काठमाडौँ । अफगानिस्तानको दुर्गम दक्षिण-पूर्वी क्षेत्रमा बिहीबार राति ५.६ म्याग्निच्युडको भूकम्प गएको छ। यो पछिल्लो छ दिनमा तेस्रो भूकम्प हो।

यसैबीच,अघिल्लो भूकम्पबाट मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ। बिहीबार स्थानीय समय अनुसार राति ८:५६ बजे भूकम्प गएको थियो। नान्गरहार र कुनार प्रान्तमा भूकम्पको धक्का महशुस भएपछि मानिसहरू आत्तिएर आफ्नो आश्रयस्थलबाट बाहिर निस्किएका थिए।

यद्यपि,बिहीबार राति आएको भूकम्पमा भएको मानवीय वा सम्पत्तिको क्षतिको आधिकारिक पुष्टि भएको छैन। तर स्थानीय डाक्टरहरूले बीबीसीलाई बताएअनुसार १७ जना घाइतेलाई क्षेत्रीय अस्पतालमा ल्याइएको छ।

संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालयका अनुसार गत आइतबारको भूकम्पमा हालसम्म १ हजार ३६८ जनाको मृत्यु भएको छ भने २ हजार १८० जना घाइते भएका छन्। 
बीबीसी उर्दूका अनुसार बिहीबार राति पाकिस्तानका धेरै क्षेत्रमा भूकम्पको झट्का महशुस गरिएको थियो।