नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनका उम्मेदवार चुनावभन्दा दुईदेखि तीन महिनाअघि नै टुंगो लगाउने भएको छ। सभापति गगन थापाले पुरानै शैलीमा टिकट वितरण गर्ने परिपाटी अन्त्य गर्दै पार्टीका सदस्यले डिजिटल मतदानमार्फत उम्मेदवार चयन गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइने बताएका छन्।
स्याङ्जामा आज आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र समयमै सम्पन्न गरिने बताए। पार्टीको विधानमै सदस्यहरूले डिजिटल मतदान गरेर उम्मेदवार तय गर्ने व्यवस्था समावेश गरिएको उल्लेख गर्दै उनले यसको व्यावहारिक कार्यान्वयन आगामी स्थानीय तहका उम्मेदवार छनोटबाट सुरु हुने जानकारी दिए।
थापाका अनुसार सुरुमा उम्मेदवारको प्रारम्भिक सूची तयार पारिनेछ। त्यसपछि पार्टीका विभिन्न तहमा छलफल गरी अन्तिम उम्मेदवारको टुंगो लगाइनेछ। निर्वाचनको मुखमा मात्रै टिकट वितरण गर्ने पुरानो अभ्यासले सिर्जना गर्ने विवाद र असन्तुष्टि कम गर्न समयमै उम्मेदवार छनोट गर्ने नीति लिइएको उनको भनाइ छ।
सभापति थापाले पार्टीका क्रियाशील सदस्यताको अद्यावधिक प्रक्रिया पनि एक महिनाभित्र सम्पन्न गरिने बताए। १५औँ महाधिवेशनका क्रममा क्रियाशील सदस्यता अद्यावधिक नगरेका सदस्यलाई समेत अधिवेशनमा सहभागी हुन दिइएको उल्लेख गर्दै उनले उनीहरूको सदस्यता अद्यावधिक प्रक्रिया छिट्टै पूरा गरिने जानकारी दिए।
त्यसैगरी, नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ कात्तिक १२ गते हुने उनले बताए। शपथपछि बस्ने केन्द्रीय समिति बैठकबाट पार्टीको संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र जनताका मुद्दामा केन्द्रित जागरणलगायत अभियान सञ्चालन गर्ने तयारी रहेको सभापति थापाले बताएका छन्।




Facebook Comments