नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेतृत्व चयनको नियमित प्रक्रिया मात्र होइन, पार्टी अब कस्तो राजनीतिक संस्कार र कस्तो नेतृत्वतर्फ अघि बढ्ने भन्ने बहसको मञ्चसमेत बनेको छ । यही पृष्ठभूमिमा उपसभापतिको प्रतिस्पर्धामा फरक राजनीतिक यात्राबाट आएका दुई पात्र आमनेसामने छन्—उद्योग–व्यवसायबाट राष्ट्रिय पहिचान बनाएका विनोद चौधरी र विद्यार्थी राजनीतिबाट संगठनमा हुर्किएका इन्जिनियर रञ्जित कर्ण ।

विनोद चौधरी नेपालको स्थापित व्यावसायिक घरानाका प्रतिनिधि हुन् । २०७४ सालको आमनिर्वाचनअघि कांग्रेसमा प्रवेश गरेका चौधरी त्यसअघि नेकपा एमालेको तर्फबाट पहिलो संविधानसभामा समानुपातिक सदस्य बनेका थिए । कांग्रेस प्रवेशपछि समानुपातिक सांसद बनेका उनी १४औँ महाधिवेशनमा वडा तहबाटै निर्वाचन लडेर केन्द्रीय सदस्य निर्वाचित भए । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी–१ बाट प्रत्यक्ष निर्वाचित चौधरीको राजनीतिक परिचयसँगै उनको व्यावसायिक र राष्ट्रिय–अन्तर्राष्ट्रिय पहिचान पनि जोडिएको छ ।

तर रञ्जित कर्णको राजनीतिक यात्रा भने संगठनबाट बनेको छ । व्यवसायिक सामर्थ्यभन्दा विद्यार्थी राजनीतिबाट सुरु भएको संघर्ष, संगठन निर्माण र कार्यकर्तासँगको सम्बन्ध उनको राजनीतिक यात्राको आधार हो । नेपाल विद्यार्थी संघको नेतृत्व सम्हालेका कर्ण दोस्रो संविधानसभाका सदस्य बने भने अहिले राष्ट्रियसभामा छन् । पेशाले इन्जिनियरसमेत रहेका कर्णले लामो समय कांग्रेसको संगठन र पार्टी गतिविधिमा सक्रिय रहेर आफ्नो राजनीतिक पहिचान बनाएका छन् ।

त्यसैले यो प्रतिस्पर्धालाई दुई व्यक्तिबीचको चुनावका रूपमा मात्र हेर्दा यसको राजनीतिक अर्थ साँघुरिन्छ । यसले कांग्रेसभित्रआर्थिक हैसियत र व्यक्तिगत प्रभावको राजनीति बलियो हुने कि संगठन, संघर्ष, विचार र कार्यकर्ताको विश्वासबाट नेतृत्व निर्माण हुनेभन्ने बहसलाई पनि सतहमा ल्याएको छ ।

चौधरीसँग आर्थिक सामर्थ्य, व्यावसायिक परिचय र राष्ट्रिय–अन्तर्राष्ट्रिय पहुँच छ । उनको राजनीतिक यात्रामा यी पक्षको प्रभाव देखिन्छ । तर राजनीतिक दलको नेतृत्वको मूल्यांकन आर्थिक सामर्थ्यबाट मात्र हुँदैन । कार्यकर्तासँगको सम्बन्ध, संगठनभित्रको विश्वास, विचारप्रतिको प्रतिबद्धता र कठिन परिस्थितिमा पार्टीका लागि उभिएको इतिहास पनि नेतृत्वको महत्वपूर्ण आधार हुन् ।

यही ठाउँमा रञ्जित कर्णको राजनीतिक यात्रा फरक देखिन्छ । विद्यार्थी राजनीतिबाट कांग्रेसको संगठनमा प्रवेश गरेका कर्णले तल्लो तहदेखि नेतृत्वसम्मको यात्रा तय गरेका छन् । नेपाल विद्यार्थी संघको नेतृत्व, संविधानसभा सदस्य र राष्ट्रियसभा सदस्यसम्मको उनको राजनीतिक यात्रा संगठनात्मक राजनीतिबाट अघि बढेको देखिन्छ । पछिल्लो समय उनले कांग्रेसलाई संगठनात्मक रूपमा बलियो बनाउने, नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने र विषयविज्ञतालाई पार्टी नेतृत्वसँग जोड्ने विषयलाई आफ्नो राजनीतिक एजेन्डाको केन्द्रमा राख्दै आएका छन् ।

कर्णको उम्मेदवारीको अर्को पक्ष उनको मधेसी पहिचान र समावेशी प्रतिनिधित्वसँग जोडिन्छ । मधेशबाट राष्ट्रिय राजनीतिमा आएका कर्णले कांग्रेसभित्र लामो समय संगठनमा काम गरेका छन् । त्यसैले उनको उम्मेदवारी व्यक्तिगत पदको दाबीमा मात्र सीमित छैन; पार्टीको नेतृत्व संरचनामा मधेश, युवा पुस्ता र संगठनबाट आएका नेताहरूको भूमिकाबारे बहस गर्ने अवसरका रूपमा पनि हेरिएको छ ।

रोचक पक्ष के छ भने कर्ण केही दिनअघि महामन्त्रीमा उम्मेदवारी दिने तयारीमा रहेको चर्चा थियो । तर अन्ततः उनले समावेशी उपसभापति पद रोजेका छन् । यसले उनको राजनीतिक प्राथमिकता र आगामी नेतृत्व यात्रालाई पनि थप चासोको विषय बनाएको छ ।

अब प्रश्न केवलकोसँग बढी आर्थिक सामर्थ्य छ ?भन्ने होइन । प्रश्न यो पनि हो—कसले संगठनभित्र कति विश्वास आर्जन गरेको छ ? कार्यकर्तासँगको सम्बन्ध कति गहिरो छ ? र नेतृत्वका लागि आवश्यक राजनीतिक आधार कसले कसरी बनाएको छ ?

पैसाले चुनावी प्रचारलाई सहज बनाउन सक्छ, पहुँचले प्रभावशाली वृत्तसम्म पुग्ने बाटो खोल्न सक्छ । तर संगठनभित्र वर्षौंमा बनेको सम्बन्ध र कार्यकर्ताको विश्वास सहजै निर्माण हुँदैन । त्यो निरन्तरको संघर्ष, संगठनप्रतिको प्रतिबद्धता र कार्यकर्ताको सुखदुःखमा साथ दिएर आर्जन गर्नुपर्छ ।

त्यसैले रञ्जित कर्णको प्रतिस्पर्धालाई केवल एउटा पदको प्रतिस्पर्धाका रूपमा मात्र हेर्न मिल्दैन । यसले कांग्रेसभित्रसम्पत्तिको प्रभाव र संगठनको शक्तिबीचको बहसलाई पनि प्रतिनिधित्व गर्छ । अन्ततः कुन आधारले नेतृत्व निर्धारण गर्ने भन्ने फैसला महाधिवेशन प्रतिनिधिको मतले गर्नेछ ।

१५औँ महाधिवेशनले कांग्रेसलाई एउटा प्रश्न भने अवश्य छोड्नेछ—नेतृत्व निर्माणमा आर्थिक सामर्थ्य ठूलो हो कि संगठनमा कमाएको विश्वास ?

राजनीतिमा सम्पत्ति परिचय बन्न सक्छ, पहुँच बनाउन सक्छ । तरदीर्घकालीन राजनीतिक शक्ति भने संगठन, संघर्ष र कार्यकर्ताको विश्वासबाट निर्माण हुन्छ ।