
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको चर्चा चलिरहँदा नेपाल सरकारका मन्त्रीदेखि सत्तारुढ दलका सभापतिसम्मको भारत आवतजावत बढेको छ । परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र गृहमन्त्री सुधन गुरुङ भारत पुगिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि यसअघि राजनीतिक भ्रमणमा भारत गएका थिए । उनी शुक्रबार फेरि भारत गका छन् । तर यसपटकको उनको भ्रमण राजनीतिक नभई निजी तथा पारिवारिक तीर्थाटन भनिएको छ ।
नेपालमा नयाँ सरकार गठन भएयता भारतसँगको उच्चस्तरीय सम्पर्क विभिन्न माध्यमबाट अघि बढिरहेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमणलाई द्विपक्षीय सम्बन्धको महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ । तर भ्रमणको औपचारिक मिति भने सार्वजनिक भइसकेको छैन ।
परराष्ट्रमन्त्री शिशिर खनालले २०८३ जेठ २२ देखि २४ गते अर्थात् जुन ५ देखि ७ सम्म भारतको औपचारिक भ्रमण गरेका थिए । भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा भएको उक्त भ्रमणमा व्यापार, लगानी, सम्पर्क सञ्जाल, ऊर्जा र जनस्तरको सम्बन्ध विस्तारका विषयमा छलफल गर्ने कार्यक्रम थियो । त्यसपछि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुँदा पनि खनालले भारतीय विदेशमन्त्रीसँग प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणबारे छलफल गरेका थिए ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भदौ ३१ देखि असोज २ गते अर्थात् सेप्टेम्बर १७ देखि १९ सम्म भारतको तीनदिने भ्रमण गरेका थिए । भारतीय सरकारको निमन्त्रणामा भएको भ्रमणमा उनले भारतीय अर्थमन्त्री निर्मला सीतारमण, विदेशमन्त्री जयशंकरलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम थियो । बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, आर्थिक सहयोग र द्विपक्षीय आर्थिक सम्बन्ध विस्तार भ्रमणका मुख्य विषय थिए ।
एक महिनापछि अहिले फेरी अर्थमन्त्री वाग्ले अहिले पनि भारत भ्रमणमै छन् । भारतको एक टेलिभिजन च्यानलको प्यानल बहसमा सहभाग हुन वाग्ले दिल्ली पुगेका सचिवालयले जनाएको छ ।
गृहमन्त्री सुधन गुरुङ असोज २६ गते अर्थात् अक्टोबर १२ मा भारत प्रस्थान गर्नुभएको थियो । उहाँले असोज २७ गते अक्टोबर १३ मा नयाँदिल्लीमा आयोजित बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुने कार्यक्रम थियो । सीमापार अपराध, आतंकवाद, सुरक्षा निकायबीचको समन्वय र क्षेत्रीय सुरक्षा सहयोग बैठकका महत्वपूर्ण विषय थिए ।
मन्त्रीहरु मात्र होइन, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेठ १९ गते अर्थात् जुन २ मा भारतीय जनता पार्टीको निमन्त्रणामा पाँचदिने भारत भ्रमण गरेका थिए । त्यसक्रममा उनले भाजपा नेतृत्वका अतिरिक्त भारतीय गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेट भएको थियो । यो भ्रमणले नेपाल–भारत सम्बन्धमा सरकार र सरकारी संयन्त्रबाहेक सत्तारुढ दलबीचको राजनीतिक सम्पर्कलाई पनि महत्व दिएको थियो ।
अहिले फेरी लामिछाने भारत भ्रमणमै छन् । शुक्रबार लामिछाने सडकमार्ग हुँदै भारत गएका हुन् । उनी पत्नी निकितासहित भारततर्फ प्रस्थान गरेका हुन् ।
आज बिहान काठमाडौंबाट हवाईजहाजमा धनगढी प्रस्थान गरेका उनीहरु त्यहाँबाट भारततर्फ लागेका हुन् ।
उनीहरुको साथमा मन्त्री प्रतिभा रावल पनि छिन् । लामिछानेको सचिवालयले यो भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटन भनेको छ ।
भ्रमणका क्रममा लामिछानेले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण नोभेम्बरको तेस्रो वा चौथो सातातिर हुन सक्ने चर्चा छ । भारतले प्रधानमन्त्री शाहलाई सरकार गठनलगत्तै भ्रमणको निमन्त्रणा दिएको सार्वजनिक गरिसकेको छ । त्यसैले निमन्त्रणा नै नभएको अवस्था होइन; भ्रमणको समय, कार्यसूची र ठोस उपलब्धिबारे अन्तिम सहमति सार्वजनिक हुन बाँकी रहेको अवस्था हो ।
नेपाल र भारतबीचको सम्बन्धमा प्रधानमन्त्रीस्तरीय भ्रमणले राजनीतिक प्राथमिकता निर्धारण गर्ने, उच्चस्तरीय संवादलाई गति दिने र रोकिएका विषयमा निर्णयको वातावरण बनाउने महत्त्व राख्छ । त्यसअघि परराष्ट्रमन्त्रीको भ्रमणले कूटनीतिक आधार तयार गर्न, अर्थमन्त्रीको भ्रमणले आर्थिक सहयोग तथा पुनर्निर्माणको विषय अघि बढाउन र गृहमन्त्रीको भ्रमणले क्षेत्रीय सुरक्षा सहकार्य बलियो बनाउन भूमिका खेल्न सक्छ ।
रास्वपा सभापति लामिछानेको यसअघिको भारत भ्रमणले भने दलगत सम्बन्धको छुट्टै आयाम देखाएको थियो । भारतीय सत्तारुढ दलसँगको सम्पर्कले राजनीतिक समझदारी बढाउन सहयोग गर्न सक्छ । तर दलगत भेटवार्ता र सरकारबीचको औपचारिक वार्ता एउटै कुरा होइनन् । राष्ट्रिय नीति, सीमा, व्यापार, ऊर्जा र सुरक्षा जस्ता विषयमा निर्णय गर्ने आधिकारिक जिम्मेवारी सरकारकै हुन्छ ।
तस्विरः AI को सहयोगमा






Facebook Comments