काठमाडौं । पछिल्लो ५१ दिनमा मधेश प्रदेशमा ३ मुख्यमन्त्रीको राजीनामापछि अर्को मुख्यमन्त्रीको खोजी भइरहेको छ ।

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार राजीनामा दिए । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दलका नेता यादवलाई कात्तिक २४ गते बिहानै साढे ५ बजे बर्दिबासको एक होटलमा मुख्यमन्त्रीको शपथ ग्रहण गराएकी थिइन् । 

यो घटनाक्रमपटि संघीय सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरे भने पछि मधेश प्रदेश सभाका दुई तिहाइ बहुमत सदस्यले एमालेबाटै सभामुख भएका रामचन्द्र मण्डललाई पनि हटाए ।

मुख्यमन्त्री नियुक्ति विवादलाई लिएर सर्वोच्च अदालतमा रिट दर्ता भएपछि सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश दियो । तर विश्वासको पाउने अवस्था नभएपछि राजीनामा दिन बाध्य भए । 

सरोजभन्दा अघि मुख्यमन्त्री थिए जितेन्द्र सोनल । लोसपा नेपालबाट मुख्यमन्त्री बनेका सोनलले कार्तिक २२ गते राजीनामा दिनु पर्यो । आफ्नै गठबन्धनका दुई सांसद रहबर अन्सारी र माला कर्णले मत कसैलाई नदिने भनेपछि मुख्यमन्त्री सोनलले विश्वासको मत लिनु अघि नै राजीनामाको घोषणा गरे ।

सोनलअघि जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिश कुमार सिंहले असोज २८ गते राजीनामा दिनु पर्यो । उनको आफ्नै पार्टी जनमत नै सरकारबाट फिर्ता भएपछि उनले विश्वासको मत लिन समय माग्दै राजीनामा दिएका हुन् ।


यसरी ५१ दिनमा मधेशमा ३ मुख्यमन्त्रीको राजीनामापछि अर्को मुख्यमन्त्री चयनका लागि प्रदेश प्रमुख सुरेन्द्र लाभले दाबी गर्न बुधबार आह्वान गरेका छन् ।

पहिलो पटक अर्थात २०७४ को निर्वाचनपछि भने मधेशमा ५ वर्ष सरकार टिकेको थियो । केन्द्रमा भएका सबैखाले राजनीतिक उलटफेरमा पनि मधेश सरकार पाँच वर्ष स्थिर भएर बस्यो । तर दोस्रो कार्यकालमा आएर भने मधेश सबैभन्दा अस्थिर सरकार भएको प्रदेश बन्न पुगेको छ ।

मधेसजस्तै अन्य प्रदेशका सरकार पनि अस्थिर छन् । कोशी प्रदेशमा पाँचपटक मुख्यमन्त्री फेरबदल भएको छ । त्यसैगरी बागमतीमा तीन, गण्डकीमा, लुम्बिनी र सुदूरपश्चिममा चार र कर्णालीमा दुईपटक मुख्यन्त्री फेरिएका छन् ।