जगत नेपाल

१९ जेठ २०५८ को राति करिब ११ बजेको थियो । म सुतिसकेको थिएँ । बस्नेतजी (शिवध्वज बस्नेत) बालुवाटारमै हुनुहुन्थ्यो । बस्नेतजीले फोन आएको छ भनेर उठाउनुभयो । कसको फोन भनेको त राजपरिषद् स्थायी समितिका सभापति डा. केशरजंग रायमाझीको रहेछ । कुरा गर्दा उनले भने, ‘राजालाई सैनिक अस्पताल लगेको छ, म जाँदैछु । तपाईं आउनुहोला ।’ उनले यति मात्र भने । राजालाई ‘हर्टएट्याक’ भएछ भन्ठानेँ र ‘ल हुन्छ, म अस्पताल आउँछु’ भनेँ ।

त्यसपछि गाडी तयार गर्न लगाएँ र कपडा लगाएँ । त्यही बेला राजाका प्रमुख सचिव पशुपतिभक्त महर्जनको फोन आयो र उनले भने, ‘म आउँदै छु ।’ मैले 'हुन्छ' भनेँ । उनी तत्कालै प्रधानमन्त्री निवास बालुवाटार आइपुगे । अलि नर्भसजस्ता थिए उनी ।

दरबारमा गोली चलेको र राजारानीको ‘मर्डर’ भएको कुरा उनैले बताए । म अस्पताल जान भनेर तयार भएको थिएँ । मेरा सुरक्षाकर्मीहरूलाई म कहाँ जाँदै छु भन्ने केही थाहा थिएन । मैले ‘पहिला म राजदरबार जान्छु’ भनेँ । महर्जनले सोधे, ‘पहिला अस्पताल जाने कि दरबार ?’

मैले भनेँ, ‘पहिला दरबार जान्छु ।’

महर्जन डराएजस्तो थियो । उनले मसँग भने, ‘हजुर, म पनि हजुरको मोटरमा अटाउँछु कि ?’

मैले ‘हुन्छ, बस्नुस् न’ भनेँ । उनी मेरै मोटरमा चढे । राजदरबार पुग्दा त्यही रातको ११.३० बजेको थियो होला । दरबारमा पुगेपछि म देख्छु त्यहाँ त पूरै सुनसान छ । खालि एक जना आर्मी मात्र देख्छु म । कोही छैन । पूरै सन्नाटा छाएको छ । सुनसान एकदमै सुनसान ।

महर्जनले त्यहाँ के–के भयो ? कसरी भयो भनेर सामान्य ‘ब्रिफ’ गरे । राजारानी, युवराजलगायत सबै घाइतेलाई अस्पताल लगिएको बताए । म घटनास्थलमा पुग्दा त रगतका टाटा केही थिएनन् । घटनास्थल पानीले पखालेर सफा पारिसकिएको थियो । के भएको रहेछ ? भनेर हेर्छु भनेको त केही थिएन । अनि म अस्पतालतिर लागेँ ।

अस्पतालको वातावरण एकदमै तनावग्रस्त थियो । म नयाँ परिस्थतिमा अस्पताल पुगेको थिएँ । 'कस्तो छ ?' भनेर सोधेँ । राजारानीको मृत्यु भइसकेको जानकारी पाएँ । त्यसको केही समयपछि जब म ट्वाइलेटतिर गएर फर्किंदै थिएँ, पशुपतिभक्त महर्जन हो कि कसले हो 'मुमा बडामहारानी ! मुमा बडामहारानी !' भनेको सुनेँ । मचाहिँ जोडले लम्केर हिँडिरहेको थिएँ । उनी मलाई भेट्नका लागि पछिपछि थिइन् ।

Nepatopsouthwestern
त्यसपछि मुमा बडामहारानीले भनिन्, 'प्रधानमन्त्री, अब देशलाई बचाउनुपर्छ ।'

मैले भनेँ, ‘म जे गर्न पनि म तयार छु । फेरि देशका निम्ति मैले गर्नुपर्ने जिम्मेवारी पूरा त गर्नैपर्छ ।’

