काठमाडौँ । रुसको पूर्वी तटीय क्षेत्रमा ८.८ रेक्टर स्केलको भूकम्प गएको छ । यूएस जिओलजिकल सर्वे (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्र कमचटको प्रायद्वीप पेट्रोपावलोव्स्कबाट लगभग १३७ किलोमिटर पूर्व १९ किलोमिटर गहिराइमा रहेको छ ।

भूकम्पपछि प्रशान्त महासागरमा सुनामीको चेतावनी जारी गरिएको छ । स्थानीय अधिकारीहरूका अनुसार पछिल्ला दशकमा आएका भूकम्प मध्ये यो शक्तिशाली भूकम्प हो । भूकम्पबाट भएको क्षतिको विवरण भने आएको छैन ।

यूएसजीएसका अनुसार आउने तीन घण्टामा रुस र जापानका तटीय क्षेत्रमा खतरनाक सुनामीको चेतावनी दिइएको छ । अमेरिकी अधिकारीका अनुसार अलास्कासहित धेरै क्षेत्रमा पनि सुनामीको चेतावनी जारी गरिएको छ ।

जापानको मौसम एजेन्सीले प्रशान्त तटीय इलाकामा लगभग ३.३ फिट उँचो सुनामीको लहर उठ्ने चेतावनी दिएको छ । सुरुमा भूकम्प ८.० रेक्टरस्कल बताइए पनि पछि संशोधन गरेर ८.८ भएको बताइएको छ ।