काठमाडौँ । इजरायलले गाजालाई नियन्त्रणमा लिने योजना अनुमोदन गरेको विरोधमा जेरुसेलममा हजारौँले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले सरकारको पूर्ण नियन्त्रण योजनामा आक्रोश व्यक्त गर्दै प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको निवासतर्फ प्रदर्शन गरेका हुन् ।

पूर्वसैनिक म्याक्स क्रेस 'म अस्वीकार गर्छु' लेखिएको प्लेकार्ड बोकेर मार्चमा सहभागी भएका थिए । बीबीसीसँग कुरा गर्दै उनले भने, “हामी युद्ध लडेका ३५० भन्दा बढी सैनिक नेतन्याहूको राजनीतिक युद्धलाई अस्वीकार गर्छौं ।”

तेल अभिभ, हाइफालगायत सहरमा पनि विरोध प्रदर्शन भएको छ । संयुक्त राष्ट्रसंघ, बेलायत, फ्रान्स, अस्ट्रेलिया, टर्की, जर्मनी, फिनल्यान्ड र क्यानडाले इजरायलको गाजा योजनाको निन्दा गरेका छन् ।संयुक्त राष्ट्रसंघले इजरायलको कारबाहीले गाजामा बन्धक र प्यालेस्टिनी नागरिकका लागि विनाशकारी परिणाम निम्त्याउन सक्ने चेतावनी दिएको छ ।

इजरायली सुरक्षा क्याबिनेटले शुक्रबार गाजा सहर नियन्त्रण गर्न पाँचबुँदे योजनालाई अनुमोदन गरेको थियो । इजरायली सेनाले यी बुँदा योजनाअनुसार गाजा नियन्त्रण र युद्ध समाप्त गर्ने बताएको छ ।