
अशोककुमार चौधरी
जब पहिलोपटक संसद भवनको उन्मुक्त ढोका खोल्दै म भित्र प्रवेश गरेँ, त्यो क्षण केवल राजनीतिक पदचिह्न थिएन, त्यो त जीवनको गहिरो मोड, स्वप्न र संकल्पको संगम थियो । विगतका हरेक दिन, हरेक संघर्ष र हरेक जनताको आशाको मुस्कानले मलाई त्यहाँ पुर्याएको थियो । संसद, जहाँ राष्ट्रको आत्मा बोल्छ, जहाँ विधिले विचार जन्माउँछ, त्यस पवित्र स्थानमा मेरो पहिलो पाइला अडिएको थियो ।
तर आज, ती सपनाहरू बोकेर प्रवेश गरेको यात्रालाई फर्केर हेर्दा मनमा अनेकौं प्रश्नहरू जन्मिन्छन् ।
के संसद साँच्चिकै जनताको भावना प्रतिविम्बित गर्ने थलो हो ?
के यहाँ बनेका नीतिहरूले जनतालाई छोएका छन् ? म यस प्रणालीभित्र कति प्रभावकारी भइदिएँ ?
के मैले एक नयाँ सांसदका रूपमा आफ्ना सपना र जनताको भरोसा साकार पार्न सकेको छु ?
संसदभित्रको स्वर र मौनताको द्वन्द्व
संसदमा अनेक आवाजहरू गुञ्जिन्छन्, कहिले नारा, कहिले बहस, कहिले मौनता । यी सबै आवाजहरूको बीचमा मैले कतिपय वास्तविकता चिरेर देख्न सकेँ ।
संसदभित्र जीवनको कोलाहल हुन्छ तर त्यो कोलाहल प्रायः सत्ताको समीकरणमा सीमित देखिन्छ । बहसहरूमा विचारभन्दा वर्चस्वको प्रतिस्पर्धा हावी हुन्छ । निर्णय प्रक्रिया कहिलेकाहीँ जनताको आवाजको अनुगमनमा भन्दा सत्ताको अंकगणितमा केन्द्रित हुन्छ ।
यस यथार्थले मलाई झस्कायो । संसद एक मात्र थलो हो, जहाँ विचारहरूले नीति बनाउँछन् । तर, व्यवहारमा देख्दा तिनै विचारहरू, दलगत स्वार्थको पर्खालमा ठोक्किएर पुनः मौनतातिर फर्किन बाध्य हुन्छन् । यी सब कुराले कहिलेकाहीँ संसदलाई मृत समयको रंगमञ्चझैँ लाग्ने बनाउँछ । नयाँ सांसदको आशाले भरिएको मन यो परिस्थितिमा निराश पनि भयो तर त्यही निराशाले परिवर्तनको साहस पनि जगाएको छ ।
जनताका आँखामा संसदको प्रतिबिम्ब
म सांसद भएको केही दिनमै गाउँ फर्किएको थिएँ । एक जना वृद्ध आमाले मेरो हात समाउँदै भन्नुभयो, ‘बाबु, अब त तिमी सिंहदरबार पुग्यौ, हाम्रो खेतमा भने अझै पानी पटाउने मेलो छैन ।’
त्यो वाक्य केवल गुनासो थिएन, बरु एउटा साझा गुनासोको झल्को थियो । संसदमा लिएका शपथका शब्दभन्दा ती वृद्ध आमाको आँखामा झल्किएको अपेक्षा र गुनासो धेरै गहिरो र सच्चा थियो ।
त्यस दिन मैले बुझेँ– सांसद हुनु केवल हैसियत होइन, त्यो त जनताको अभाव, आशा र अधिकारको संवाहक बन्ने चिरकालीन प्रतिबद्धता हो । तर, संसदभित्र जनताका ती आवाजलाई नीतिको भाषामा रूपान्तरण गर्नु भनेको सरल काम होइन । यात्रा चुनौतीपूर्ण छ । यो विचार, दृष्टिकोण र प्रतिबद्धताको संघर्ष हो । हामी नयाँ पुस्ताका सांसदहरू अनुभव कम तर ऊर्जा र सपना भरिएको– कहिलेकाहीँ पुरानो राजनीतिक संरचनाभित्र अपांगझैँ देखिन्छौं । तर पनि ती सपनाले हामीलाई उभिन सधैं प्रेरित गर्छ ।
