व्यक्तिगत दाग पार्टीले बोक्दैन, म नै पक्राउ परे पनि बचाउन कोही नआउनू भन्ने सभापति थापाको घोषणा, किसानदेखि विदेशिएका युवासम्मको भरोसाको पार्टी बनाउने प्रतिबद्धता ।

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टी रूपान्तरणको उद्घोष गर्दै इतिहासको ब्याज खाएर बस्ने नभई नयाँ इतिहास रच्ने संकल्प गरेका छन् । १५औँ महाधिवेशनबाट सभापतिमा पुनः निर्वाचित भएपछि शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्बोधन गर्दै थापाले कांग्रेसलाई विगतको गौरवमा रमाउने होइन, वर्तमानका चुनौती सामना गर्दै भविष्य निर्माण गर्ने पार्टीका रूपमा विकास गर्ने बताएका हुन् ।

युवापुस्ताको विश्वास जित्नुपर्ने चुनौती औँल्याउँदै थापाले कांग्रेसको गौरवशाली इतिहास सुनाएर मात्रै अबको पुस्तालाई आकर्षित गर्न नसकिने स्पष्ट पारे । युवामाझ पुगेर कांग्रेसले विगतको इतिहासको ब्याज खान नआएको र नयाँ इतिहास आफैँ रच्ने सामर्थ्य लिएर आएको सन्देश दिने उनको भनाइ छ । थापाले आफ्नो विजयलाई व्यक्तिगत सफलताभन्दा पनि परिवर्तनको पक्षमा उभिएका कार्यकर्ता र नागरिकको विश्वासको जितका रूपमा व्याख्या गरे ।

सभापति थापाले कांग्रेसलाई किसान, उद्यमी र वैदेशिक रोजगारीमा रहेका नेपालीले समेत आफ्नो भरोसाको पार्टीका रूपमा अनुभूति गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाए । किसानका समस्या उठाउने, उद्यमीका खोसिएका अवसर पुनःस्थापित गर्न पहल गर्ने र विदेशमा रहेका नेपालीका परिवारका समस्या समाधानका लागि आवाज उठाउने पार्टीका रूपमा कांग्रेसलाई स्थापित गर्ने उनको भनाइ छ । यसका लागि पार्टीलाई समावेशी, पारदर्शी र जवाफदेही बनाउँदै संगठनको तल्लो तहसम्म रूपान्तरण आवश्यक रहेको उनले औँल्याए ।

थापाको सम्बोधनमा पार्टी रूपान्तरणसँगै राजनीतिक नैतिकताको विषय पनि उत्तिकै चर्चामा रह्यो । कांग्रेस केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेकी विनिता खड्का ठगी आरोपमा पक्राउ परेको विषयमा प्रतिक्रिया दिँदै उनले व्यक्तिको व्यक्तिगत आरोप र दाग पार्टीले बोक्न नसक्ने स्पष्ट पारे । कुनै पनि व्यक्तिमाथि लागेको आरोपको खण्डन र त्यसबाट लागेको दाग मेटाउने जिम्मेवारी सम्बन्धित व्यक्तिकै हुने उनको भनाइ छ ।

थापाले व्यक्तिगत कारणले आफू नै पक्राउ परे पनि बचाउन वा समर्थन गर्न कोही नआउन आग्रह गरे । राजनीतिभन्दा बाहिरका आर्थिक वा पारिवारिक विषयमा आफूविरुद्ध आरोप लागे त्यसको जिम्मेवारी आफैँले लिने भन्दै उनले व्यक्तिगत गल्तीलाई राजनीतिक दलको प्रतिष्ठासँग जोड्न नहुने धारणा राखे । व्यक्तिगत स्वार्थ र विवादको भारी पार्टीले बोक्न नहुने उनको अभिव्यक्तिलाई कांग्रेसभित्र जवाफदेहिता र नैतिक जिम्मेवारी स्थापित गर्ने सन्देशका रूपमा हेरिएको छ ।

सभापति थापाले सरकारका गलत कदमको विरोध गर्ने र राष्ट्रिय हितमा हुने निर्णयलाई समर्थन गर्ने जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि बताएका छन् । पार्टीभित्रका मतभेदलाई व्यवस्थापन गर्दै सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएका थापाका सामु अब भाषणमा व्यक्त रूपान्तरणलाई संगठन, आचरण र जनताको दैनिक जीवनमा देखिने परिवर्तनमा बदल्ने चुनौती छ ।

इतिहासको विरासत, नयाँ पुस्ताको अपेक्षा र राजनीतिक नेतृत्वप्रतिको घट्दो विश्वासबीच थापाले कांग्रेसलाई कस्तो बनाउँछन् भन्ने प्रश्न अब उनको नेतृत्वको मुख्य परीक्षा हुनेछ । नयाँ इतिहास रच्ने उद्घोषलाई व्यवहारमा उतार्न सके मात्रै कांग्रेसको रूपान्तरणको दाबीले सार्थकता पाउनेछ ।