अष्ट्रेलियामा नेपाली कला, संस्कृति र मौलिक पहिचानको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको “नेपा जात्रा” अहिले देशव्यापी रूपमा चर्चाको केन्द्र बनेको छ। चर्चित कलाकार “कुम सागर र उजन् शाक्य” को सांगीतिक प्रस्तुति रहने यस कार्यक्रमले नेपाली समुदायमाझ उत्साह, उमङ्ग र सांस्कृतिक एकताको वातावरण सिर्जना गरेको छ।

ब्रिस्बेनबाट भव्य रूपमा सुरु भएको “नेपा जात्रा” ले सुरुवातदेखि नै दर्शकको व्यापक साथ पाएको थियो। विशेषगरी एडिलेडमा कार्यक्रम “सोल्ड आउट” भएपछि यसको चर्चा अझ व्यापक बनेको हो। त्यसपछि क्यानबेरा, मेलबर्न र होबार्ट हुँदै यात्रा गरिरहेको यो सांस्कृतिक उत्सव अब सिड्नीमा पुगेर समापन हुने तयारीमा छ।

आयोजकका अनुसार सिड्नीमा आयोजना हुने कार्यक्रमका हजारौँ टिकटहरू पहिल्यै बिक्री भइसकेका छन्। यसले अष्ट्रेलियामा रहेका नेपाली समुदायबीच “नेपा जात्रा” प्रति कति ठूलो आकर्षण र उत्साह रहेको छ भन्ने स्पष्ट देखाउँछ।

कार्यक्रमले नेपाली संगीत, कला र संस्कृतिलाई प्रवासमा जगेर्ना गर्दै विभिन्न पुस्ता र समुदायलाई एउटै भावनात्मक सूत्रमा बाँध्ने काम गरिरहेको छ। नेपालीपनको अनुभूति दिलाउने यो उत्सव अहिले केवल सांगीतिक कार्यक्रममा सीमित नरही नेपाली समुदायको साझा पर्वजस्तै बनेको छ।

आगामी मे १६ तारिखका दिन सिड्नीस्थित “होर्ड्न पभेलियन” मा आयोजना हुने “नेपा जात्रा सिड्नी” भव्य र ऐतिहासिक हुने आयोजकहरूको विश्वास छ। कार्यक्रम “द पिक इभेन्ट्स” ले आयोजना गरिरहेको हो।

संगीत, संस्कृति र समुदायको अद्भुत संगमका रूपमा स्थापित हुँदै गएको “नेपा जात्रा” ले प्रवासमा नेपाली कला र पहिचानलाई नयाँ उचाइमा पुर्‍याएको सहभागीहरूको भनाइ छ।