काठमाण्डाैँ । अहिले अमेरिका र भारतको सम्बन्ध चिसिएको छ। पहिले चीनलाई दबाबमा राख्न वासिङ्टनले दिल्लीको उपयोग गथ्र्यो। एसिया प्रशान्त क्षेत्रमा भारतसँग निकट हुँदा चीनलाई काउन्टर गर्न सकिन्छ भन्ने तर्क अमेरिकामा थियो।

रुससँग तेल किनेको झोंकमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले दिल्लीमाथि ५० प्रतिशत कर लगाउने घोषणा गरेको छ। अमेरिकाको दबाब बढेपछि भारत चीनसँग नजिकिन थालेको चर्चा छ। हालै चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमण र निकट भविष्यमा प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमण यसका संकेत हुन्।

यसबिच अमेरिकाले नयाँ कदम चालेको छ। ट्रम्पले ट्रुथ सोसल प्लेटफर्म मार्फत सर्जियो गोरलाई भारतका लागि अमेरिकी राजदूतका साथै दक्षिण तथा मध्य एसियाली मामिलाका विशेष दूत नियुक्त गरेको घोषणा गरे। यो नियुक्तिले अमेरिकाको दक्षिण र मध्य एसियाली नीतिमा परिवर्तनको संकेत गरेको छ। अमेरिका अब भारत, नेपाल, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान, मालदिभ्स, काजकिस्तान, किर्गिस्तान, ताजकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानलाई एउटै डालोमा राखेर हेर्न चाहन्छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गोरको नियुक्तिलाई समर्थन गर्दै भनेका छन्, ‘राष्ट्रपति ट्रम्पले सर्जियो गोरलाई भारतका लागि राजदूत प्रस्ताव गरेको निर्णयले म उत्साहित छु। उनले हाम्रो देशको महत्त्वपूर्ण सम्बन्धमा उत्कृष्ट प्रतिनिधित्व गर्नेछन्।’

उनले भारत–अमेरिका सम्बन्धलाई रणनीतिक महत्त्व दिएको सन्देश दिए। गोरलाई ट्रम्पको ‘अमेरिका फर्स्ट ’ नीति कार्यान्वयन गर्न सक्षम व्यक्तिका रूपमा चित्रण गरिएको छ। तर उनको कूटनीतिक अनुभवको कमीले भारत र क्षेत्रीय देशहरूमा यसको महत्त्व बढाएको छ। ट्रम्पले ट्रुथ सोसलमा लेखे, ‘सर्जियो गोर मेरो लामो समयदेखिको मित्र हुन्। उनले मेरो चुनावी अभियानमा सहभागिता जनाए, मेरो सर्वाधिक बिक्रीको पुस्तक प्रकाशित गरे र बृहत्तर पोलिटिकल एक्सन कमिटी–प्याक सञ्चालन गरे। उनको टोलीले अति चाँडै संघीय सरकारका विभागमा चार हजार ‘अमेरिका फस्र्ट देशभक्त’ नियुक्त गरे। विश्वको सबैभन्दा जनसंख्या भएको क्षेत्रमा मेरो अजेन्डा कार्यान्वयन गर्न सर्जियो उपयुक्त व्यक्ति हुन्।’

सर्जियो गोरको प्रतिक्रिया रहेको छ, ‘राष्ट्रपति डोनल्ड ट्रम्पको अविश्वसनीय विश्वास र भरोसाप्रति अत्यन्त कृतज्ञ छु, जसले मलाई भारतका लागि अर्को अमेरिकी राजदूतका साथै दक्षिण तथा मध्य एसियाली मामिलाका विशेष दूतका रूपमा मनोनीत गरे। यो प्रशासनको उत्कृष्ट कार्यमार्फत अमेरिकी जनताको सेवा गर्नु मेरो सबैभन्दा गर्विलो क्षण हो। हाम्रो ह्वाइट हाउसले अमेरिकालाई पुनः महान् बनाउन ऐतिहासिक नतिजा हासिल गरेको छ। संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गर्नु मेरो जीवनको सम्मान हुनेछ।’