प्रणालीभित्रको आत्मसंघर्ष
नयाँ सांसद भएर संसदभित्र पुग्नु भनेको इतिहासको पृष्ठ खोल्नुजस्तो लाग्छ । तर, त्यो इतिहाससँग संघर्ष पनि छ । विधेयक, छलफल र समितिमा आफ्नो आवाज पुर्याउने प्रयत्न धेरैपटक सुनुवाइविहीन भयो । अनुभव र पहुँचको बलले संसदको प्रवाह निर्देशित गर्छ भन्ने कुरा दिनप्रतिदिन स्पष्ट हुँदै गयो ।
अबको चरणमा मेरो प्रयास संघीय शासनलाई थारू जनजीवनसँग व्यावहारिक रूपमा गाँस्ने हुनेछ, जहाँ नीतिमा थारू अनुहार देखियोस्, सेवामा थारू भाषा बोलियोस् र नेतृत्वमा थारू आवाज सुनियोस् । त्यही संघीयता नै वास्तविक जनसंवेदनशील लोकतन्त्र हुनेछ ।
तर, मैले मानिनँ । म बोलेँ, शिष्ट भएर, तथ्यका आधारमा र आफ्नो वर्ग, क्षेत्र, समुदाय र देशका पक्षमा । मलाई विश्वास छ, शब्दहरू जब सत्यको पक्षमा हुन्छन्, तिनीहरू कहिल्यै व्यर्थ हुँदैनन् । अँध्यारो कोठामा झ्याल खोल्ने प्रयासले कहिलेकाहीँ तुरुन्त उज्यालो ल्याउन सक्दैन, तर त्यो प्रयासले प्रकाश भित्र्याउने सम्भावनाको ढोका भने अवश्य खोल्छ ।
संघीयता र थारू अधिकार
नेपालको संघीय प्रणाली केवल सत्ता बाँडफाँडको संरचना होइन, यो विविधतायुक्त नेपाली समाजको पहिचान, समानता र आत्मगौरवको संस्थागत पुनःस्थापनाको प्रयास हो । यो प्रणाली त्यतिबेला मात्र सफल ठहरिनेछ, जब यसले राज्यबाट लामो समयसम्म उपेक्षित, उत्पीडित समुदायहरूलाई सम्मान, अवसर र नेतृत्वको सुनिश्चितता दिन सक्छ ।
थारू समुदाय नेपालको मौलिक जातीय समूह हो, जसले जनआन्दोलनदेखि मधेश आन्दोलन, भूमि अधिकार संघर्षसम्म आफ्नो सशक्त उपस्थिति जनाइसकेको छ । संघीयताको मर्मभित्र थारू आवाज, आकांक्षा र आत्मसम्मान समाहित छन् । तर व्यवहारमा हेर्दा, थारू भाषा, संस्कृति, जीवनशैली र राजनीतिक सहभागिता अझै पनि संघीय ढाँचाको केन्द्रमा समेटिन सकेको देखिँदैन ।
संघीय शासनले यदि मातृभाषामा सेवा, संस्कृतिअनुकूल विकास नीति र नीतिगत तहमा थारू अनुहार समेट्न सकेन भने यो परिवर्तनको ढाँचा केवल प्रतिकात्मक बन्नेछ ।
सांसदको हैसियतले म स्पष्ट भन्न चाहन्छु– अबको चरणमा मेरो प्रयास संघीय शासनलाई थारू जनजीवनसँग व्यावहारिक रूपमा गाँस्ने हुनेछ, जहाँ नीतिमा थारू अनुहार देखियोस्, सेवामा थारू भाषा बोलियोस् र नेतृत्वमा थारू आवाज सुनियोस् । त्यही संघीयता नै वास्तविक जनसंवेदनशील लोकतन्त्र हुनेछ ।
विचार, उत्तरदायित्व र प्रतिबद्धता
संसदमा वकालत गरेर मात्र परिवर्तन आउँदैन । यो त मौनताभित्रको संवेदना बुझ्ने गहिरो अभ्यास हो । जनताको आँखाभित्र लुकेको प्रश्न, जनजीवनको समस्याभित्र गुञ्जिएको अभाव अनि बालकका सपनाभित्र झल्किएको देशको भविष्यलाई पढ्न सक्नुपर्छ ।
