
काठमाडौं । मंसिर शुक्ल पूर्णिमाका दिन आज किराँत समुदायले उँधौली पर्व धुमधामका साथ मनाउँदैछन् । यस पर्वलाई पितृको सम्मान र प्रकृतिको पूजाका रूपमा लिइन्छ ।
किराँत समुदायभित्रका विभिन्न जातिले यो पर्वलाई फरक–फरक नामले पुकार्ने गर्छन् । याक्खाले ‘चासुवा’, सुनुवारले ‘फोलस्यादर’, राईले ‘उँधौली सकेला’ र लिम्बूहरूले ‘चासोक तङ्नाम’का नाममा यो पर्व मनाउँछन् ।
लिम्बू समुदायले भने तीन दिनअघिदेखि नै चासोक तङ्नाम मनाउन सुरु गरिसकेका छन् । नाम फरक भए पनि समग्रमा यसलाई ‘उँधौली’का रूपमा चिनिन्छ ।
किराँत समुदायले आफूले लगाएको नयाँ अन्नबाली पाकेपछि इष्टदेवता र पितृलाई चढाएर मात्र खाने परम्परा छ । बाली लगाउने बेलामा वैशाख शुक्ल पूर्णिमामा ‘उँभौली’ मनाइन्छ भने बाली भित्र्याउने बेलामा ‘उँधौली’ मनाइन्छ । उँभौलीमा बाली राम्रो होस् भनी कामना गरिन्छ भने उँधौलीमा अन्न फलाएकोमा भूमिलाई धन्यवाद दिइन्छ ।
उँभौली र उँधौलीले मानिसको बसाइँसराइ र ऋतु परिवर्तनलाई सङ्केत गर्छन्। जाडो मौसम सुरू भएपछि लेकबाट बेसी झर्ने भएकाले ‘उँधौली’ र गर्मी सुरु भएपछि बेसीबाट लेक उक्लने भएकाले ‘उँभौली’ भनिएको हो ।
पर्वका अवसरमा आज बिहानैदेखि किराँत समुदायका मानिसहरू जातीय वेशभूषामा सजिएर भेला भएका छन् । उनीहरू च्याब्रुङ र ढोलको तालमा साकेला, चण्डीनाच लगायतका परम्परागत नाच नाचेर मनोरञ्जन गर्छन् ।

आजकै दिन खस आर्य समुदायले धान्य पूर्णिमा र नेवार समुदायले यःमरि पुन्हि (योमरी पूर्णिमा) मनाउँदैछन् । नेपाल सम्वत अनुसार थिंलाथ्व पूर्णिमा (मार्ग शुक्ल पूर्णिमा) का दिन मनाइने यो पर्वमा विशेष प्रकारको रोटीको भोग गर्ने गर्दछ जसलाई योमरी भनिन्छ । योमरी खाने दिन भएको कारण यस दिनलाई योमरी पूर्णिमा भनिएको हो । नयाँ धान भित्र्याएको खुसीयालीमा हर्षोल्लासका साथ यो चाड मनाउने गरिन्छ । यसरी भित्र्याइएको नयाँ धानको चामलबाटै योमरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा योमरी लगायत लक्ष्मी, गणेश, कुवेर, नाङ्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी (मुतुमारी) बनाई पूजा गरी चढाउने गरिन्छ । योमरीलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ हुने जनविश्वास रहिआएको छ ।
सबै पर्वको साझा उद्देश्य नयाँ अन्नबाली देवतालाई चढाएर खुसी मनाउनु हो । सरकारले उँधौली पर्व र योमरी पूर्णिमाका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ ।

Facebook Comments