नेपाली कांग्रेसको दोस्रोपटक विशेष महाधिवेशन सुरु भएको छ । यो संयोग होइन, बाध्यता हो। जब पार्टीको औपचारिक संरचनाले आन्तरिक असन्तोष सम्बोधन गर्न सक्दैन, तब विशेष महाधिवेशन अन्तिम उपाय बन्छ। तर यो प्रक्रिया आफैंमा संकट होइन, संकट त नेतृत्वको व्यवहार हो।

कांग्रेसको इतिहासमा विशेष महाधिवेशन नयाँ कुरा होइन। २०१४ सालमा सुवर्णशमशेरले वीपी कोइरालालाई नेतृत्व हस्तान्तरण गर्दा पार्टी बलियो मात्र बनेन, लोकतान्त्रिक संस्कारको एउटा उदाहरण पनि स्थापित भयो। त्यतिबेला नेतृत्व सुम्पिनु कमजोरी होइन, राजनीतिक दूरदर्शिता थियो। आज त्यही इतिहास दोहोरिँदा चरित्र भने फेरिएको देखिन्छ।

यसपटक विशेष महाधिवेशनको माग उठ्दा सभापति शेरबहादुर देउवाले नेतृत्वको उचाइ देखाउन सकेनन्। प्रक्रिया स्वीकार्नुको साटो महाधिवेशन नै बहिष्कार गर्नुले पार्टीभित्रको लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको छ। लोकतन्त्रमा असहमति स्वाभाविक हो, तर असहमतिको उत्तर बहिष्कार हुन सक्दैन।

सबैभन्दा गम्भीर प्रश्न देउवाले युवा पुस्तालाई किन स्वीकार गर्न सकेनन् भन्ने हो। अघिल्लो महाधिवेशनमा अत्याधिक मतका साथ सभापति बनेका देउवा आज झण्डै ७० प्रतिशत महाधिवेशन प्रतिनिधिको विपक्षमा पुगेका छन्। यो आकस्मिक मोड होइन। नेतृत्व जनभावनाबाट टाढिँदा आउने स्वाभाविक परिणाम हो।

राजनीतिमा टिकाइको आधार पद होइन, समयसँगै बदलिन सक्ने क्षमता हो। देउवाले त्यो क्षमता गुमाउँदै गए। पार्टीभित्र बढ्दो असन्तोष, कार्यकर्ताको निराशा र जनस्तरको आलोचना देख्दादेख्दै पनि आत्मसमीक्षा हुन सकेन। बरु, आफ्नै गुटको घेराभित्र बसेर यथार्थलाई नदेख्ने प्रवृत्ति बलियो बन्दै गयो।

यहाँ देउवाको वरपरको गुट पनि प्रश्नको घेरामा छ। नेतृत्वलाई समयमै सचेत गराउनु, गलत निर्णयबाट रोक्नु र यथार्थ देखाउनु गुटको पनि जिम्मेवारी हो। त्यो गर्न नसक्नु वा नगर्नु दुवै राजनीतिक असफलता हुन्।

नेता हुनु भनेको सत्ता समातिरहनु मात्र होइन। कार्यकर्ता र जनताको भावना बुझ्नु, समयमै नेतृत्व हस्तान्तरण गर्न सक्नु र आवश्यक परे सम्मानजनक रूपमा पछि हट्न जान्नु नै नेतृत्वको परिपक्वता हो। त्यो परिपक्वता नदेखिँदा राजनीतिक यात्राको अन्त्यतिर नेता झन् विवादित र बदनाम बन्छ।

शेरबहादुर देउवाको समस्या हार होइन, समयमै हार स्वीकार गर्न नसक्नु हो। कांग्रेसको आजको संकट कुनै एक समूहको षड्यन्त्र होइन, नेतृत्वको जिद्दी र गुटगत अन्धताको परिणाम हो। अब प्रश्न देउवाको भविष्यभन्दा ठूलो छ—कांग्रेसले इतिहासबाट सिक्छ कि फेरि अर्को संकटतर्फ उन्मुख हुन्छ?

