काठमाडौं ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रूपान्तरण र संरचनागत सुधारलाई सफल बनाउन नीतिगत आत्मविश्वास, स्थिरता र प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताएका छन्।
बुधबार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रले सरकारसँग सहुलियतभन्दा बढी स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयनको अपेक्षा गरेको बताए। उनले हालै निजी क्षेत्रका प्रतिनिधि तथा बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग भएको छलफलको अनुभव सुनाउँदै आर्थिक गतिविधि विस्तारका लागि विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
उनले सरकारको नीति, प्राथमिकता र कार्यसम्पादन एउटै लक्ष्यतर्फ केन्द्रित हुनुपर्ने उल्लेख गर्दै विगत एक दशकमा महत्वपूर्ण नीतिगत निर्णय भए पनि कार्यान्वयन कमजोर हुँदा अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताए। त्यसका कारणहरूको गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको बजेटलाई नियमित वार्षिक कार्यक्रमका रूपमा मात्र नभई आर्थिक सुधार र संरचनागत रूपान्तरणको मार्गचित्रका रूपमा प्रस्तुत गरिएको बताए। त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले पनि आफ्नो भूमिका समयानुकूल पुनर्परिभाषित गर्नुपर्ने आवश्यकता औँल्याए।
छलफलका क्रममा उनले राष्ट्र बैंकसँग विभिन्न नीतिगत सुधारका विषयमा सुझाव माग्दै उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह बढाउने, बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उद्योग, उत्पादन र रोजगारी सिर्जनामा परिचालन गर्ने तथा पुँजी बजार र वास्तविक अर्थतन्त्रबीच सन्तुलित सम्बन्ध विकास गर्ने उपायबारे धारणा राख्न आग्रह गरे।
त्यसैगरी डिजिटल वित्तीय सेवा, फिनटेक, स्टार्टअप वित्तपोषण तथा नयाँ वित्तीय उपकरणहरूको विकास र विस्तारका लागि नीतिगत वातावरण सहज बनाउनुपर्नेमा पनि उनले जोड दिए।
अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल मौद्रिक नीति कार्यान्वयन गर्ने नियामक निकायका रूपमा मात्र नभई आर्थिक रूपान्तरणको साझेदार र सह–निर्माताका रूपमा आफूले हेरेको उल्लेख गर्दै सरकार र राष्ट्र बैंकबीचको सहकार्य अझ प्रभावकारी हुनुपर्ने धारणा व्यक्त गरे।



Facebook Comments