काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) लेनेपाल प्रिमियर लिग(एनपीएल) को दोस्रो सिजनको आयव्यय विवरण सार्वजनिक गरेको छ।

सोमबार मूलपानीमा बसेको क्यानको केन्द्रीय समिति बैठकले दोस्रो सिजनबाट ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ ०५ पैसा खुद मुनाफा भएको जानकारी दिएको हो।

यसअघि पहिलो संस्करणमा एनपीएल गभर्निङ काउन्सिलले क्यानलाई २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ खुद मुनाफा उपलब्ध गराएको थियो। दोस्रो सिजनमा भने क्यानले पहिलो संस्करणको तुलनामा ६ करोड ७४ लाख ७१ हजार १४६ रुपैयाँ बढी नाफा कमाउन सफल भएको जनाएको छ।

क्यानका अनुसार दोस्रो सिजनमा कुल ४७ करोड ३६ लाख ५५९ रुपैयाँ ०६ पैसा आम्दानी भएको छ भने प्रतियोगिता सञ्चालनमा २१ करोड ९६ लाख ५ हजार १२३ रुपैयाँ ९१ पैसा खर्च भएको छ।

यस आधारमा राजस्व बाँडफाँडअघिको कुल आम्दानी २५ करोड ३९ लाख ९५ हजार ४३५ रुपैयाँ १५ पैसा रहेको छ। उक्त रकममध्ये ८ फ्रेन्चाइज टोलीलाई ५० प्रतिशत अर्थात् १६ करोड १८ लाख ७३ हजार ५०० रुपैयाँ १० पैसा वितरण गरिने क्यानले जनाएको छ।

पहिलो सिजनमा क्यानले २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ आम्दानी गरेको थियो भने प्रतियोगिता सञ्चालनमा २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ खर्च भएको थियो। दोस्रो सिजनमा भने खर्च १ करोड ८० लाख ३१ हजार ५६४ रुपैयाँ ९१ पैसा बढी भएको क्यानले जनाएको छ।

क्यानले आफूलाई आइसीसीबाट प्राप्त हुने बार्षिक अनुदानबाट ५ लाख डलर महिला क्रिकेटको विकासका लागि खर्चिने भएको छ ।

आइसीसी फन्डिङ निर्देशन बमोजिम यस वर्षदेखि समग्र महिला क्रिकेटको विकासमा सो रकम खर्च गरिने क्यानद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।