
काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित क्वेटामा भएको आत्मघाती बम विस्फोटमा २५ जनाको ज्यान गएको छ । अन्य दर्जनौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको एक स्टेडियमको पार्किङनजिकै भएको विस्फोटमा १४ जनाको ज्यान गएको छ । अन्य ३१ जना घाइते भएका छन् ।
विस्फोटमा घाइते भएकामध्ये एक जमान बलोचले बताएअनुसार, बैठक सकिएपछि उनी केही पर आफ्नो साथीको प्रतीक्षा गरिरहेका बेला अचानक एउटा ठूलो विस्फोट भएको थियो । उनले विस्फोटपछि धेरै मानिसहरू भुइँमा लडिरहेको र चारैतिर रुवाबासी चलिरहेको देखेको बताए ।
यो घटना नेसनल पार्टी (बीएनपी)को एक र्यालीपछि भएको थियो । बीएनपीले बलुची समुदायको अधिकार र आर्थिक विकासका लागि अभियान चलाउँदै आएको छ ।
पार्टीका प्रमुख अख्तर मेंगलले क्वेटा र्यालीमा भाषण दिएर बाहिर निस्किँदै गर्दा आक्रमण भएको थियो । उनले सामाजिक सञ्जालमा आफू सुरक्षित रहेको बताएका छन् ।
पाकिस्तानका सुरक्षाकर्मीहरूले यस प्रान्तमा एक दशकभन्दा बढी समयदेखि विद्रोहको सामना गर्दै आएका छन् । सन् २०२४ मा यस क्षेत्रमा हिंसामा ठूलो वृद्धि भएको थियो । जसमा ७८२ जनाको ज्यान गएको थियो ।
यसैगरी, मंगलबार बलुचिस्तानकै इरानको सिमाना नजिक एक जिल्लामा अर्धसैनिक बलको गाडी गुडिरहेका बेला एउटा घरेलु बम विस्फोट हुँदा पाँच जनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् ।
हालसम्म कुनै पनि समूहले यी दुवै आक्रमणको जिम्मेवारी लिएको छैन ।
राज्य सरकारले घटनाको छानबिन गर्न आदेश दिएको छ । बलुचिस्तानका मुख्यमन्त्री मीर सरफराज बुगतीले घटनाको निन्दा गर्दै विस्फोट मानवताका सत्रुहरूको कायरतापूर्ण कार्य भएको बताएका छन् ।
उनले भने, “आतंकवादीहरूको खराब मनसायलाई जुनसुकै मूल्यमा पनि असफल पारिनेछ ।”
साथै, अर्को घटनामा पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा ६ जना सैनिकको ज्यान गएको बताइएको छ ।







Facebook Comments