अवसर चुकाएका शेखर कोइराला

नेपाली कांग्रेसको विशेष महाधिवेशनको बहस केवल शेरबहादुर देउवामाथिको प्रश्नमा सीमित छैन। यो बहसले अर्को महत्वपूर्ण पात्रलाई पनि कठघरामा उभ्याएको छ—शेखर कोइराला।
नेतृत्व परिवर्तनको मागलाई वैचारिक आधार दिने, नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्छ भन्ने तर्क अघि सार्ने नेता स्वयं शेखर कोइराला नै थिए। तर आज परिस्थिति उल्टिएको छ—माग गर्ने नै पछि हटेका छन्।

प्रश्न स्वाभाविक छ—के शेखर कोइरालाले यही गर्नुपर्ने थियो ?

विशेष महाधिवेशनको आवश्यकता औँल्याउने, पार्टीको विधि र विधानको कुरा गर्ने, नेतृत्व परिवर्तन अपरिहार्य भएको निष्कर्ष सुनाउने र अन्ततः आफैंले बहिष्कार गर्ने—यो व्यवहारले राजनीतिक दृढताको होइन, दुविधाको सन्देश दिएको छ।

शेखर कोइरालाले बारम्बार भनेका थिए—नियमित महाधिवेशन समयमा भएन भने विशेष महाधिवेशन नै विकल्प हो। आज त्यही अवस्था आएको छ। तर जब महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आउन तत्पर देखिए, तब उनीहरूलाई रोक्न खोजियो। यो कदम पार्टी एकताको नाममा उठाइए पनि, व्यवहारमा भने प्रतिनिधिको भावना दबाउने प्रयास जस्तो देखिएको छ।

पार्टी एकता जोगाउनु महत्वपूर्ण कुरा हो। तर एकता नेतृत्व जोगाउन होइन, कार्यकर्ताको चाहना सम्बोधन गर्न जोगाइन्छ। महाधिवेशन प्रतिनिधिहरूले नेतृत्व परिवर्तन चाहेको संकेत स्पष्ट रूपमा दिएका छन्। त्यसलाई नदेखेजस्तो गर्नु, नबुझेझैं बस्नु वा समय टार्ने रणनीति अपनाउनु एकताका लागि होइन, दीर्घकालीन समस्याको बीउ रोप्नु हो।

शेखर कोइरालाको राजनीतिक छवि सधैं ‘वैकल्पिक नेतृत्व’को रूपमा चित्रित हुँदै आएको छ। तर विकल्प हुन दृढ निर्णय चाहिन्छ। अवसर आएपछि पछि हट्ने प्रवृत्तिले विकल्पलाई कमजोर बनाउँछ। इतिहासले अवसर नलिने नेतालाई दोस्रो मौका कमै दिन्छ।

आज प्रश्न सीधा छ—अब शेखर कोइरालाले के गर्नुहुन्छ ?

नेतृत्व परिवर्तनको एजेन्डालाई स्पष्ट रूपमा अघि बढाउने कि, पार्टी एकताको नाममा यथास्थितिलाई स्वीकार गर्दै बस्ने ?

यो क्षण शेखर कोइरालाका लागि निर्णायक हो। निर्णयहीनताले देउवाको आलोचना मात्रै होइन, आफ्नै राजनीतिक विश्वसनीयतामा पनि गम्भीर क्षति पु¥याउने संकेत देखिन थालेको छ। कांग्रेसलाई नयाँ नेतृत्व चाहिएको छ भने, त्यो चाहनालाई प्रतिनिधित्व गर्ने नेता पनि समयसँगै अघि बढ्न जान्नुपर्छ—पछाडि हट्न होइन।

विशेष महाधिवेशनपछि कांग्रेस कता जान्छ ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन अब केवल प्रक्रिया मात्र रहेन, यो नेतृत्वको निर्णायक मोड बनेको छ। पार्टीभित्रको असन्तोष, पुस्तान्तरणको माग र जनस्तरको निराशाबीच अब सबैको चासो एउटै प्रश्नमा केन्द्रित छ—यो विशेष महाधिवेशनले के गर्ला ?

