काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबार भारतविरुद्ध दिएको आफ्नो बयानबाट करिब १२ घण्टाभित्रै पछि हटेका छन् ।

उनले साँझ ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा एक प्रश्नको जवाफ दिँदै भने, “म सधैँ मोदीको साथी हुनेछु । भारतसँगको सम्बन्धलाई सुधार्नका लागि म सधैँ तयार छु ।”

यसअघि, शुक्रबार बिहान करिब उनले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ’मा लेख्दै भनेका थिए, “हामीले भारत र रुसलाई चीनको हातमा गुमाएजस्तो देखिन्छ । आशा छ, उनीहरूको भविष्य राम्रो हुनेछ ।”

पत्रकार सम्मेलनमा ट्रम्पले भारत र अन्य देशहरूसँग चलिरहेको व्यापार वार्तालाई राम्रो भएको बताए । तर, युरोपेली संघ (इयू)ले गुगलमाथि ३.५ अर्ब डलर जरिवाना लगाएकोमा भने असन्तुष्टि व्यक्त गरे ।

यसका अतिरिक्त, उनले भारतले रुसी तेल खरिद गरेकाले आफू निराश भएको पनि स्पष्ट पारे । उनले भने, “हामीले भारतमाथि यसका लागि ५० प्रतिशतको भारी ट्यारिफ लगाएका छौँ ।”

प्रधानमन्त्री मोदीको ट्रम्पलाई लिएर दिएको प्रतिक्रियाबारे भारतीय विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री मोदीले अमेरिकासँगको साझेदारीलाई धेरै महत्त्व दिने गरेको र ट्रम्पसँग सधैँ धेरै राम्रो व्यक्तिगत सम्बन्ध रहेको बताए ।

उनले भने, “अहिलेको मुद्दा हामी अमेरिकासँग जोडिएका छौँ भन्ने हो ।”

यसैबीच, शनिबार बिहान भारतीय प्रधानमन्त्री मोदीले ट्रम्पको बयान सेयर गर्दै सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै भनेका छन्, “म राष्ट्रपति ट्रम्पको भावना र हाम्रो सम्बन्धबारे उहाँको विचारको मनैदेखि प्रशंसा गर्छु र उनलाई पूर्ण समर्थन गर्छु ।”

उनले भारत–अमेरिकाबीच एक सकारात्मक र दूरगामी रणनीतिक साझेदारी भएको पनि बताए । एजेन्सी