनतामा एमालेप्रति तीब्र आकर्षण छ। आज पनि मधेसमा सबभन्दा बढी आकर्षण कुनै नेताको छ भने केपी ओलीकै छ भन्ने कुरा उहाँ पुग्दा देखिने भीड र पार्टी प्रवेशले देखाउँछ।
मधेसीका नाममा जुन जोगी आए पनि कानै चिरेका मात्र फेला परेका हुनाले मधेसी जनता वाक्क छन्। कुनै बेला आफ्नो अनुमतिबिना मधेसमा पात पनि हल्लिँदैन भन्नेहरु आज मधेसमा राजनीतिक अस्तित्वको संकटमा भौँतारिरहेका छन्। एमालेमाथि राजविराजमा आक्रमणको राजनीतिक नेतृत्व गर्ने उपेन्द्र यादवले आफैँ त्यहीँबाट पछारिए र बारामा आएर उपचुनावको साहरा लिनुपर्यो भने नेपालमाथि नाकाबन्दी लगाएर दानापानी बन्द गरिदिन्छु भन्ने राजेन्द्र महतो स्वयम्को राजनीतिबाट दानापानी बन्द हुने अवस्था छ। अनिल झा अझै नयाँ पार्टी बनाउँदै छन्, उपेन्द्रसँग बस्न नसकेर छुटिएका प्रदीप यादव, नवलकिशोर साहहरु एमालेको सहरामा टिकेका छन्। नयाँ भनेर आएका सीके राउतहरु पनि एक कार्यकाल बिताउन नपाउँदै बद्नाम भएका छन्। त्यसैले आजको मधेसको सबभन्दा परपर्दो शक्तिका रुपमा नेकपा (एमाले) उदाइरहेको छ। बाटो विराएकाहरु घर फर्किने, युवाहरुले राजनीतिमा हस्तक्षेप बढाउने र सुशासनमा कडाइ गर्न सक्नेबित्तिकै मधेसमा एमालेलाई कसैले रोक्न सक्दैन।
०८४ मा नेकपा (एमाले) लाई एकल बहुमतप्राप्त निर्णायक राष्ट्रिय शक्ति बनाउने संकल्प मधेसबाट सम्भव छ। मधेसमा एमालेले अँध्यारो समय बिताइसकेको छ। भ्रमका पर्दाहरु च्यातिइसकेका छन्। कुन शक्तिले मधेसका लागि के गरे र गर्न सक्छन् भन्ने पनि स्पष्ट भइरसकेको छ। यस्तो अवस्थामा मधेसमा विश्वासिलो शक्तिका रुपमा एमाले मात्रै बाँकी छ।
परम्परागत रुपमा मधेस नेपाली कांग्रेसको आधार क्षेत्र रहँदै आएको थियो। २०१५ साल हेर्दा त्यही देखिन्छ, ०४८ पछिका चुनावहरुमा पनि त्यही देखिन्छ। जबसम्म कांग्रेस मधेसमा चुनौतीविहीन रह्यो, तबसम्म उसलाई बहुमत ल्याउन र पहिलो पार्टी भइरहन कुनै समस्या भएन। तर, जब मधेसी दलहरु जन्मे, कांग्रेसका एकसे एक दिग्गज नेताहरुले पार्टी छाडे, त्यसपछि ओरालो लागेको कांग्रेसले मधेसमा पानी पिउन पाएको छैन। कांगेसको मत मधेसी दलहरुले काटेका छन्।
कांंग्रेस मधेसप्रति अनुदार पार्टी होइन। कांग्रेसले मधेसबाट राष्ट्रपति नै बनायो। तर, महन्थ ठाकुर, जयप्रकाश आनन्द जस्ता नेताले पार्टी छाडेपछि मधेसमा कांग्रेसको भरपर्दो नेतृत्व नै विकास भएन। महेन्द्रनारायण निधिको शालीनता र आदर्शलाई विमलेन्द्र निधिले थोकमा लिलाम गरेपछि उनी स्वयम् असान्दर्भिक भएर चुनाव पनि लड्न सकेनन् र समानुपातिकबाट प्रतिनिधिसभामा छिरेपछि मधेसमा उनको कुनै प्रभाव छैन। पटकपटक मन्त्री, गृहमन्त्री र उपप्रधानमन्त्री भएको व्यक्ति आरक्षणमा जान्छ भने त्यस्तो आरक्षण कसका लागि रहेछ भन्ने प्रश्न मधेसमा टड्कारो देखिन्छ। त्यसैले कांग्रेस पूर्ववत अवस्थामा आउने सम्भावना देखिँदैन।
यस्तो अवस्थामा एमालेप्रतिको आकर्षण चाहिँ बढ्दो क्रममा छ। अरु पार्टीबाट विगतमा निर्वाचन जितेका मानिसहरु समेत धमाधम एमालेमा प्रवेश गरिरहेका छन्। यस लहरलाई एमालेले निर्वाचनसम्म कायम राख्न सक्दा अध्यक्ष ओलीले भन्ने गरेझैँ ‘हरेक ठाउँमा ५१ प्रतिशत’ जितको नारा मधेसमा सम्भव छ।
विगतमा मधेस उद्वेतिल भयो। कतिपय जायज र कतिपय हल्ला चलाइएका विषयले मधेसलाई आक्रान्त बनायो। माओवादी द्वन्द्वको घाउ नपुरिँदै कथित भूमिगत समूहहरुका नाममा चलाइएका गतिविधिहरुका उद्देश्य के थिए? कथित एक मधेस प्रदेशको नारा र ती गतिविधिहरुको बीचा के सम्बन्छ थियो? अनि ती सबैको केन्द्र कहाँ थियो? घटनाक्रमहरुले स्पष्ट पारिसकेपछि मधेस अहिले शान्त छ। यस शान्तिलाई निर्माणको अवसरका रुपमा उपयोग गर्दा मधेसले कहिल्यै पछाडि फर्केर हेर्नुपर्ने अवस्था आउने छैन।
(विष्णु रिजाल नेकपा एमालेका केन्द्रीय सदस्य हुन्)






.jpg)
Facebook Comments