महाधिवेशनसँगै गगन थापालाई सभापति बनाउने चर्चा तीव्र बनेको छ। स्वयं गगन थापाले “महाधिवेशन प्रतिनिधिले जे निर्णय गर्छन्, म त्यसलाई स्वीकार गर्छु” भनेर आफूलाई प्रक्रियामा बाँधेका छन्। यो अभिव्यक्तिले लोकतान्त्रिक प्रतिबद्धता देखाउँछ, तर साथसाथै नेतृत्वको जिम्मेवारीबाट उम्किने बाटो पनि बन्न नदिनुपर्ने चुनौती बोकेको छ।

गगन थापाको दाबी छ—पार्टी र देश जोगाउनकै लागि विशेष महाधिवेशन आवश्यक भयो। उनले जेन–जी आन्दोलनको भावना सभापति शेरबहादुर देउवाले नबुझेको आरोप लगाएका छन्। देउवाको वरपर रहेका नेताहरूले गलत सल्लाह दिएर पार्टीलाई आजको संकटतर्फ धकेलेको टिप्पणी पनि गगनले गरेका छन्। यी आरोपहरू केवल व्यक्तिगत असन्तुष्टि होइनन्, पुस्तागत टकरावको राजनीतिक अभिव्यक्ति हुन्।

गगन थापाले “कांग्रेस दास र लासहरूको पार्टी होइन” भन्ने सन्देश स्थापित गर्न सफल भएको दाबी गर्छन्। यो नाराले कार्यकर्तामा ऊर्जा भरेको देखिन्छ। तर नारा र नेतृत्वबीच दूरी भयो भने इतिहासले क्षमा गर्दैन। अब प्रश्न उठ्छ—यदि गगन थापा सभापति बने भने कांग्रेस के हुन्छ ?

सबैभन्दा ठूलो चुनौती पार्टीलाई विभाजनबाट जोगाउनु हो। परिवर्तनको लहरले यदि धैर्य र समावेशितासँग सन्तुलन मिलाउन सकेन भने, सुधारको नाममा अर्को संकट निम्तिन सक्छ। त्यसैले गगन थापाका लागि यो केवल जितको क्षण होइन, बुद्धि पु¥याउनुपर्ने समय पनि हो—विरोधी गुटसँग संवाद, अनुभवी नेताहरूसँग सहकार्य र असन्तुष्ट पक्षलाई समेट्ने क्षमता अब अनिवार्य हुनेछ।

यही सन्दर्भमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि नेतृत्व परिवर्तनको सवालमा बुलन्द रूपमा उभिएका छन्। उनले सिंगो कांग्रेसको नेतृत्व गर्ने गरी अघि बढ्ने बताएका छन्। विशेष महाधिवेशनका कारण पार्टी विभाजन नहुने उनको दाबीले आश्वासन दिन खोजेको छ। तर त्यो आश्वासन व्यवहारमा उतार्न सकिएन भने शब्दले मात्र पार्टी जोगिँदैन।

आज कांग्रेस एउटा मोडमा उभिएको छ—पुरानो नेतृत्वको निरन्तरता कि नयाँ नेतृत्वको जिम्मेवार उदय। विशेष महाधिवेशनले व्यक्तिलाई मात्र होइन, नेतृत्वको शैली रोज्नेछ। गगन थापा वा विश्वप्रकाश शर्मा जो आए पनि, चुनौती एउटै हुनेछ—पार्टी एकता जोगाउँदै, परिवर्तनलाई संस्थागत गर्नु।

विशेष महाधिवेशन कांग्रेसका लागि अवसर हो, अन्तिम परीक्षा पनि। पास हुने कि फेरि असफल हुने, त्यो अब नाराले होइन, नेतृत्वको परिपक्वताले तय गर्नेछ।