काठमाण्डाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बहुप्रतिक्षित शिखर वार्ता शुक्रबार हुँदैछ।

अलास्कास्थित अमेरिकी सैन्य अड्डामा दुई देशका राष्ट्रप्रमुखबीच युक्रेनमा युद्धविराम गर्ने सन्दर्भमा भोलि वार्ता हुन लागेको हो। 

यो वार्तामा युद्धरत युक्रेन भने सहभागी हुनेछैन। युक्रेनको प्रत्यक्ष सहभागीता नहुने भएपछि युरोपेली नेताहरूले संयुक्त रूपमा ट्रम्पसँग युद्धविरामका सन्दर्भमा युक्रेन र युरोपको सिद्धान्त र सर्तहरू प्रस्तुत गरेका छन्।

बुधबार ट्रम्पसँग भर्चुअल संवादका क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरुले ट्रम्पलाई पुटिनसँग युक्रेनमा युद्धविरामबारे वार्ताका लागि आफ्ना पाँच वटा सिद्धान्त र सर्त राखेका थिए।

अमेरेकी पत्रिका द न्युयोर्क टाइम्सका अनुसार ती पाँचै सिद्धान्त वा सर्तमा ट्रम्प राजी भएका छन्। युक्रेनी राष्ट्रपति जेलेन्स्की र जर्मन चान्स्लर फ्रेडरिक मर्जले पनि ती सर्तहरुमा ट्रम्प सहमत भएको पुष्टि गरेका छन्।

भर्चुअल संवादमा प्रस्तुत भएका ती सिद्धान्तहरु जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गरेका छन्।

पहिलो सर्त युद्धविराम सहमतिमा युक्रेनको संलग्नताबारे छ।
जेलेन्स्कीले  ट्रम्पले पुटिनसँग वार्ता गर्दा युक्रेनसँग सम्बन्धित सबै कुरा केवल युक्रेनसँगै छलफल हुनुपर्ने भनेका छन्।  यसको अर्थ जमिनको अदलाबदली लगायतका सम्झौताका लागि उनले त्रिपक्षीय वार्ता हुनुपर्ने भनेका छन्।

ट्रम्पले सुरूवातमै जेलेन्स्कीलाई सहभागी गराउने सम्भावना नभए पनि पुटिनसँगको आफ्नो छलफल सकारात्मक भए तत्कालै त्रिपक्षीय वार्ता हुने बताएका छन्।

यद्यपि त्रिपक्षीय वार्ता अलास्कामा सोही दिन हुने हो की अर्को दिन तय गरिन्छ भन्न विषय चाहिँ ट्रम्पले खुलाएका छैनन्।

ट्रम्प आफै भने सुरूवातमै जेलेन्स्कीलाई पनि वार्तामा सहभागी गराएर युद्धविरामसँगै अन्य सम्झौताहरूबारे पनि छलफल गर्ने पक्षमा थिए। तर पुटिन सुरूमै जेलेन्स्कीलाई बैठकमा सहभागी गराउने पक्षमा नदेखिएपछि अलास्कामा पहिलो भेटमा ट्रम्प र पुटिनले मात्रै वार्ता गर्ने तय भएको हो।

ट्रम्पले पुटिन युद्धविरामका लागि तयार नभए वा अलास्काको वार्ता सकारात्मक नभए रूसले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएका छन्।

ती परिणाम के हुन् भनेर तत्काल खुलाएका भने छैनन्। पत्रकारहरूले रूसमाथिको प्रतिबन्ध थप कडाइ गर्ने र भन्सार दर बढाउने सम्भावनाबारे ट्रम्पलाई प्रश्न समेत गरेका थिए। जबाफमा ट्रम्पले त्यसबारेमा अहिल्यै सार्वजनिक नगर्ने भनेका थिए।

दोस्रो सर्त, युक्रेनको सुरक्षा ज्ञारेन्टीबारे छ।

अलास्काको वार्तामा जेलेन्स्की सहभागी नहुने भनेपछि ट्रम्पले रूसलाई फाइदा हुनेगरी सहमति गर्न सक्छन् भन्नेमा युरोपेली नेताहरू सशंकित थिए।

