राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट झापा–५ बाट उम्मेदवार बनेका बालेन शाह यतिबेला देश दौडाहामा छन्। झापादेखि सुदूरपश्चिमसम्मको यात्रा र युवापुस्तामाझ देखिएको उत्साहले उनको लोकप्रियता प्रष्ट देखाउँछ। जहाँ पुग्छन्, भीड लाग्छ, स्वागत हुन्छ। तर त्यो भीडबीच नीतिगत बहस, स्पष्ट एजेण्डा र सार्वजनिक सम्बोधन भने न्यून देखिएको छ। यसले ‘लोकप्रियता धेरै, प्रतिबद्धता अस्पष्ट’ भन्ने प्रश्न उब्जाएको छ।
उनको प्रचार शैली पनि परम्परागतभन्दा फरक देखिन्छ। खुला सभा, बहस र नागरिकसँग प्रत्यक्ष संवादभन्दा गाडीमै उपस्थिति जनाउने र छोटो अभिवादनमा सीमित हुने अभ्यासले मतदातासँगको संवाद कमजोर बनाएको विश्लेषण छ। लोकतन्त्रमा मतदाताले उम्मेदवारको योजना, प्राथमिकता र दृष्टिकोण सुन्न चाहन्छन्। तर बालेनबाट त्यस्तो स्पष्ट सन्देश आउन नसकेको गुनासो बढ्दो छ।
यस्तै, पार्टीभित्रको भूमिकालाई लिएर पनि प्रश्न उठ्न थालेका छन्। प्रधानमन्त्री बन्ने दाउमा रहेका बालेनकै दल रास्वपाका सभापति रवि लामिछाने उपचारपछि घरमै आराम गरिरहेका बेला पार्टीको नेतृत्व सम्हाल्ने जिम्मेवारी स्वाभाविक रूपमा दोस्रो तहका नेतामा पर्छ। तर बरियतामा अगाडि रहेका बालेनले पार्टी गतिविधिमा सक्रियता देखाउन नसकेको आरोप छ। काठमाडौं आउँदा पनि पार्टी कार्यालय नगई बाहिरै भेटघाट गर्ने, कार्यालयमा उनको नाममा बनाइएको कार्यकक्ष सुनसान रहनु जस्ता घटनाले संगठनप्रतिको दूरी झल्किएको बताइन्छ।
यसले बालेनको राजनीति ‘व्यक्तित्व–केन्द्रित’ हुँदै गएको संकेत गर्छ। समर्थकहरू उनलाई वैकल्पिक र साहसी नेताका रूपमा हेर्छन्, तर आलोचकहरू भने संगठन र सामूहिक निर्णय प्रक्रियाभन्दा व्यक्तिगत छविलाई प्राथमिकता दिएको आरोप लगाउँछन्। कुनै पनि दलगत राजनीतिमा संगठन सुदृढ नगरी केवल लोकप्रियताका भरमा दीर्घकालीन नेतृत्व सम्भव हुँदैन।
समग्रमा, बालेनको अभियानले उत्साह र आकर्षण त पैदा गरेको छ, तर एजेण्डा, जवाफदेहिता र संगठनात्मक प्रतिबद्धता स्पष्ट नहुँदा विश्वसनीयतामाथि प्रश्न उभिएको छ। यदि उनी साँच्चै राष्ट्रिय नेतृत्वको दावेदार बन्न चाहन्छन् भने पार्टीभित्रको सक्रियता, नीतिगत स्पष्टता र नागरिकसँगको खुला संवाद अपरिहार्य देखिन्छ। लोकप्रियतालाई नेतृत्व क्षमतामा रूपान्तरण गर्न अब उनले ठोस कार्यक्रम र संस्थागत प्रतिबद्धता देखाउनै पर्ने अवस्था आएको विश्लेषण गर्न सकिन्छ।





Facebook Comments