
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि पदाधिकारीमा उम्मेदवारी दर्ता गर्ने क्रम पूरा भएको छ। राष्ट्रिय सभागृहमा भएको मनोनयन दर्तामा सभापतिदेखि सहमहामन्त्रीसम्मका विभिन्न पदमा नेताहरूले उम्मेदवारी दिएका छन्। पछिल्लो विवरणअनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्रीका विभिन्न समूह तथा क्लस्टरमा ठूलो संख्यामा उम्मेदवारी परेको छ।
सभापति पदमा गगनकुमार थापासहित श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गरेका छन्। वरिष्ठ उपसभापतिमा भने विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन्। शर्माले वारिसमार्फत मनोनयन दर्ता गराएका हुन्।
उपसभापतितर्फ खुला समूहमा डा. चन्द्रमोहन यादव, सुरेन्द्रराज पाण्डे, डा. मीनेन्द्र रिजाल, गोविन्द भट्टराई, देवराज चालिसे, मधुप्रसाद आचार्य, धनराज गुरुङ, दीपक गिरी र डा. चन्द्र भण्डारीले उम्मेदवारी दिएका छन्। समावेशीतर्फ विनोद चौधरी, फरमुल्लाह मन्सुर, जीवन परियार, रञ्जित कर्ण र सीता गुरुङले मनोनयन दर्ता गराएका छन्। महिला उपसभापतिमा पुष्पा भुसालले उम्मेदवारी दिएकी छन्। सीता गुरुङले समावेशीतर्फ उपसभापतिमा उम्मेदवारी दर्ता गरेको पुष्टि भएको छ।
महामन्त्री पदमा महिला समूहबाट डिला संग्रौला, रिता खनाल र महालक्ष्मी उपाध्याय ‘डिना’ले उम्मेदवारी दिएका छन्। खुला समूहमा शंकर तिवारी, सुनिल शर्मा, नैनसिंह महर, प्रदीप पौडेल, गुरुराज घिमिरे र अमरसिंह पुनले मनोनयन दर्ता गरेका छन्। रञ्जित कर्णले भने यसअघि महामन्त्रीमा उम्मेदवारी घोषणा गरे पनि उपलब्ध पछिल्लो दर्ता सूचीमा उनको नाम फरक ढंगले उल्लेख भएको देखिन्छ।
सहमहामन्त्रीतर्फ महिला समूहमा प्रतिमा गौतम र नानू बाँस्तोलाले उम्मेदवारी दिएका छन्। खुला समूहमा देवेन्द्रराज कँडेल, रामहरि खतिवडा र डिल्लीराम सुवेदी मैदानमा छन्। पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही र मीन भामले उम्मेदवारी दिएका छन्। खसआर्य समूहबाट मनोजमणि आचार्य, अजयबाबु शिवाकोटी र जगदिश्वरनरसिंह केसीले मनोनयन दर्ता गरेका छन्। नानू बाँस्तोलाले मंगलबार सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गरेको पुष्टि भएको छ।
त्यसैगरी आदिवासी जनजातितर्फ बहादुरसिंह लामाले, थारु समूहबाट तेजुलाल चौधरी र योगेन्द्र चौधरीले उम्मेदवारी दिएका छन्। अल्पसंख्यक समूहबाट आङगेलु शेर्पा, मुस्लिम समूहबाट अब्दुल सत्तार र मधेशी समूहबाट अभिषेकप्रताप शाहले सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन्।
दलित समूहबाट लक्ष्मी परियार, प्रकाश रसाइली ‘स्नेही’, मानबहादुर नेपाली र नरेन्द्र पासवानले सहमहामन्त्री पदका लागि उम्मेदवारी दर्ता गरेका छन्। यससँगै कांग्रेसको नयाँ नेतृत्व चयनका लागि पदाधिकारीका विभिन्न पद र समावेशी समूहमा प्रतिस्पर्धा थप रोचक बनेको छ।





Facebook Comments