काठमाडौँ ।दसैँ, तिहार तथा छठ पर्वको लामो सार्वजनिक बिदाका समयमा पनि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपाली श्रमिकको शव घरसम्म नि:शुल्क पुर्‍याइने भएको छ। वैदेशिक रोजगार बोर्डको सचिवालयले चाडपर्वमा सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सम्बन्धित श्रमिकको घरको ठेगानासम्म शव नि:शुल्क ढुवानी गर्ने व्यवस्था मिलाएको हो।

बोर्डका अनुसार बिदाका दिनहरूमा पनि २४ सै घण्टा सेवा निरन्तर सञ्चालन गर्न सम्पर्क कर्मचारी तथा शव ढुवानी सेवा प्रदायकहरू तोकिएका छन्।

वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २८ (क) बमोजिम वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकको शव विमानस्थलबाट घरसम्म नि:शुल्क पुर्‍याउने कानुनी व्यवस्था छ। सोही बमोजिम चाडपर्वको समयमा सेवालाई सहज र व्यवस्थित बनाउन बोर्डले विशेष तयारी गरेको जनाएको छ।

आवश्यक परे कहाँ सम्पर्क गर्ने?

शव ढुवानीसम्बन्धी जानकारी, सहजीकरण वा समन्वयका लागि बोर्डकासूचना अधिकारी तथा प्रवक्ता शारदा भण्डारीरसुरज ढुंगानालाई सम्पर्क गर्न सकिनेछ।

त्यसैगरी, शव ढुवानी सेवाका लागि बोर्डसँग सम्झौता भएका निम्न सेवा प्रदायक संस्थाहरूसँग सीधा सम्पर्क गर्न सकिनेछ:

  • सेती गणेश सप्लायर्स

  • आरडी ढुवानी सेवा

  • बुद्धध्वज ढुवानी सेवा

वैदेशिक रोजगार बोर्डले यो सेवा पूर्ण रूपमा नि:शुल्क रहेकाले पीडित परिवारलाई आवश्यक समन्वयका लागि तोकिएका कर्मचारी वा सेवा प्रदायकसँग सम्पर्क गर्न आग्रह गरेको छ। थप जानकारी वा सोधपुछका लागि बोर्ड सचिवालयकोटोल फ्री नम्बर ११४१मा चौबिसै घण्टा सम्पर्क गर्न सकिनेछ।