३९ वर्षीय गोरको जन्म सन् १९८६ मा तत्कालीन सोभियत संघ (उज्बेकिस्तान) को तास्कन्दमा भएको थियो। उनको परिवार सन् १९९९ मा अमेरिका बसाइँसराइ गरेको थियो। जर्ज वासिङ्टन विश्वविद्यालयमा उनले कन्जरभेटिभ राजनीतिमा संलग्नता बढाए र रिपब्लिकन नेताहरूसँग काम गरे।

सन् २०२० मा ट्रम्पको अभियानमा कोष संकलन र कर्मचारी नियुक्तिमा उनले महत्त्वपूर्ण भूमिका खेले। तर कूटनीतिक अनुभवको अभाव र ट्रम्पप्रति बफादारीले यो नियुक्ति विवादास्पद बनेको छ। अर्बपति एलन मस्कले गोरको नियुक्तिको प्रत्यक्ष आलोचना नगरे पनि विगतमा ट्रम्प प्रशासनको कर्मचारी छनोटमा तनाव देखिएको थियो।

मस्कले गोरलाई ‘सर्प’ भन्दै सुरक्षात्मक जाँच कागजात नभरेको आरोप लगाएका थिए। यो विवाद गोरले मस्कका सहयोगी ज्यारेड इस्याकम्यानको नासा प्रमुखको नामांकन रोकेपछि सुरु भएको थियो। मस्कले सरकारी खर्च कटौती गर्ने ट्रम्प प्रशासनको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सीबाट राजीनामा दिएका थिए।

भारतमा गोरको नियुक्तिप्रति सरकारी प्रतिक्रिया नआए पनि जनमानसमा निराशा छ। विश्वको चौथो अर्थतन्त्र मान्ने दिल्लीले आफूलाई पाकिस्तानसहितका देशसँग एउटै टोकरीमा राखिएको मन पराएको छैन। भारत अमेरिकाले आफूलाई अलग्गै हेरोस् भन्ने चाहन्छ। भारतमा ट्रम्पविरोधी भावना बढेको छ। निर्वाचनअघि भारतीयहरू ट्रम्पका कट्टर समर्थक थिए। प्रधानमन्त्री मोदीले पहिलो कार्यकालमा ‘हाउडी मोदी’मार्फत ट्रम्पका लागि भोट मागेका थिए तर त्यो चुनाव ट्रम्पले हारे।

अमेरिकाको कमान्ड डेमोक्रेटिक उम्मेदवार जो बाइडेनको हातमा पुग्यो। बाइडेनले भारतलाई रणनीतिक साझेदार माने पनि मानवअधिकार, प्रेस स्वतन्त्रता र धार्मिक स्वतन्त्रतामा मोदीको आलोचना गर्थे। यो भारतीय जनता पार्टीलाई मन परेन। जसले गर्दा कमला ह्यारिस उम्मेदवार हुँदा पनि भारतीयहरूले ट्रम्पलाई नै रोजे। तर ट्रम्पले ह्वाइट हाउस जितेपछि भारतका लागि शुभ समाचार आएन। अमेरिकाले रुसी तेल खरिद गरेको भन्दै भारतमाथि ५० प्रतिशत व्यापारिक शुल्क र जरिबाना लगायो।

यस वर्ष मेमा पहलगाममा भएको आतंकवादी हमलापछि भारतले सैन्य संघर्षमा चाहेको नतिजा पाउन सकेन। ट्रम्पको धम्कीले युद्ध रोकियो। भारतले यो कुरा अस्वीकार गर्छ। नोबेल शान्ति पुरस्कारको दौडमा रहेका ट्रम्पलाई भारतले युद्ध रोकेको श्रेय नदिएर चिढ्याएको छ। पाकिस्तानले ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने माग गरेको थियो।

गोरको नियुक्तिलाई भारतले दबाबको रणनीतिका रूपमा हेरेको छ। चीनले यसलाई अमेरिकाको दक्षिण एसियामा प्रभाव विस्तारको कदम ठान्न सक्छ। चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणपछि ट्रम्पले गोरलाई नियुक्त गरेर दक्षिण र मध्य एसियाली नीतिमा नयाँ गति लिने आकलन छ। गोरको नियुक्ति अमेरिकी सिनेटले अनुमोदन गर्नुपर्छ। रिपब्लिकनको बलियो उपस्थितिले उनको नियुक्ति रोकिने सम्भावना छैन। एजेन्सी