युद्धविराम सहमति भए पनि निकट भविष्यमा रूसले पुनः युक्रेनमाथि आक्रमण नगर्ने सुनिश्चित गर्नपर्ने उनीहरूको माग थियो। जेलेन्स्कीले पनि युक्रेनको सुरक्षा ज्ञारेन्टी हुनुपर्ने अडान लिइरहेका छन्।

त्यसमा पनि ट्रम्प राजी भएको जर्मन चान्स्लर मर्ज र जेलेन्स्कीले बताएका छन्।

ट्रम्पले युक्रेनको सुरक्षा ज्ञारेन्टी अमेरिकाले गर्ने बताए। 'अमेरिका युक्रेनलाई सुरक्षा ज्ञारेन्टी दिन्छ तर नेटोको ढाँचामा होइन,' उनले भनेका छन्।

युरोपेली नेताहरूले ट्रम्पसँग राखेको तेस्रो सर्त युक्रेनको युरोपेली संघ र नेटो सदस्यबारे छ।

पुटिनले युक्रेनलाई नेटोमा आबद्ध हुन नपाउने सर्तलाई शान्ति वार्ताको प्रमुख अडानका रूपमा प्रस्तुत गर्दै आइरहेको छ। युरोपेली नेताहरूले ट्रम्पलाई पुटिनसँग वार्ता हुँदा नेटोमा संलग्नताबारे रूसले निर्णय गर्न नमिल्ने सर्त राखेका छन्।

चौथो सर्त युद्धविराम नभए रूसमाथि कडा प्रतिबन्ध लगाउनेबारे छ।

युक्रेनमा रूसी हमलापछि अमेरिका र युरोपेली मुलुकहरूले रूसमाथि विभिन्न प्रतिबन्ध लगाएका छन्।

राष्ट्रपतिको जिम्मेवारी सम्हालेको सुरूवाती चरणमा ट्रम्प पुटिनप्रति लचिलो पनि बनेका थिए। उनले पुटिनलाई फकाएर युक्रेनमा युद्धविराम गर्ने रणनीति लिए पनि सफल हुन सकेन।

आफ्ना मध्यपूर्व हेर्ने दूतलाई पटकपटक मस्को पठाएर छलफल गरेका ट्रम्पले पुटिनसँगै बारम्बार टेलिफोन वार्ता पनि गरेका थिए।

तर लगातारको प्रयत्नपछि पनि पुटिन युद्धविरामका लागि तयार नभएपछि पछिल्लो समय ट्रम्प उनीसँग रिसाएका छन्। उनले युद्धविराम नगरे रूसमाथिको प्रतिबन्ध कडा पारिने, भन्सार दर एक सय प्रतिशतभन्दा बढी  लगाउने र रूसबाट तेल किन्ने देशहरूमाथि पनि भन्सार दर बढाउने धम्की दिएका छन्।

युरोपेली मुलुकहरूले पनि बुधबारको भर्चुअल बैठकमा अलास्काको वार्ता पछि पनि युद्धविरामका लागि पुटिन तयार नभए प्रतिबन्ध कडा बनाउनुपर्ने सर्त राखेका छन्।

पछि ट्रम्प आफैले त्यसो नभए रूसले गम्भीर परिस्थितिको सामना गर्नुपर्ने चेतावनी दिइसकेका छन्।

पाँचौं सर्तमा युरोपेली नेताहरूले ट्रम्प र पुटिनबीचको वार्ता तत्काल युद्धविराम गर्ने  विषयमा केन्द्रित हुनुपर्ने बताएका छन्।

उनीहरूले युद्धविराम नहुँदासम्म भूमि आदानप्रदान लगायत अन्य सम्झौतामा  छलफल गर्न नहुने भनेका छन्।

यी पाँचै विषया ट्रम्प सहमत भएको जर्मन चान्स्लर मर्ज र युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बताएका छन्। एजेन्सी