काठमाडौँ । अफगानिस्तानको पूर्वी क्षेत्रमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ६१० पुगेको छ । अफगानिस्तानको गृह मन्त्रालयका अनुसार, एक हजार ३०० भन्दा बढी घाइते भएका छन् ।

स्थानीय समयअनुसार, आइतबार राति ११ः४७ बजे अफगानिस्तानको नान्गारहार र कुनार प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको गहिराइ ८ किलोमिटर थियो । त्यसपछि ४.५ देखि ५.२ म्याग्निच्युडका कम्तीमा तीनवटा परकम्प गएका थिए ।

समाचार एजेन्सी एएफपीका अनुसार, भूकम्पको धक्का अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामाबादसम्म महसुस गरिएको थियो । भूकम्पबाट धेरैजसो क्षति कुनार प्रान्तमा भएको छ, जहाँको लगभग ९० प्रतिशत जमिन पहाडी छ । भूकम्प प्रभावित क्षेत्रमा जाने सडक धेरै साँघुरा छन् । तीमध्ये धेरै पहिरोका कारण बन्द भएका छन् ।

तालिबान अधिकारीहरूले आफूसँग सीमित स्रोतसाधन रहेको र प्रभावित क्षेत्रहरूमा हेलिकप्टर उपलब्ध गराउन र पुग्न अन्तर्राष्ट्रिय संस्थाहरूबाट सहयोग खोजिरहेको बताएका छन् ।