काठमाडौँ । इजरायलले अब औपचारिक रूपमै गाजा सहरमाथि कब्जा गर्ने घोषणा गरेको छ । यसअघि गाजापट्टी मानवरहित बनाउने चेतावनी दिँदै आएको इजरायलले शुक्रबार भने सम्पूर्ण गाजामाथि कब्जा गर्ने घोषणा गरेको हो ।

इजरायलको सेक्युरिटी क्याबिनेटले गाजामाथिको कब्जा-योजनालाई शुक्रबार बिहान स्वीकृति दिएको हो । त्यससँगै इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले युद्ध अन्त्यका लागि भन्दै ५ बुँदे सिद्धान्त सार्वजनिक गरेको छ ।

'युद्ध क्षेत्रबाहिर रहेका सर्वसाधारणलाई मानवीय सहायता उपलब्ध गराउनेक्रममा इजरायली सुरक्षा बल (आईडीएफ) ले गाजा सहर कब्जामा लिनका लागि आवश्यक तयारी गर्नेछ।'

इजरायलले भनेको ५ बुँदे सिद्धान्त के हो ?

हमास समूहको निशस्त्रीकरण
मृत र जीवित सबै बन्धक फिर्ता गर्नुपर्ने
गाजा पट्टीलाई असैनिकीकरण गरिनुपर्ने
गाजा पट्टीमाथि इजरायली सुरक्षा बलले कब्जा गर्ने
हमास वा प्यालेस्टिनी प्राधिकरण नभएको वैकल्पिक नागरिक सरकारको अस्तित्व
के भन्छन् नेतान्याहु ?

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले गाजामाथि पूर्ण कब्जा गरिने बताएका छन् । फक्स न्युजसँगको अन्तर्वार्तामा उनले भनेका छन्, 'हामी गाजामाथि पूर्ण रूपमा कब्जा चाहन्छौँ । हाम्रो सुरक्षा सुनिश्चित गर्नका लागि हामीले गाजाबाट हमासलाई हटाउन चाहन्छौँ । गाजालाई हमासको आतंकबाट मुक्त गर्न चाहन्छौँ ।'

साथै नेतान्याहुले गाजालाई नागरिकहरू संलग्न वैकल्पिक सरकारलाई सुम्पिन चाहेको पनि बताएका छन् । उनले अगाडि भनेका छन्, 'हामी एक सुरक्षा दायरा चाहन्छौँ, गाजामाथि शासन चाहँदैनौँ । हामीले त्यहाँ प्रशासनिक निकाय पनि राख्दैनौँ ।'

इजरायलमै भइरहेको छ विरोध

हालै इजरायलमा भएको एक सर्वेक्षणमा अधिकांश इजरायली जनता बन्धकहरूको रिहाइका लागि सरकारले हमाससँग सम्झौता गर्नुपर्ने बताएका थिए ।

इजरायली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमिरले नेतान्याहुलाई गाजामाथि कब्जा गर्नु 'एउटा पासोमा फस्नुजस्तै' हो भनेका थिए । गाजामाथि थप प्रतिक्रिया देखाउँदै २० बन्धक र थकित सैनिकको जीवनमा खतरा बढ्ने चेतावनी दिएका थिए । गार्डियनका अनुसार आईडीएफले अक्टोबर ७ सम्ममा गाजा सहर खाली गर्ने योजना बनाएको छ ।

गाजामा कति छन् मानिस ?

करिब ३६५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको गाजामा झन्डै २१ लाख मानिसको बसोबास छ । गाजा झन्डै नेपालको ललितपुर(३८५ वर्गकिलोमिटर ) जिल्लाबराबर छ । हमासले ७ अक्टोबर २०२३ मा इजरायली भूमिमा आक्रमण गरेपछि झन्डै दुई वर्ष लगातार इजरायलले आक्रमण गरिरहेको छ ।

युद्ध सुरु भएयता भने प्यालेस्टाइनकै जनसंख्या घट्दो क्रममा रहेको छ । प्यालेस्टाइनमा मात्र इजरायली आक्रमणमा ६१ हजारभन्दा बढी मानिस मारिएका छन् जसमा अधिकांश महिला र बालबालिका रहेका छन् । त्यस्तै इजरायलतर्फ हमासको आक्रमणमा परी झन्डै १२ सय मानिस मारिए । एजेन्सी