
काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित भएका छन्। पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री पदमा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका शाही निर्वाचित भएका हुन्। कांग्रेसको मिडिया सेन्टरले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार शाहीले ३ हजार ९०६ मत प्राप्त गरेका छन्।
सहमहामन्त्री (पिछडिएको क्षेत्र) तर्फ कुल ६ हजार ७२९ मत खसेकोमा ३३ मत बदर भएको विवरण कांग्रेसको वेबसाइटमा उल्लेख छ। शाहीका निकटतम प्रतिस्पर्धी जनकराज गिरीले १ हजार ३७६ मत प्राप्त गरेका छन्। त्यस्तै, राजन कुँवरले ३२४ र रामबहादुर विष्टले २६० मत पाएका छन्। अन्य उम्मेदवारको मतपरिणामसमेत समेटेर केन्द्रीय निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी रहेको जनाइएको छ।
शाही यसअघि १४औँ महाधिवेशनमा पनि पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीका उम्मेदवार बनेका थिए। त्यतिबेला उनी नेता बद्रीप्रसाद पाण्डेसँग पराजित भएका थिए। यसपटक भने उक्त पदमा निर्वाचित हुँदै उनले अघिल्लो महाधिवेशनको हारलाई जितमा बदलेका छन्।
गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नभएका शाही पछिल्लो समय शेरबहादुर देउवा समूह छाडेर गगनकुमार थापा नेतृत्वको मूलधारमा फर्किएका थिए। उनको जितलाई कांग्रेसभित्रको बदलिँदो राजनीतिक समीकरणका सन्दर्भमा पनि हेरिएको छ।
पदाधिकारीको टुंगो, सहमहामन्त्रीको मतगणना जारी
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापतिमा गगनकुमार थापा निर्वाचित भइसकेका छन्। उनले सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गरेका थिए। थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा खड्गीले ३७५ मत पाएका थिए।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। महिला उपसभापतिमा पुष्पा भुसाल पनि निर्विरोध निर्वाचित भएकी छन्।
उपसभापतितर्फ खुला समूहबाट डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य निर्वाचित भएका छन्। समावेशी समूहबाट विनोदकुमार चौधरी विजयी भएका छन्। महामन्त्रीतर्फ खुला समूहबाट प्रदीप पौडेल र उदयशमशेर राणा तथा महिलातर्फ डा. डिला संग्रौला निर्वाचित भएका छन्। यससँगै कांग्रेसको शीर्ष पदाधिकारी चयनको महत्त्वपूर्ण चरण पूरा भएको छ।
पदाधिकारीको परिणाम सार्वजनिक भएसँगै अहिले सहमहामन्त्रीका बाँकी समूह र केन्द्रीय सदस्य पदको मतगणनामा ध्यान केन्द्रित भएको छ। खुला सहमहामन्त्रीतर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी अग्रस्थानमा देखिएका छन्।
त्यस्तै, केन्द्रीय सदस्यतर्फ पनि मतगणना अघि बढेको छ। मंगलबार बिहान खुला केन्द्रीय सदस्यको मतगणना सुरु गरिएको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिएका छन्। विभिन्न समावेशी समूहअन्तर्गतका केन्द्रीय सदस्य पदको मतगणना पनि जारी छ। निर्वाचन समितिले बुधबारसम्म सबै मतपरिणाम सार्वजनिक गर्ने लक्ष्यसहित गणना तीव्र बनाएको जनाएको छ।
नयाँ नेतृत्वसँगै संगठन पुनर्गठनको चुनौती
कांग्रेसको १५औँ महाधिवेशनलाई नेतृत्व परिवर्तन र पुस्तान्तरणको महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ। सभापतिमा गगन थापाको जितसँगै पार्टीको नेतृत्वमा नयाँ राजनीतिक सन्देश गएको छ। तर, पदाधिकारी चयनपछि केन्द्रीय समितिमा कस्तो शक्ति सन्तुलन कायम हुन्छ र फरक समूहका नेताहरूलाई कसरी समेटिन्छ भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ।
सहमहामन्त्रीमा जीवनबहादुर शाहीको जितले पिछडिएको क्षेत्रको प्रतिनिधित्वलाई थप बल दिएको छ। अब बाँकी सहमहामन्त्री र केन्द्रीय सदस्यको परिणामले पार्टीभित्रको समावेशिता, क्षेत्रीय प्रतिनिधित्व र नेतृत्वको आन्तरिक समीकरण थप स्पष्ट पार्नेछ।
महाधिवेशनको निर्वाचन परिणामसँगै कांग्रेसका लागि मुख्य चुनौती अब संगठनलाई एकताबद्ध बनाउने, आन्तरिक मतभेद व्यवस्थापन गर्ने र नयाँ नेतृत्वप्रति कार्यकर्ता तथा आममतदाताको अपेक्षा पूरा गर्ने हुनेछ।



Facebook Comments