नयाँ सांसद भएर संसदभित्र पुग्नु भनेको इतिहासको पृष्ठ खोल्नुजस्तो लाग्छ । तर, त्यो इतिहाससँग संघर्ष पनि छ । विधेयक, छलफल र समितिमा आफ्नो आवाज पुर्याउने प्रयत्न धेरैपटक सुनुवाइविहीन भयो । अनुभव र पहुँचको बलले संसदको प्रवाह निर्देशित गर्छ भन्ने कुरा दिनप्रतिदिन स्पष्ट हुँदै गयो ।
मैले संसदलाई केवल भौतिक संरचनाका रूपमा होइन, जनताको सपना संरक्षण गर्ने मन्दिरका रूपमा देखेको छु । संसदलाई फेरि विचारशील र मूल्यमा आधारित बनाउनु आजको आवश्यकता हो ।
संकल्प र सम्भावना
अब संसदमा मेरो यात्राको दोस्रो अध्याय सुरु हुँदै छ, जहाँ आलोचना मात्र होइन, समाधान पनि लिएर म अघि बढ्नेछु । संसदलाई जनताको आवाजको आदर्श केन्द्र बनाउन सक्नुपर्छ । म निम्न विषयमा विशेष केन्द्रित रहनेछुः
१. नीतिमा जनमुखी दृष्टिकोणको अवलम्बन
नीति अब शुष्क दस्तावेज होइन, यो हरेक नागरिकको जीवनको नक्सा हुनुपर्छ । स्थानीय विकासका एजेन्डा, शिक्षा र स्वास्थ्यको पहुँच, रोजगारी सिर्जना, कृषिमा आत्मनिर्भरता– यी विषयमा म स्पष्ट दृष्टिकोणसहित संसदमा आवाज उठाइरहनेछु ।
२. सदनभित्र सत्यको हिमायती
राजनीति केवल सत्ता लिने साधन होइन, यो सत्यपक्षमा उभिने साहस पनि हो । संसदमा जब अन्याय र बेथिति देखिन्छ, त्यहाँ मौन बस्नु अपराध हो । म मौनताभन्दा आवाज रोज्नेछु, शालीनतासहितको सत्य ।
३. विधायिकामा पारदर्शिता र जवाफदेहिताको सुदृढीकरण
सांसदको जीवन खुला किताब हुनुपर्छ । सम्पत्ति विवरण, उपस्थिति, मतदान अभिलेख र बोलिएका विषयहरू सर्वसुलभ र जनमुखी बनाइनुपर्छ ।
४. युवाको सशक्त प्रतिनिधित्व र प्रविधिको प्रयोग
नयाँ पुस्तालाई संसदमा समेट्न, प्रविधिको समुचित प्रयोग र डिजिटल संसदको सम्भावनामा म दृढ छु । जानकारीमा आधारित, अनुसन्धानयुक्त नीति निर्माणलाई प्राथमिकता दिनु आवश्यक छ ।
संसदभित्रको उज्यालो खोज्दै बिहानको आशा
संसदभित्र साँझपखका क्षणहरू सुनसान लाग्छन्, बहस सकिएको, कुर्सीहरू खाली, माहौल सुनसान । त्यति बेला म सोच्ने गर्छु– भोलिको संसद कस्तो होला ? भोलि म जनताको सपना बोकेर फेरि यही भवनमा के नयाँ कुरा राख्न सकुँला ? त्यो प्रश्नले मलाई पुनः ऊर्जावान् बनाउँछ ।
मलाई विश्वास छ, इमानदार प्रयासलाई निरन्तरता दिइयो भने संसद जनताको मन्दिर बन्न सक्छ । त्यो मन्दिर, जहाँ नेता होइन, जनताको आवाजको पूजा गरिन्छ । म आज फेरि जनताको विश्वासलाई काँधमा बोकेर अगाडि बढ्न प्रतिबद्ध छु– शब्दले होइन, कर्मद्वारा प्रमाणित हुने सांसद बन्ने दृढ अठोटसहित परिवर्तनको माध्यम बनाउने संकल्पमा छु । शिलापत्र







Facebook Comments