त्यहाँ आर्मीहरूको रूप त्यति रामो देखिरहेको थिइनँ । प्रधानसेनापतिलाई बोलाएर सबैतिर ‘अलर्ट’ रहन भनेँ । उनले सतर्कता अपनाइएको बताए । राजारानीको मृत्यु भइसकेको थियो । राजपरिवारका सबै सदस्य घटनामा परेका थिए । त्यसैले मैले पोखरामा रहेका अधिराजकुमार ज्ञानेन्द्रलाई जसरी भए पनि छिटो राजधानी ल्याउनका लागि तत्काल हेलिकोप्टर पठाउन भनेँ । पानी अलिअलि परेको थियो । हेलिकोप्टर गयो तर मौसमका कारण पोखरामा अवतरण गर्न नसकेर फर्कियो ।

मैले भनेँ, ‘उताबाट मोटरमा अधिराजकुमार ज्ञानेन्द्रलाई जहाँसम्म आउन सकिन्छ, आउन भन्ने र नजिकको सेनाको ब्यारेकबाट हेलिकोप्टरमा ल्याउने ।’

बिहान अस्पतालमा मन्त्रीहरू, प्रधानन्यायाधीश र उच्च अधिकारीहरू आइसकेपछि अधिराजकुमार ज्ञानेन्द्र आइपुगे । उनले सबै हेरे । हामी अस्पतालमै थियौँ । राजपरिषद्को बैठक बोलाइयो । त्यहीँ अधिराजकुमार ज्ञानेन्द्रसँग मेरो कुरा भयो । त्यो बेला उनी राज्य सहायकका रूपमा थिए ।

मैले भनेँ, ‘सरकारले घोषणा गरेर घटनाको छानबिनका लागि एउटा उच्चस्तरीय आयोग बनाउनुपर्छ ।'

उनले सोधे, ‘आयोग बनाउने तर कसकसलाई राख्ने ?’

मैले भनेँ, ‘प्रधानन्याधीश केशवप्रसाद उपाध्याय, प्रमुख प्रतिपक्षी दलका नेता माधवकुमार नेपाल र सभामुख तारानाथ रानाभाटलाई राख्दा राम्रो हुन्छ ।’

मैले नै माधव नेपालसँग कुरा गरेँ । उहाँ बस्न राजी हुनुहुन्थ्यो ।

छाउनी अस्पतालबाट फर्किंदा मसँग माधवजीले भन्नुभयो, ‘होइन, मलाई समितिमा राजाले राख्लान् र ?’

मैले भनेँ, ‘कुरा भएपछि नराख्ने भन्ने प्रश्न नै आउँदैन ।’

हामी सिधै राजपरिषद्को कार्यालय बहादुर भवन पुग्यौँ । माधवजी खुसी नै हुनुहुन्थ्यो । मलाई पनि लाग्यो, त्यत्रो घटना भएको छ, कमसेकम छानबिनका लागि उच्चस्तरीय समिति बन्ने भयो । समिति घोषणा त भयो तर माधवजीलाई पार्टीबाट दबाब पर्‍यो र उहाँले नबस्ने बताउनुभयो । माधवजीलाई सम्झाउन प्रधानन्यायाधीशलाई पठाइयो तर पार्टीले नै निर्णय गरेका कारण उहाँलाई गाह्रो भयो ।

पछि भरतमोहन अधिकारीलगायतका एमाले नेताहरू मसँग भेट्न आएका थिए । उनीहरूले भने, ‘महासचिव नेपाल बस्न मिलेन । पार्टीकै अरु कसैलाई राख्नुपर्‍यो ।'

मैले भनेँ, 'एकपटक घोषणा भएको समिति पुनः फेर्नु भनेको राम्रो होइन ।’

नेपालले नबस्ने भनेपछि राजाले मलाई ‘के गर्ने ?’ भनेर सोधेका थिए ।

मैले भनेँ, ‘पार्टीले निर्णय गरेपछि माधवजीलाई गाह्रो परेको होला, त्यसैले प्रधानन्यायाधीश र सभामुख भएको दुई सदस्यीय समितिले काम थाल्छ, भइहाल्छ ।’  शिलापत्र